काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डमा हुने एकदिवसीय क्रिकेट सिरिजका चारमध्ये कम्तीमा तीन खेल जित्ने लक्ष्य लिएको छ । टोलीका कप्तान सन्दीप लामिछानेले स्कटल्यान्ड भ्रमणअघि क्यानडामा हुने अभ्यास खेलमा जानुअघि उक्त प्रतिक्रिया दिनुभएको हो । ‘हामी तीन खेल जित्ने सोचमा गएका छौँ । चारको चार खेल जिते सुनमा सुगन्ध हुनेछ,’ उहाँले भन्नुभयो, ‘तीन खेल जितेमा पनि हामी सन्तुष्ट हुने छौँ । त्यसको तयारीका साथ हामी अघि बढेका छौँ ।’
नेपाली टोली मंगलबार नै क्यानडातर्फ लागेको छ । क्यानडामा एक अभ्यास खेल र क्यानडासँग दुई एकदिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । जहाँ नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।
कप्तान सन्दीपले नामिबिया र स्कटल्यान्ड दुवै राम्रा भएकाले चुनौती भए पनि त्यसको सामना गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
‘दुवै टोली राम्रा छन् । नेपाल पनि बलियो छ । चुनौती पक्कै पनि छ । पक्कै पनि पूरा फरक अवस्थामा गएर खेल्दै छौँ । विकेट र बलिङ कन्डिसनमा तीव्र गतिका बलरलाई बढी फाइदा हुन्छ,’ उहाँले भन्नुभयो, ‘होम एड्भान्टेज (फाइदा) सबै टोलीका लागि हुन्छ । हामीले पनि घरेलु मैदानमा त्यही फाइदा लिनुपर्छ । अंक तालिकामा हामी पछि छौँ । आउने समयमा धेरैभन्दा धेरै खेल जितेर शीर्ष तीनमा पर्ने हाम्रो लक्ष्य छ ।’
नेपाललाई आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न र ओडिआई मान्यतालाई कायम राख्न बाँकी खेलका नतिजा आफ्नो पक्षमा पार्नु जरुरी छ । नेपाल १६ खेलमा सातमा जित, आठमा हार र एक खेल टाईका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।
नेपाललाई सिधै विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । त्यसबाहेक प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुनः शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंकतालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।
मंगलबार बिहान क्यानडा प्रस्थान गरेको नेपाली टोलीले असार २० मा क्यानडाविरुद्ध नेपालको पहिलो एकदिवसीय खेल हुनेछ । असार २१ मा नेपालले क्यानडाविरुद्ध दोस्रो अभ्यास खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ ।
त्यसपछि नेपाल स्कटल्यान्ड भ्रमणमा निस्कनेछ । स्कटल्यान्ड, नेपाल र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । स्कटल्यान्डमा नेपालले असार २७ गते पहिलो र असार २९ गते दोस्रो खेल नामिबियासँग खेल्नेछ । असार ३२ गते पुनः नेपालले नामिबिया र साउन १ गते स्कटल्यान्डसँग दोस्रो खेल खेल्दै शृंखलाको अन्त्य गर्नेछ । नेपाल १६ खेलमा ७ मा जित, आठमा हार र एक खेल टाईका साथ १५ अंक जोड्दै पाँचौँ स्थानमा छ ।
नेपाली टोलीमा बायाँ हाते युवा स्पिनर बसिर अहमदलाई पहिलोपटक औपचारिकरूपमा समेटेको छ । वैशाखमा जिम्बाबे ‘ए’ सँग भएको टी–२० र एकदिवसीय अभ्यास खेल बसिरले नेपालबाट खेलिसक्नुभएको छ । तर, जिम्बाबे ‘ए’ सँगको खेलमात्रै भएको हुनाले उहाँ पहिलोपटक औपचारिकरूपमा नेपाली टोलीमा पर्नुभएको हो ।
घोषणा टोलीमा युवा अलराउन्डर पवन सर्राफले पुनरागमन गर्नुभएको छ । यसअघि टोलीमा रहनुभएका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला भने टोलीबाट बाहिरिनुभएको छ ।
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) रहनुभएको छ ।
अलस्टार्सको सहयोग
यसैबीच अमेरिकामा रहेका पूर्वक्रिकेट खेलाडीहरूको क्लब नेपाली अलस्टार्सले नेपाल क्रिकेट संघ (क्यान) लाई आर्थिक सहयोग गरेको छ । नेपाली अलस्टार्सले क्यानलाई दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
नेपाली अलस्टार्सका निर्देशक सञ्जय शर्माले सोमबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंहलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । क्यानले उक्त रकम दुई दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न खर्च गर्ने जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका