आज १९औँ राष्ट्रिय धान दिवस

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । आज राष्ट्रिय धान दिवस । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष आज १९औँ राष्ट्रिय धान तथा रोपाइँ महोत्सव मनाइँदै छ । आज देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा विसं. २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली वर्षका रूपमा मनाएको थियो ।

मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिनलाई अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाइँ गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमासमेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

असारमा गरिने धान रोपाइँमा धेरै जनशक्ति अर्थात् खेतालाको आवश्यक पर्दछ । त्यही भएर गाउँघरमा पालैपालो पर्म लगाई रोपाइँ गर्ने प्रचलन रहेको छ । यसरी पालैपालो रोपाइँ गर्दा सामाजिक एकता र सद्भावको बढोत्तरी हुन्छ । असार पन्ध्रका दिन अझ विशेष प्रकारले ठूला–ठूला रोपाइँ गरिन्छ । यस्तो रोपाइँमा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने र खेताला जनहरूलाई मसला र रूमालसमेत बाँड्ने चलन रहेको छ ।

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामीण भेकमा किसानहरूले आफ्नै तवरले मनाउँछन् । असार १५ का दिन एकपल्ट हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ ।

यसवर्ष निर्धारित समयभन्दा पहिला मौसम सक्रिय हुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ । समयमा मनसुन सक्रिय भएकाले असार लागेसँगै मुलुकभर रोपाइँ सुरु भएको छ । समयमै पानी परेर किसानलाई खेती गर्न सजिलो भएकाले खुसी भए पनि सरकारले मलखाद समयमै उपलब्ध गराउन नसक्दा भने चिन्तित देखिएका छन् । नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ ।

नेपालमा उत्पाद हुने धानले हाम्रो माग धान्न भने मुस्किल पर्दैै गएको छ । उपभोक्तामा खाने बानी परिवर्तनका कारण चामल आयात हुने गरेको मन्त्रालयको भनाइ छ । आगामी दिन धान उत्पादन वृद्धिका कार्यक्रमसँगै उपभोक्तामा खाने बानीको परिवर्तनका लागि पोषणसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

विगत वर्षहरूमा धानमा आत्मनिर्भरको घोषणाको कार्यान्वयन हुन नसकेको भए पनि अहिले मन्त्रालय योजनाबद्ध कार्यक्रमका साथ अघि बढेको छ । हाल धानको बिउ र चामल गरी हरेक वर्ष अर्बौं रुपैयाँको आयात हुँदै आएको छ । हाल उत्पादन भइरहेको धान करिब ५६ लाख टन छ । तर, हाम्रो माग भने करिब ६७ लाख टन छ ।

हामी नेपालीले प्रतिव्यक्ति प्रतिवर्ष १३७ दशमलव पाँच किलोग्राम चामल उपभोग गर्दछौं जुन संसारका धेरै चामल खाने देशहरूमध्ये एकमा पर्दछौँ । देशको करिब १४ दशमलव ९२ लाख हेक्टर क्षेत्रमा धानको खेती गरिन्छ र यसबाट गरिब ५६ दशमलव २२ लाख टन धान उत्पादन हुने गर्दछ । यो उत्पादनले देशको धान/चामलको माग पूरा गर्न सकेको छैन । २०४० सालसम्म नेपालबाट कृषिजन्य वस्तु धान चामल कम्पनीमार्फत विभिन्न देशहरू खास गरेर बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेशिया र अमेरिकामा निर्यात हुन्थ्यो । आर्थिक वर्ष २०३५/०३६ मा नेपालले २४ करोड, ३८ लाख ६३ हजारको चामल अन्यत्र देशमा निर्यात गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?