जबज विश्वव्यापी लागू गर्न सक्दैनौँ तर नेपालमा सक्छौँ : ओली

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनताको बहुदलीय जनवाद’ अरू देशमा आफूहरूले लागू गर्न नसक्ने बताउनुभएको छ । मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले जबज अरू देशमा लागू गर्ने सामथ्र्य आफूहरूसँग नरहेको प्रष्ट पार्नुभयो । ‘जबज विश्वव्यापी रूपमा हामी लागू गर्न सक्दैनौँ तर नेपालमा सक्छौँ,’ उहाँले भन्नुभयो, ‘अन्यत्र गएर लागू गर्न सक्दैनौँ । यसको सहीपना, सफलताको अवश्यम्भावीतालाई बुझे अरूले पनि लागू गर्न सक्लान् । हामीले हाम्रो कार्यक्षेत्रमा त्यसलाई लागू गर्ने हो ।’

मदन भण्डारीले ‘यी मनुवाहरूको कल्याण होला’ भनेर जबज प्रतिवादन नगरेको पनि ओलीले प्रष्ट्याउनुभयो । ‘उहाँले आफू, आफ्ना संघर्ष, आफ्ना भोगाइ र आफ्नो देशको प्रोफाइल तयार गर्नुभयो । मेरो देश कहाँनिर छ, कस्तो छ, समस्या के छ भनेर पहिचान गरी त्यसको निदान गर्नुभयो,’ उहाँले भन्नुभयो । जबज नेपाली समाज, व्यवहार, संघर्षबाट पृथक् रहेर नभई ती सबैसँग गाँसिएर आएको ओलीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘जुन चिन्तन हो, त्यसलाई व्यवहारमा गाँस्न सकिएन भने त्यो व्यावहारिक हुँदैन ।’

कतिपयले जबजलाई त्यतिबेलाको संकटमोचन भन्ने मात्र ठानेको पनि ओलीको टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘तत्कालीन परिस्थिति, तत्कालीन संकट पनि जबज प्रतिवादनको प्रेरक तत्व हुन सक्छ । तर प्रश्न त्यतिमात्र होइन, कम्युनिष्ट आन्दोलनलाई सामाजिक न्याय र समानता सहितको समृद्धि-उन्नतिको, विज्ञान, प्रविधिको सदुपयोग सबै मानवसम्म पहुँच जरुरी थियो । हाम्रा प्रयास त्यसका निम्ति हुन् ।’

जननेता भण्डारीको ७१औँ जन्मजयन्ती मंगलबार विभिन्न कार्यक्रमका साथ मनाइएको छ । मदन भण्डारी फाउन्डेसन र नेकपा एमाले तथा सो पार्टीसम्बद्ध जनसंगठनले विभिन्न कार्यक्रम आयोजना गरी मदनजयन्ती मनाएका हुन् । कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीसहित पुगेर मदनको शालिकमा माल्यार्पण गर्नुभएको थियो । एमालेको पुरानो केन्द्रीय कार्यालय भवन मदननगर बल्खुमा अवस्थित शालिकमा नेताहरूले पनि माल्यार्पण गरेका थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने नवीन वैचारक भण्डारी छोटो समयमा नेपाली राजनीतिमा स्थापित नेता हुनुहुन्छ । विश्वबाट कम्युनिष्ट विचार ओरालो लागिरहेका बेला जनताको बहुदलीय जनवादको नाममा भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई स्थापित गर्नुभएको थियो । २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिनुभएका भण्डारी एमालेको तत्कालीन महासचिव हुनुहुन्थ्यो । उहाँको २०५० जेठ ३ गते दासढुंगा जिप दुर्घटनामा रहस्यमय निधन भएको हो ।

‘एसपिपीको पत्राचारमा छली काम भएको छ’
ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्बन्धमा गरिएको पत्राचारमा छली काम भएको दाबी गर्नुभएको छ । नेपाली सेनाले अमेरिकी दूतावासलाई पठाएको पत्रको मिति र चलानी नम्बर मात्र आफू प्रधानमन्त्री बनेको समयमा राखिएको उहाँले दाबी गर्नुभयो । ओलीले एसपिपी सन् २०१९ सालमा स्थगित गरिए पनि सत्ता गठबन्धनले अर्को घातक ड्राफ्ट ल्याएको आरोप लगाउनुभयो । ‘एसपिपीलाई पठाइएको पत्रमा मिति २७ हातले लेखिएको छ, त्यसमा केरमेट गर्नुभयो । किनभने ओलीलाई मुछ्नको लागि लेखिएको हो । चलानी नम्बर फेरिएको छ । छली काम भएको छ,’ ओलीले भन्नुभयो, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै दूतावासमा पठाइएको हो, अमेरिकी दूतावासले सत्य बोलोस् भन्ने म चाहन्छु ।’

ओलीले मितिको २७ अंक किन हातले लेखियो ? भनेर प्रश्न गर्नुभयो । ‘अहिले आएर जालसाजी गरिएको छ । म प्रधानमन्त्री रहेको समयमा सन् २०१९ मा स्टप भइसकेको कुरा हो, अहिले अर्को ड्राफ्ट ल्याएर भित्रभित्रै नेपालको असंलग्नता तटस्थतालाई लत्याएर एउटा गलत चिज अगाडि सार्न खोजियो,’ ओलीले भन्नुभयो, ‘गलत चिज अगाडि सार्न खोजेर देशको परराष्ट्र नीतिलाई गम्भीर घाटा पार्ने काम रद्द गरेका छौँ ।’
ओलीले एमसिसी पास गर्ने गठबन्धनले कुनै पनि बेला एसपिपी ब्यूँताउन सक्ने आशंका व्यक्त गर्नुभयो । ‘खतरा छँदैछ यो गठबन्धनका मान्छेहरू एमसिसीमा हात उठाएर पास गरेका हुन्,’ उहाँले भन्नुभयो, ‘पानीको भेल शान्त हुनेबित्तिकै जसरी माझीले जाल लिएर माछा मार्न जान्छ, भेल शान्त हुनेबित्तिकै अर्को जाल लिएर उनीहरू एसपिपीमा सामेल हुनेछन् ।’

ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको आरोपसमेत लगाउनुभयो । उहाँले अहिले एसपिपीका सम्बन्धमा पनि अमेरिकासँग सम्झौता गर्न सकारात्मक भइसकेको अवस्थामा जनताको दबाबमा सरकार पछि हटेको बताउनभयो । ओलीले राष्ट्रियता भनेको तमासा गर्ने चिज, झुक्याउने चिज नभएको पनि बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?