वामदेव गौतमद्वारा नयाँ दल घोषणा, मुख्य उद्देश्य नेकपा पुनर्गठन, तीनमहिने अभियानको शुरुवात, सात उपाध्यक्ष र १५ स्थायी कमिटी सदस्य

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहरू जन्मिने, टुटफुट हुने र फेरि जोडिने प्रवृत्ति सामान्य जस्तै बनेको छ । मुख्यगरी नेपालका वामपन्थी दलहरूमा यो प्रवृत्ति बढी छ । नेपालको राजनीतिमा वाम दलहरूलाई फुट्न र जुट्न खासै ठूलो मुद्दा आवश्यक पर्दैन । व्यक्तिगत स्वार्थको लागि मात्रै पनि सामान्य मुद्दालाई लिएर पार्टी फुट्ने गरेको उदाहरण प्रशस्तै छन् । पछिल्लो समय राजनीति क्षेत्र बाहिरका व्यक्तिले पनि पार्टी गठन गर्ने क्रम तीव्र बनेको छ । अन्य पेसाबाट अवकाश पाएपछि जीवनको उत्तरार्धमा राजनीतिक दल खोल्ने क्रम पनि तीव्र देखिएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनपछि त झन् नयाँ राजनीतिक दल गठन गर्ने क्रम तीव्र बनेको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण र पाएको मतका कारण राजनीतिमा अनुभव नै नभएका व्यक्तिहरू समेत पार्टी गठन गर्न तँछाडमछाड गरिरहेका छन् । केही दिनअघि टेलिभिजन प्रस्तोता रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्नुभयो । गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका कतिपय उम्मेदवारहरू एकजुट भएर दल नै गठन गर्ने गृहकार्यमा छन् । तर, कतिपय स्थापित पार्टीका स्थापित नेताहरू पनि पार्टीबाट अलग भएर नयाँ दल गठन गर्न थालेका छन् ।

नेपालको राजनीतिमा सधैँ चर्चामा रहने र वामपन्थी आन्दोलनमा लामो समय बिताउनुभएका नेकपा एमालेका पूर्व-उपाध्यक्ष एवं विघटित नेकपाका उपाध्यक्ष वामदेव गौतमले जीवनको लामो समय व्यतित गरेको पार्टी एमालेबाट बाहिरिएर मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान नामको नयाँ दल घोषणा गर्नुभएको छ । सर्वोच्च अदालतको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग भएर नेकपा एमाले र माओवादी केन्द्र पुनःस्थापित भएपछि नेकपा एमालेबाट राजीनामा दिनुभएका गौतमले राष्ट्रिय एकता अभियान सञ्चालन गर्नुभएको थियो । आफ्नै नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियानलाई नै गौतमले पार्टीमा रूपान्तरण गरिएको घोषणा गर्नुभएको हो ।

एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो । उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रूपमा रहनुभएको छ । पार्टीको सबैभन्दा महत्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठन रहेको छ । आगामी चुनावअघि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत हुन नसकेको अवस्थामा पनि कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने उद्देश्य पार्टीले राखेको छ । सबै कम्युनिष्ट पार्टीलाई एकढिक्का बनाउने लक्ष्य लिएको पार्टीले सो लक्ष्य पूरा गर्ने प्रयासस्वरूप तीनमहिने अभियान सञ्चालन गर्नेसमेत घोषणा गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै संयोजक वामदेव गौतमले भन्नुभयो, ‘जुन पार्टीको मैले शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा लाखौँ हुनेछन् । सबै चकित हुनेछन् । व्यक्तिगत रूपमा परिवारवादको आरोप नलगाइयोस् । मेरो श्रीमती राजनीति गर्ने ठाउँमा आउन हुँदैन र ? मेरो छोरा र छोरीले काम गर्न नपाउने हो र ? स्वार्थको निम्ति हामीले काम गरेको हैन । २०२६ सालदेखि म व्यक्तिगत इच्छा पूरा गर्न भूमिगत भएर हिँडेको छु । मैले पार्टीको जग हालेको ठाउँमा ठूला नेता रहेका छन् ।’
गौतमले एकीकृत कम्युनिष्ट पार्टीको आवश्यकता रहेको र आगामी तीन महिना गम्भीर रूपमा एकता अभियान सञ्चालन गर्ने जानकारी दिँदै भन्नुभयो, ‘नेपाली कांग्रेस सत्तामा रहेको बेला विकासको नाममा जे पनि गर्ने अवस्था देख्यौँ । नेपाली कांग्रेस सही किसिमले अघि बढ्न सकेको छैन । मैले त्यो देखिन । एकीकृत भएको कम्युनिष्ट पार्टी चाहिन्छ । आगामी तीन महिनासम्म निकै गम्भीर रूपमा यही काममा अघि बढ्नेछौँ ।’

संयोजक गौतमले आफूलाई हजारौँ साथीहरूले साथ दिएको र चार/पाँचवटा दर्ता भएका पार्टीले साथ दिएको जानकारी दिँदै अझै छ÷सातवटा दर्ता भएका दलले साथ दिने दाबी गर्नुभयो । ठूला कम्युनिष्ट दललाई अब एक ठाउँमा ल्याउने अठोट गर्दै संयोजक गौतमले भन्नुभयो, ‘आजभन्दा दुई वर्ष पहिले हामीले नेकपा राष्ट्रिय अभियान सुरु गर्‍यौँ । त्यो पार्टी नभएकाले सकियो । यो हाम्रो देशको इतिहासलाई अघि बढाउन ठूला दललाई एक बनाउन पार्टी अगाडि सारेका छौँ । त्यो पार्टी एकता हुन सकेन भने हामी पार्टीकै रूपमा अघि बढ्छौँ । चुम्बकले चुम्बक तान्छ । हामीसँग हिजो चुम्बक थिएन । आज चुम्बक छ अब अघि बढ्छौँ । एउटा नयाँ धार सुरु हुँदैछ । त्यो धारको हामीले सुरुवात आज गरिएको हो ।’

ओली र प्रचण्डका कारण नेकपा फुट्यो
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपा फुटाउने मुख्य दोषी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भएको आरोप लगाउनुभयो । मंगलबार पार्टी घोषणा कार्यक्रममा गौतमले ओली र प्रचण्डले पार्टी फुटाएको आरोप लगाउँदै पार्टी एकता भए अझै पनि नेपाल कम्युनिष्ट पार्टीले बहुमत ल्याउने दाबी गर्दै भन्नुभयो, ‘नेपाल कम्युनिष्ट पार्टी फुटाउने मुख्य जिम्मेवार केपी ओली र प्रचण्ड नै हो । नेपाली कांग्रेस आफैँ पहिलो शक्ति बन्ने अवस्थामा थिएन । प्रयत्न गर्ने हो भने नेपालको कम्युनिष्ट पार्टी अत्यधिक बहुमतसहित आउन सक्ने स्थिति छ ।’

यस्तो रहनेछ सांगठनिक संरचना
वामदेव गौतम संयोजक रहेको नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा सात उपाध्यक्ष, १५ स्थायी कमिटी सदस्य रहने जनाइएको छ । पार्टी घोषणा कार्यक्रममा दिएको जानकारीअनुसार केन्द्रीय कमिटी ७५ सदस्यीय हुनेछ । दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुने र त्यसमा १५ जना नबढ्ने गरी सदस्य राखिने र पार्टी बहुपदीय प्रणालीमा जाने संयोजक गौतमले जानकारी दिनुभयो । जसअनुसार एक अध्यक्ष, प्रत्येक प्रदेशमा इञ्चार्जको जिम्मेवारी बहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको छ । पार्टीको संयोजकमा वामदेव तथा सचिवमा डिबी कार्की रहने गरी दुई पदाधिकारी मात्र घोषणा गरिएको छ ।

पार्टीको आठ सदस्यीय सचिवालयमा वामदेव गौतम, डिबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ । सचिवालयले पार्टीको आन्तरिक कार्यक्रमअन्तर्गत विधानसम्मत रूपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संगठन सामुदायिक संगठन र पेसागत संगठन निर्माण गर्ने जानकारी दिइएको छ । सबै कम्युनिष्ट पार्टीलाई एकढिक्का बनाउन लिएको लक्ष्यअनुसार एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रूपमा रहने जनाइएको छ । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको मात्र व्यवस्था गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?