मुलुकको विकासमा जलस्रोतको उपयोग

Read Time = 15 mins

✍️ मेघनाथ दाहाल
आफ्नो अस्थित्वदेखि नै परम्परागत खेतीपाती तथा पशुपालनमा रमाएको मुलुक भएका कारण हामीसँग उपलब्ध भएको पानीको उपयोग हाम्रो अस्तित्वको समयदेखि नै जोडिँदै आएको हो । नेपाली समाजको आधुनिक राजनीतिक समय तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्नो राजधानीलाई काठमाडौं सारी वसन्तपुर दरबारलाई आधिकारिक रूपमा मुलुकको सबैभन्दा माथिल्लो प्रशाशनिक निकायको रूपमा निर्णय गरेपछिको समयदेखि नै लिइने गरेको छ । विसं १८२५ देखि आजको दिनसम्म पनि नेपाली समाज तथा समुदायहरूमा कृषि तथा पशुपालनको आवश्यकता, व्यापकता तथा सान्दर्भिकताको कमी भएको पाइएको छैन ।

हामी कृषि तथा यसको उत्पादनमुखी व्यावसायिकतामा पछि परेको कारण दैनिक आवश्यकताका धेरैजस्तो वस्तु तथा सेवाको आयातमा अन्य मुलुकमै निर्भर रहँदै आएको यथार्थ हामी सामु छँदैछ । आज पनि मुलुकमा जनसंख्यको सबैभन्दा ठूलो हिस्सा कृषिमा नै निर्भर छ । सक्रिय जनसंख्याको भर यही क्षेत्र हो । जलस्रोत र कृषि साथसाथ हिँड्ने एक अर्काका परिपूरक क्षेत्रहरू हुन् । त्यसैगरी मुलुकमा औपचारिक क्षेत्रको व्यापक विस्तार हुन नसक्नु एवं वर्षेनी श्रम बजारमा भित्रिएका श्रमिकलाई पुग्ने रोजगारको उपलब्धता नहुँदा र अनौपचारिक क्षेत्रको धेरै किसिमका रोजगारी गुमाउनुपरेको अवस्थमा कृषि नै सबैको भरथेगको मुख्य माध्यम छ ।

कुनै पनि मुलुकको चाहेको आर्थिक विकास तथा समाजको बहुआयामिक सकारात्मक परिवर्तनको उद्देश्यका लागि कुनै एक निश्चित क्षेत्रलाई व्यावसायिक रूपमा माथि लैजानुपर्ने हामीले विकासित मुलुकहरूको इतिहासबाट थाहा पाएको विषयवस्तु हो । साथै यो सैद्धान्तिक रूपमा पनि प्रमाणित तथ्य हो । यस हिसाबमा पनि मुलुकमा उपलब्ध भएको जलस्रोतको अनुपम भण्डारको व्यावसायिक प्रयोगमा हामी धेरैपछि पर्नु नहुने दिन आइसकेको छ । नेपालको भूबनौट र हावापानीले साथ दिने तथा हाम्रो वस्तुगत आवश्यकतालाई सम्बोधन गर्ने हिसाबमा जलस्रोतको प्रयोग गरी मुलुकभित्र नै वस्तु तथा सेवाहरूको उत्पादन गर्न सकेको खण्डमा भोलिको दिनमा हाम्रो सामाजिक जीवन यापन सजिलो भएर जान सक्थ्यो ।

यस प्रयोजनको निमित्त जलस्रोतको सम्भावित प्रयोग, यसमा लाग्ने सम्भावित लागानि र प्रतिफलको दर तथा समयलाई विचार पु¥याएरमात्र योजना निर्माणमा अघि बढ्नुपर्ने हुन्छ । उपलब्ध भएको जलस्रोतको प्रयोग मुख्य रूपमा सिँचाइ, जलविद्युत्, पिउने पानी, पर्यटन विकास, औद्योगिक प्रयोग र मुलुकको कूटनीतिक क्षमताले भ्याएमा निर्यात गर्न पनि सकिने देखिन्छ । मुलुकमा उपलब्ध कृषियोग्य भूमिको मात्र ४५ प्रतिशत क्षेत्रमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध भएको छ भने बाँकी जमिन आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हामीसँग छ । यदि समयमा पानी परेन वा मौसमले साथ नदिएको खण्डमा बाँझै बसिरहेको हुन्छ ।

अर्कोतिर लगभग तीन करोड नेपालीका लागि नितान्त आधारभूत आवश्यकताका कुराहरू पूरा गर्न वार्षिक अर्बाैं रूपैयाँ विदेशिँदै आएको तीतो यथार्थ हामीसँग छ । चामल मात्रको आयातको आकडाले पनि एक स्वावलम्बी नेपालीको मन दुख्ने दिन आएको छ । हामी समान्य र मनसुनले साथ दिएको वर्ष लगभग ५० लाख मेट्रिक टन धान उत्पादन गर्दछौं र हाम्रो वार्षिक चामलको माग ६५ देखि ७० लाख मेट्रिक टन धानको चामलले पूरा गर्दछ । नेपालको धान उत्पादनको झण्डै ९५ प्रतिशत हिस्सा हिउँदे धानले लिने गरेको छ । हिउँदे धान न त सरकारी जोडबलले हामीले एक वर्षसम्मलाई जगेडा राख्न सक्छौं, न त निजी क्षेत्रको नै कुनै व्यवसायीले नै यो प्रयास गर्न आँट गरेको छ ।

परिणाम स्वरूप मंसिरमा उत्पादन गरिएको अधिकांश धान प्रतिकेजी २५ देखि ३० सम्मको दरले भारतीय व्यापारीले किनेर लैजाने र सोही धान चामल बनाउर सात आठ महिनापछि नेपाल पठाउँदा प्रतिकेजी ७० देखिमाथि ९० सम्मको हिसाबमा आउने गरेको छ । यसमा नेपाली कृषकभन्दा नेपाल सरकार बढी दोषी देखिन्छ । किनभने आफ्ना नागरिकका लागि आवश्यक भान्साको जोहो गर्ने दायित्व सरकारको हो । कृषकहरू वर्ष दिनभरिको ऋण तथा आफ्ना सबै किसिमका दायित्वबाट छुट्कारा पाउन धान बेच्न बाध्य छन् तर सरकारले कम्तीमा जनतालाई आवश्यक एक वर्षका लागि खाद्यान्न सुरक्षित गर्नु सरकारको न्यूनतम जिम्मेवारीमा पर्ने विषय वस्तु हो ।

चामललगायत खाद्यान्नसँगै जोडिएको हाम्रो अर्को महत्वपूर्ण कुरा भनेको हाम्रो आजसम्मको खेती प्रणाली निर्वाहमुखी नै रहिआएको छ । यदि खेती प्रणालीलाई व्यावसायिक बनाउने हो भने सिँचाइको व्यवस्था अपरिहार्य हुन्छ । यसले सघन कृषि प्रणालीको मात्र विकास गराउँदैन कि उत्पादकत्व बढाउँछ । कृषिको उत्पादकत्वको वृद्धिले समग्र मुलुकको विकासमात्र नभएर कृषिजन्य पदार्थहरूको आयातमा कमी ल्याउने र हाम्रो व्यापार घाटा कम गर्ने एउटा महत्वपूर्ण कडी सावित हुन्छ । जलस्रोतको व्यावसायिक प्रयोगलाई जबसम्म हामी कृषी क्षेत्रसँग जोडेर हेर्दैनौं, तबसम्म हाम्रो विकास प्रयास आशिंक रूपमा मात्र सफल हुने कुरा आजसम्मको प्रयासले प्रष्ट्याएको छ ।

जलस्रोतको अर्को व्यावसायिक प्रयोग भनेको जलविद्युत् हो । हाम्रो प्राविधिक आर्थिक नाफायोग्य क्षमता ४५ हजार मेगावाटमध्ये हामीले २ हजार मेवा उत्पादन गर्न सकेका छैनौं । हाम्रो अपार जलसम्पदालाई समयमै ऊर्जामा परिणत नगर्ने हो भने भोलि प्रविधिले फट्को मारेर अर्कै वातावरणीय र मितव्ययी उपायको आविष्कार भएको खण्डमा स्वच्छ ऊर्जाको कुरा हात्ती आयो आयो फुस्सा भन्ने स्थितिमा नजाला भन्न सकिँदैन । एकातिर स्वच्छ ऊर्जा र अर्कोतिर वनजंगल जोगिने उपायका बीचमा हामीले जलस्रोतको व्यावसायिक तथा नाफामुखी प्रयोग गर्नु नितान्त आवश्यक रहेको समयले सिकाएको पाठ हो ।

यसले दिने अर्को सबैभन्दा महत्वको कुरा भनेको वार्षिक रूपमा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने २ खर्बभन्दा माथिल्लो रकममा कमी ल्याउन सकिने थियो । मुलुकमा विद्यमान जलस्रोतको सही र व्यावसायिक प्रयोगमा व्यक्ति, परिवार तथा संस्थाहरूको साथ सहयोग तथा सदभावपूर्ण सहयोग निर्णायक हुने देखिन्छ । हाम्रो जलस्रोतको अपार सम्भावनामध्ये जलविद्युत्को क्षेत्रमा आशातित सफल नहुनुमा नीतिगत रूपमा हामी कहीँ न कहीँ समस्यामा छौं । अन्यथा आजको वातावरणीय तथा जलवायु परिवर्तनका कारण विश्व थर्कमान भइरहेको समयमा यस्तो स्वच्छ ऊर्जा उत्पादनमा यथेष्ठ लगानी हुन नसक्नु भनेको हाम्रो भूगोल र बचतको कमी हो जस्तो लाग्दैन ।

हामी सन् २०२६ को विकासोन्मुख राष्ट्रको सूचीमा पर्ने वा परिने लक्ष्यमा अगाडि बढिरहेका बेला प्रविधिमैत्री नभइकन सुखै छैन । प्रविधि र ऊर्जा त्यसमा स्वच्छ तथा वातावरणीय हिसाबमा राम्रो भनेको नै जलविद्युत् भएकाले यसको उत्पादन, वितरण, उपभोग तथा विनिमयमा सरकार, निजी क्षेत्र तथा औद्योगिक प्रतिष्ठानको भूमिका निर्णायक हुने देखिन्छ । हाम्रो जलविद्युतीय ऊर्जा पारिवारिक क्षेत्रको सिमित कामहरूमा मात्र प्रयोग हुने हालको परिपाटीलाई चिर्दै घरपरिवारभित्रका सकेसम्म धेरै पक्षमा विद्युतीय प्रयोगलाई पनि सरकारले प्रोत्साहन तथा हामीले पनि प्राथमिकतामा राख्न सक्नुपर्दछ । यो समयको माग हो ।

आज अधिकांश नेपालीले जलविद्युत्को प्रयोग उज्यालो बाल्नको लागि मात्र प्रयोग गर्ने गरेको छ । यसलाई परिवर्तन गर्न सक्नुपर्ने हुन्छ । वातावरणीय हिसाबमा मात्र नभएर हाम्रो समग्र भूउपयोग तथा माटोको संरक्षणमा पनि जलविद्युत्को प्रयोगले अप्रत्यक्ष नै सही तर महत्वपूर्ण भूमिका खेल्न सक्दछ । औद्योगिक विस्तारले रोजगारको सिर्जनामात्र नगरेर हाम्रो धेरै किसिमका सम्भावनाको पनि खोज तथा मानव संशाधनको उत्पादकत्वको वृद्धिमा उल्लेख्य भूमिका खेल्दछ ।

आज भारतीय भूमिमा भएको औद्योगिक तथा उत्पादनमूलक वस्तु तथा सेवाको विकास तथा विस्तारले भोलि ऊर्जाको मागलाई अत्यन्तमाथि लैजान सक्ने सम्भावना छ । अझ विश्वव्यापी रूपमा बढ्दो हरित गृह उत्सर्जन तथा तापमानमा आयको वृद्धिले स्वच्छ ऊर्जाको माग विश्वव्यापी रूपमा बढ्दो क्रममा छ । यस पक्षलाई सरकारमा पुगेकाले निकै सावधानी तथा चनाखोपूर्ण तरिकाले हृयान्डलिङ गर्नुपर्ने देखिन्छ । अन्यथा हाम्रो ऊर्जाको सम्भावना तथा क्षमतको गलत किसिमले प्रयोग हुनसक्ने ठाउँ छ ।

नेपाल र भारतीय सीमा तथा भूगोलले हामीलाई यस्तो ठाउँमा उभ्याएको छ कि किन्ने भारत र बेच्ने हामी भएको कारण यस्तो बजारमा दुई पक्षीय आपसी समझदारीभन्दा अर्को कुनै पनि राम्रो विकल्प हुन सक्दैन । तर, हाम्रो राजनीतिक संस्थापन पक्ष जहिले पनि दिल्लीको अनावश्यक रूपमा भक्ति गीत गाउने हुँदा पनि हामीलाई समस्यामा पारेका सयौं उदारहण छन् । यो रोगबाट ऊर्जा क्षेत्र अछुतो रहेको छैन ।

सानो राजनीतिक फाइदाको निम्ति लम्पसार पर्ने सबै दलहरूको राजनीतिक नेतृत्वको बानीले कतिपय राष्ट्रियस्तरका मुद्दाहरूमा दुई मुलुकबीचको कूटनीतिक तथा पारस्परिक हितभन्दा भारतीय पक्ष सधैं हामीमाथि हावी हुँदै आएको छ । यस समस्याभित्र हाम्रो ऊर्जा क्षेत्र र यससँग जोडिएको लगानी बजार मूल्य वितरण तथा हाम्रो आफ्नो सम्प्रभुता तथा हितजस्ता पक्षहरू जोडिन जान्छन् ।

पिउने पानी, पर्यटन विकास तथा औद्योगिक प्रयोजनका लागि पानीको प्रयोग आजका दिनसम्ममा पनि सन्तोषजनक हुन सकेको छैन । सरकारले जतिसुकै उपल्लो प्रतिशतमा नेपालीहरूलाई स्वच्छ पिउने पानीको बन्दोबस्तीको कुरा गरे तापनि अशुद्ध तथा प्रदूषित पानीको कारण फैलिरहेका सरुवा रोगहरूका कारण वर्षेनी बन्ने समाचार तथा दुर्घटनाले सरकारको आफ्नै कुरा खण्डन भइरहेको छ ।

त्यसैगरी पर्यटन क्षेत्रमा जति हिमाली क्षेत्र तथा टाकुराले महत्व पाउँछन् त्यो स्तरमा धेरै नै सम्भावना बोकेका हाम्रा उत्तर दक्षिण बहाव भएका अधिकांश हिमनदीमा हुन सक्ने ¥याफ्टिङलगायत अन्य साहसिक पर्यटनमा पनि हामी सफलताको धेरै टाढा रहेको यथार्थ दखिन्छ । औद्योगिक क्षेत्रहरूमा पानीका कारण मेसिनको टिकाउपनमा आउने कमी तथा लागतमा वृद्धिका कारण समग्र अर्थतन्त्र नै प्रभावमा जाने सम्भावना रहन्छ । त्यसैले दिगो, वातावरणीय हिसाबमा उन्नत तथा सबैको हितकारी विकासको लागि जलस्रोतको प्रयोग अत्यन्त महत्वपूर्ण छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?