१९औं राष्ट्रिय धान दिवस : कागजी आत्मनिर्भर अभियानले बढाउँदै परनिर्भरता

Read Time = 11 mins

काठमाडौं । कृषिप्रधान मुलुक नेपाल खाद्यान्नमा परनिर्भर छ । सरकार खाद्यान्नमा आत्मनिर्भर अभियानमा लागेको धेरै समय भइसक्यो तर पनि हरेक वर्ष खाद्यान्न आयात बढ्दो क्रममा रहेको छ । पछिल्लो समय चामलमात्र नभई मकै, गहुँ, कोदो, फापरलगायत खाद्यवस्तु समेत आयात हुन थालेको छ । यस अर्थमा नेपालको समग्र क्षेत्रमा परनिर्भरता बढेर गएको देखिन्छ ।

खाद्यान्नसँगै कृषि मेसिनरी र आयातको हिस्सा त अझै डरलाग्दो छ । ठूला मेसिनरी उपकरण आयात नेपालको बाध्यता हो तर सामान्य कुटो–कोदालोसमेत आयात भइरहेको अवस्था छ । विगतमा कुटो-कोदाला गाउँघरमै बनाइन्थे । कृषिसँग सम्बन्धित अन्य मल बिउ, विषादीलगायत आयात बढिरहेकै छ । सरकारको कागजी आत्मनिर्भर अभियानका कारण देश हरेक क्षेत्र परनिर्भर हुँदै गएको हो । आफ्नै देशमा रहेको कृषि औजार कारखाना बन्द गरेर सरकारले कृषि मेसिनरी आयातलाई प्रोत्साहित गरिरहेको छ ।

सरकारकै तथ्यांक अनुसार नेपालमा कुल ४० लाख मेट्रिक टन चामलको माग रहेकोमा नेपालमा ३४ लाख मेट्रिक टनमात्रै उपलब्ध हुने गरेको छ । करिब छ लाख मेटिकन चामल आयात हुने गरेको छ । जसका लागि करिब ३० अर्बभन्दा बढी रकम विदेशिने गरेको छ ।

नेपालको प्रमुख खाद्यान्न बाली धानको कुल गार्हथ्य उत्पादन (जिडिपी)मा महत्वपूर्ण योगदान छ । जिडिपीमा कृषिको करिब २५ प्रतिशत हिस्सा रहेकोमा धानको योगदान १५ प्रतिशत छ । त्यसैले अर्थतन्त्र चलायमान बनाउन धान उत्पादनको विकल्प देखिँदैन ।

तर आयात बढ्नुमा खानाको प्रयोजनबाहेक अन्य पक्ष पनि रहेको अधिकारीहरू बताउँछन् । नेपालमा धान चामल खानाबाहेक धार्मिक सांस्कृति कार्यमा समेत प्रयोग हुने गरेको छ । मोटा धान उत्पादन हुने तर उपभोक्ताले मसिना चामल उपभोग गर्ने कारण चामल आयात बढ्न गएको बाली विकास तथा कृषि जैविक विविधिता संरक्षण केन्द्रका प्रमुख डा.रामकृष्ण श्रेष्ठ बताउहुन्छ । श्रेष्ठका अनुसार कुल आयातको करिब ८० प्रतिशत मसिना धान चामल आयात हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो उत्पादनले पुग्ने थियो तर धानको प्रयोग अन्य क्षेत्रमा पनि हुने गरेकाले माग धान्न नसकिएको हो ।’

उत्पादन ५६ लाख, माग ७२ लाख मेट्रिक टन
कुल उत्पादनको २० प्रतिशत धान पशुदाना, वियर र रक्सीलगायतमा प्रयोग हुने गरेको बताइन्छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का धानविज्ञ रामवरण यादव धान चामलको आयात प्रतिस्थापनका लागि उत्पादन बढाएर ७२ लाख मेट्रिक टन पु¥याउनुपर्ने र मसिना धानको उत्पादन बढाउनुपर्ने बताउनुहुन्छ । हाल कुल उत्पादन ५६ लाख मेट्रिक टनमात्रै रहेको छ तर माग ७२ लाख मेट्रिक टन छ । ७२ लाख मेट्रिक टन उत्पादन भएमा खाना, मदिरा उद्योग, घरेलु रक्सी, बिउलगायतको माग आपूर्ति हुनसक्ने उहाँको भनाइ छ । किनभने बिउका लागि मात्रै वार्षिक ६७ हजार मेट्रिक टन धानको माग हुने गरेको छ । बिउका लागि वार्षिक एक अर्ब ३८ करोडको धानको धान आयात हुने गरेको यादव बताउनुहुन्छ ।

त्यसैले माग आपूर्तिका लागि थप १६ मेट्रिक टन धान उत्पादन बढाउनुपर्नेछ । चैतेधानको हाल एक लाख २० हजार हेक्टरलाई अडाइदेखि तीन लाख हेक्टरसम्म पुर्‍याउन सकेमात्रै पनि माग अनुसारको आपूर्ति गर्न सकिने उहाँले बताउनुभयो ।

आफ्नै हाइब्रडि बिउ
किसानले हाइब्रीड बिउ प्रयोग गर्न थालेपछि पछिल्लो समय नार्कले नेपालमै धानको हाइब्रीड जात विकास गरेको छ । धानविज्ञ यादवका अनुसार हाल नेपालमा विभिन्न बिउबिजन कम्पनीले हाइब्रीड जातको उत्पादन सुरु गरेका छन् भने नार्कले पनि उत्पादन गरिरहेको छ । नार्कले हर्दिनाथ हाइब्रीड धान १ र ३ किसानका लागि सिफारिश गरेको छ ।

उत्पादन बढाउन हाइब्रीड विकल्प भएको भन्दै उहाँ नेपाल पनि २० प्रतिशत हाइव्रीडमा जानै पर्ने बताउनुहुन्छ । त्यसो त नार्कले हालसम्म ९७ जात विकास गरिसकेको छ भने ७२ जात किसानले प्रयोग गरिेहहेका छन् । नार्कले मसिना जात पनि विकास गरेको छ । करिब १० लाख हेक्टरमा नार्कले नै विकास गरेका जात प्रयोग भइरहेको यादवको दाबी छ । नार्कले विकास गरेका केही जात भारतीय किसानलेसमेत प्रयोग गर्दै आएका छन् । राम र राधा–चारलगायत नार्कले विकास गरेका धेरै जातहरू भारतका सीमावर्ती किसानले प्रयोग गर्दै आएका भए पनि आधिकारिक तथ्यांक भने नरहेको उहाँ बताउनुहुन्छ ।

धान चामलमा पर्निभरता बढ्नुका कारण
धान चामलमा परनिर्भरता बढ्नुमा बढ्दो जनसंख्या वृद्धिको तुलनामा धान उत्पादनको वृद्धिदर कम हुनु, खेतीयोग्य जमिन खण्डीकरण तथा घडेरीकरण, श्रम शक्ति अभाव, सिँचाइ, भण्डारण तथा बजार पूर्वाधारको कमी प्रमुख कारण रहेको कृषि विभागको भनाइ छ । उन्नत जातले ढाकेको क्षेत्रफल करिब ९० प्रतिशत रहे पनि गुणस्तरीय बिउ अभाव तथा नयाँ र उच्च उत्पादन दिने जातभन्दा पुरानै जात कृषकको रोजाइमा पर्नु, बिउ तथा जात फेर्ने परिपाटी विकास नहुनु, मसिना तथा बासनादार चामल उपयोगमा वृद्धि तथा खाद्यान्न बालीको उपयोगमा विविधीकरण नुहुनु, आयातीत धानको गुणस्तर र मूल्यमा स्वदेशी धानले प्रतिस्पर्धा गर्न नसक्नु आयात बढ्नको कारण रहेको कृषि विभागका महानिर्देशक एबम् १९आंै राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समिति २०७९ का अध्यक्ष डा.रेवतीरमण पौडेल बताउनहुन्छ ।

नेपालमा धानको महत्व
धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण बाली मानिन्छ । नेपाली समाजका हरेक सामाजिक एवं सांस्कृतिक कार्यमा समेत धानको प्रयोग हुने गरेकाले पनि नेपालमा धानको महत्व अझै बढी छ । त्यसैले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिक धरोहर पनि हो ।

नेपालमा कुल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी छ । खाद्यान्न बाली उत्पादनको कुल क्षेत्रफलको करिब ४५ प्रतिशतमा धान खेती हुने गरेको छ भने कुल खाद्यान्न बाली उत्पादनमा ५० प्रतिशतभन्दा बढी धानको हिस्सा रहेको छ । आव वर्ष २०७८/०७९ मा १४ लाख ७७ हजार हेक्टरमा धानखेती भई ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

नेपालमा धानको कुल क्षेत्रफलमध्ये करिब १० प्रतिशत क्षेत्रफल रैथाने तथा स्थानीय धानका जातले ओगटेको छ । विभागका अनुुसार नेपालमा दुई हजार पाँच सयभन्दा बढी धानका रैथाने जात रहेकोमा एक सय ५० भन्दा बढी जात कृषकले खेती गर्दै आएका छन् । रैथाने जात जलवायु अनुकुलित हुनुका साथै पोषणयुक्त एवं रोग कीरा सहनसक्ने भएकाले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण मानिन्छ ।

विश्वमा धान
धान नेपालको प्रमुख खाद्यान्न बाली भए पनि विश्वमा भने धान मकैपछिको दोस्रो महत्वपूर्ण खाद्यान्न बाली हो । कृषि विभागका अनुसार विश्वमा करिब १६ करोड ४१ लाख ९० हजार हेक्टरमा खेती भई ७५ करोड ५४ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । कुल उत्पादनमध्ये ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकमै हुन्छ । विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछि क्रमशः भारत, इण्डोनेसिया, बंगलादेश, भियतनाम रहेका छन् । धान उत्पादनमा नेपाल १६औं स्थानमा पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?