धान उत्पादन आत्मनिर्भर र समृद्धि

Read Time = 20 mins

✍️ डा. भवप्रसाद त्रिपाठी

क्षेत्रफल, उत्पादन र जीविकोपार्जनका लागि अन्नबालीमध्ये धान प्रथम स्थानमा आउँछ । नेपाली समाजमा धानको सांस्कृतिक, धार्मिक र परम्परागत महत्व रही आएको छ । हामी जन्मेदेखि मरणसम्म यससँग जोडिएका छौं । बच्चा जन्मिएको पाँच/छ महिनामा बच्चाको अन्नप्राशन गर्न चामल आवश्यक पर्दछ । हिन्दूहरूको सबभन्दा ठूलो चाड दशैँमा आफूभन्दा माथिका मान्यजनबाट टिकाको रूपमा हामी चामल र जमराका लागि धानको नै प्रयोग हुँदै आएको छ । त्यसैगरी तिहारमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई टीका लगाउँदा चामलको नै प्रयोग हुन्छ । हिन्दूहरूको अत्येष्टिमा र श्राद्धमा पिण्डका लागि पनि परापूर्व कालदेखि चामलको प्रयोग हुँदै आएको छ । पहिलो पटक पाकेको धानको चामल बनाई दहीसँग मिसाई ‘नुवागी’ खाने चलन परापूर्व कालदेखि नेपालमा चलिआएको छ ।

संसारको खाद्य सुरक्षा, गरिवी निवारण धानको महत्वलाई मननगरी युनाइटेड नेसनस् जनरल एसम्बिलीले १६ डिसेम्बर २००२ मा सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्ष मनाउने घोषणा ग¥यो । त्यस वर्षको धान दिवसको नारा ‘धाननै जीवन हो’ भन्ने थियो । नेपालमा पनि हामीले अन्तर्राष्ट्रिय धान वर्ष मनायौं । धानको महत्वलाई बुझेर नेपाल सरकारले पनि २९ मंसिर २०६१मा असार १५ गतेलाई हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउने घोषणा अनुरूप हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । यस वर्ष असार १५ गते उन्नाइसौं धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइ रहेका छौं ।

कुल खाद्यान्न उत्पादनको ६७ प्रतिशत धानले ओगटेको छ । कृषिको कुला ग्राहस्त (एजीडीपी) उत्पादनमा धानको २० प्रतीत र जम्मा ग्राहस्त उत्पान (जीडीपी) मा सात प्रतिशत रहेको छ । तथ्यांक अनुसार धानको उत्पादकत्व वृद्धि एक दशमलव पाँच प्रतिशतले भएको छ भने जनसंख्या वृद्धि दुई दशमलव तीन प्रतिशतका दरले छ । हामी नेपालीले प्रतिव्यक्ति प्रतिवर्ष १३७ दशमलव पाँच किलोग्राम चामल उपभागे गर्दछौं जुन संसारका धेरै चामल खाने देशहरूमध्ये एकमा पर्दछौं ।

देशको करिब १४ दशमलव ९२ लाख हेक्टर क्षेत्रमा धानको खेती गरिन्छ र यसबाट गरिब ५६ दशमलव २२ लाख टन धान उत्पादन हुने गर्दछ । यो उत्पादनले देशको धान/चामलको माग पूरा गर्न सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार ४६ अर्ब २९ करोड १० लाख ३१ हजार बराबरको धान/चामल र धान/चामलजन्य वस्तुहरू (कनिका, ढुटो) नेपालमा आयात भएको देखिन्छ । २०४० साल सम्म नेपालबाट कृषीजन्य वस्तु धान चामल कम्पनीमार्फत विभिन्न देशहरू खास गरेर बंगलादेश, भारत, जर्मनी, कोरिया, चीन, मलेशिया र अमेरिकामा निर्यात हुन्थ्यो । आर्थिक वर्ष २०३५/०३६ मा नेपालले २४ करोड, ३८ लाख ६३ हजारको चामल अन्यत्र देशमा निर्यात गरेको थियो । त्यसबेला न्यून जनसंख्या, उपभोक्ताको दर निकै कम र उत्पादन उच्च थियो ।

धानले हामीलाई आवश्यक पर्ने ४० प्रतिशत ताकत (इनरजी) र २३ प्रतिशत प्रोटिन उपलब्ध गराउँदै आएको छ । विगत केही वर्षयता नेपालको विकट पहाडी जिल्लाहरूमा सडकको सुविधाले र विदेशमा वस्ने नेपालीहरूले पठाएको कमाइले गर्दा चामल खानेको संख्या अत्यधिक बढेको छ । अझ मोटा चामलको सट्टा मीठो मसिनो (बासमति किसिमको) चामलको माग धेरै बढेको छ । जनशक्तिको कमीले गर्दा पहाडमा उत्पादन हुनेगरेको मकै, कोदो, फापार र अन्य बालीहरूको उत्पादन उल्लेखनीय मात्रामा घटेको छ । पहाडी क्षेत्रका जमिन धेरैजसो बाँझोमा परिणत भएका छन् ।

जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल ग्राहस्त उत्पादन (जीडीपी) खुम्चिन्छ । धानको उत्पादन १० प्रतिशत तलमाथि हुँदा जीडीपी एक प्रतिशतले घटबढ हुन्छ । धानलाई राजनीति बाली पनि भनिन्छ । किनभने जुन वर्ष धानको उत्पादन कम हुन्छ त्यो वर्ष देशमा भोगमारी (अनिकाल)को सम्भावना बढी हुन्छ र जनताले देशमा होहल्ला बढाउँछन् ।

६० मिटरको उचाइदेखि संसारको सबभन्दा अग्लो क्षेत्र तीन हजार पचास मिटर जुम्लामा धानको खेती परापूर्व कालदेखि गरिँदै आएको छ । नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय जीन बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालका तीन हजार ९८० (नेपालमा एक हजार १४१, इरिमा दुई हजार ६७२, अमेरिकामा १२१, रसियामा ४० र अफ्रिकामा ६ धानका प्रजातिहरू (जर्मपाल्जम) संकलन गरी अनुसन्धानका लागि संरक्षणगरी राखेको छ ।

नेपालका आधा किसाना (पचास प्रतिशत)ले आफूलाई चाहिनेमात्र धान उत्पादन गर्दछन् भने चालिस प्रतिशतले बढी उत्पादन भएको धान बिक्री गर्दछन् । यस्तै १० प्रतिशत कृषकले मात्र बढी धान बिक्री गर्दछन् । एक अनुसन्धानले देखाएको छ कि नेपालमा ७० प्रतिशत उत्पादन मोटा धानको छ भने ३० प्रतिशत मात्र मसिनो धानको छ । मोटा धानमा हामी आत्मनिर्भर छांै र मसिनो धानको उत्पादन कम भएकाले सबै प्रकारका मसिनो (बासमति किसिमको) चामल भारतलगायत अन्य मुलुकबाट नेपाल आउने गरेको छ । त्यसकारण अब धान चामलमा आत्मनिर्भर हुनका लागि मसिनो बासमति किसिमको धानको उत्पादन, ब्राण्डिङ र बजारीकरणमा प्राथमिकता दिन जरुरी छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न खालका मसिनो बासमति किसिमका धानका जातको विकासगरी नेपाल सरकारले उत्पादनका लागि सिफारिश गरिसकेको छ । मसिनो धानका जात हल्का बासमति, सुगन्धित धान-१, सुनौलो सुगन्ध, पोख्रेली जेठो बुढो, खुमल-४ र बुहगुणी-१ कृषकहरूलाई उपलब्ध छ । हालसालै नेपाल सरकारले नार्कले विकास गरेको धानका जातहरू गंगासागर-१, गंगासागर-२, र हर्दिनाथ-५ तराई क्षेत्रका लागि सिफारिश गरिसकेको छ ।

हाम्रा रैथाने मसिनो बास्नादार धानहरू कालानमक, तिल्की, जुम्ली मार्सी, पोख्रेली जेठो बुढो र अन्य स्थानीय जातहरूको उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरी देशको आयास्रोत बढाउन सकिन्छ । रूपन्देही, नवलपरासी र दाङ जिल्लाहरूमा काला नमक र तिल्की जस्ता रैथाने जातहरूको उत्पादन बढाइ गौतमबुद्ध जन्मेको ठाउँको बास्नादार चामल प्रसादको रूपमा विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई उपलब्ध गराई देशको आयस्रोत बढाउन सकिन्छ । मोटा धानको तुलानामा मसिनो बासमति किसिमको धानको उत्पादन कम हुने भएकाले किसान मसिनो धान लगाउन आकर्षण छैनन् । यसका लागि नेपाल सरकारले मसिनो चामल उत्पादनमा विशेष बल्कहरू बनाई किसानलाई आकर्षण गर्ने खालका कार्यक्रम बनाई उत्पादन गरेको धान/चामलको राम्रो भाउको सुनिश्चितता गरी बजारीकणमा सहयोग गर्नुपर्दछ । गत वर्षदेखि आयातित मसिनो धान/चामललाई विस्थापित गर्न कृषि विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले प्रदेश–१, मधेस प्रदेसका कृषकलाई मसिनो धान उत्पादन गर्न लक्षित गरेको छ । यी क्षेत्रमा व्यापक रूपले मसिनो धान उत्पादन गर्न विशेष कार्यक्रम प्रभावकारी रूपले सञ्चालन गर्न आवश्यक छ ।

नेपालको तराई क्षेत्रको माटोमा प्रांगारिक पदार्थको मात्रा हरेक वर्ष घट्दै गएकाले माटोको उर्वरा शक्तिमा ह्रास हुन थालेकाले माटोको स्वास्थ्य बिगँ्रदै गएको छ । बिरुवालाई आवश्यक पर्ने सबै प्रकारका १६ खाद्यतत्वहरू रासायनिक मलले दिन नसक्ने हुनाले प्रांगारिक मलहरू (गाई भैँसीको मल, बाख्रोको जुतो, कम्पोष्ट मल, हरियो मल तथा अन्य स्रोतबाट प्राप्त मल) को मात्रा बढाई नपुग मात्रा रासायनिक मलबाट दिनेतर्फ सोच्ने बेला आइसकेको छ । जसले गर्दा माटोको भौतिक, रासायनिक र जैविक गुणहरू कायम राख्दै धान र धानपछि लगाइने बालीको, उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ । यसो गरिएन भने हाम्रो तराइको भूमि केही वर्षपछि मरुभूमीकरणतर्फ जाने धेरै सम्भावना छ ।

हाम्रो धानको क्षेत्रफल करिब १५ लाख हेक्टर छ । करिब एक लाख हेक्टरमा सिँचाइको सुविधा भएका ठाउँमा चैते धान खेती गरिन्छ । वर्षे धानको क्षेत्र बढाउन सकिने सम्भावना छैन । तसर्थ सिँचाइको क्षेत्र बढाएरमात्र धानको उत्पादनमा वृद्धि गर्न सकिन्छ । नेपाल सरकारले सुरु गरेको भेरी–बबई ड्राइभर्सनले बाँके र बर्दियाको करिब ५५ हजार हेक्टर थप क्षेत्रफल र सुनकोशी मरिन खोला ड्राइभसनले बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरी जिल्लाहरूको थप एक लाख २२ हजार हेक्टर भूमिमा सिँचाइको सुविधा छिटो उपलब्ध गराउन आवश्यक छ । हाल उत्पादन भइरहेको धान करिब ५६ लाख टन छ । तर, हाम्रो माग भने करिब ६७ लाख टन छ । यीमाथिको दुई टन मेघा सिँचाइ आयोजना पूरा भएपछि थप एक लाख ७७ हजार हेक्टर भूमिमा थप चैते धान लगाई हाम्रो धानको माग पूरा भई केही धान/चामल निर्यात गर्न सकिन्छ । अहिले बाह्रै महिना सिँचाइ हुने धान क्षेत्र करिब २५ देखि ३० प्रतिशत मात्र छ । चैते धान असारमा पाक्ने हुनाले वर्षाको समयमा धान सुकाइ स्टोर गर्न किसानले समस्या झेल्दै आएका छन् । जसले गर्दा किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य छन् । यसका लागि सरकारले धान सुकाउने ड्रायरको व्यवस्था मिलाउनुपर्छ ।

धानको उत्पादन बढाई मुनाफा कमाउन उत्कृष्ट जातहरूको प्रयोगको साथै उत्तम खालको व्यवस्थापन कार्यहरूको आवश्यकता पर्दछ । यस्तो किसिमको खेती धेरै किसानले गर्न सकेका छैनन् । एकातर्फ धान खेतीका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्री समयमा किसानले पाइरहेका छैनन् भने अर्कोतर्फ मौसम परिवर्तनले समयमा वर्षा नहुँदा उत्पादन बढ्न सकेको छैन ।

मौसम परिवर्तनले गर्दा हाम्रोजस्तो आकाशे पानीमा निर्भर रहने धान खेती हेरक वर्ष करिव ३० प्रतिशत सुख्खा र १५ प्रतिशत डुबानले प्रभाव पार्दछ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था (इरी)को सहकार्यमा सुखा सहन सक्ने, डुबान (१५ दिनसम्म) सहन सक्ने र एकपछि अर्को सुखा र डुबान सहन सक्ने विभिन्न धानका जात इरी, फिलिपिन्सबाट नेपाल ल्याई नेपालको विभिन्न अनुसन्धान केन्द्रमा परीक्षण गरेर सुख्खा सहने जातहरू (सुखाधान-१, सुखाधान-२, सुखाधान-३, सुखाधान-४, सुखाधान-५, सुखाधान-६, तरहरा-१, हर्दिनाथ-३, (बहुगुणी धान-१ र बहुगुणी धान-२), डुवान सहन सक्ने जातहरू (साभा) मसुली सब-१, स्वर्न सव-१, बहुगुणी-२, गंगासाभा-१, गंगासाभा-२, (चेहराङ सव-१) र एकपछि अर्को सुखा तथा डुबान सहने जातहरू (सुखाधान-६, बहुगुनी-१ र बहुगुनी-२) नेपाल सरकारले कृषकका लागि सिफारिश गरी उत्पादनसमेत भइरहेको छ । धेरैजसो जातहरू कृषकले मनपराएर उत्पादन लिन थालका छन् । नेपाल सरकारले ९० भन्दा बढी धानका जातहरू सिफारिस गरी कृषकहरूलाई उपलव्ध गराइसकेको छ । जसमध्ये दुई वटा हाइब्रिड धानका जातहरू (हर्दिनाथ हाइब्रिड-१ र हर्दिनाथ हाइब्रिड-२) छन् ।

अहिले धानको उत्पादकत्व ३ दशमलव सात टन प्रतिहेक्टर छ र कृषकहरूले प्रतिहेक्टर मुनाफा २२ हजार रुपैयाँभन्दा कम लिइरहेका छन् । तराईको विभिन्न जिल्लाका एक हजार ५२ घरधुरीमा गरिएको सर्वेक्षणबाट धानको उत्पादन ६ दशमलव पाँच टन प्रतिहेक्टर मुनाफा ६५ हजार रुपैयाँ सजिलै लिन सकिन्छ । तसर्थ धानको उत्पादन तीन टन प्रतिहेक्टर बढाई ४० हजार रुपैयाँ प्रतिहेक्टर बढी मुनाफा सजिलै लिन सकिन्छ ।

धानको उत्पादन अन्तर ४५ देखि ५५ प्रतिशत (तीन टन प्रतिहेक्टर वा एक क्विइन्टल प्रतिकठ्ठा) छ । १०० किलो धान प्रतिकठ्ठा बढाउन निम्न काम गर्नै पर्दछ :
१) उपयुक्त जातको प्रयोगः
उपयुक्त जातको प्रयोगबाट मात्र करिव २५ किलो प्रति कठ्ठा (२५ प्रतिशत) उत्पादन बढाउन सकिन्छ ।
२) सन्तुलित मल खाखदको प्रयोगः
हाल कृषकले प्रयोग गरेको मलको मात्रा न्यून छ । मलखादको मात्रा बढाउनुको साथै नाइट्रोजन, फस्फोरस र पोटासियम खाद्य तत्व दिने रासायनिक मलको सन्तुलितमात्रा प्रयोग गरेर करिब २५ किलो धान प्रतिकठ्ठा (२५ प्रतिशत) बढाउन सकिन्छ ।
३) सिँचाइ :
गाँज आउने अवस्था, गर्भाअवस्था, बाला निस्कने, फूलफुल्ने र दाना भरिने अवस्थाहरूमा सिँचाइको सुनिश्चितता गर्न सके करिब २० किलो धान प्रतिकठ्ठा बढाउन सकिन्छ ।
४) उपयुक्त समयमा झारपात नियन्त्रणः
धान रोपेको २१ र ४२ दिनमा गोडमेल अर्थात् झारपात नाशक विषादीको प्रयोग अनिवार्य छ । जसबाट १५ किलो धान प्रतिकठ्ठा (१५ प्रतिशत) बढाउन सकिन्छ ।
५) गुणस्तरीय बिउः
उपचारित गुणस्तरीय बिउ र स्वस्थ धानको बेर्ना रोपेर सात किलो धान प्रतिकठ्ठा (सात प्रतिशत) वृद्धि गर्न सकिन्छ ।
६) रोपाइँँ:
असार रोपाइँँ र ३० देखि ३५ गाँज प्रतिवर्गमिटर हुनेगरी धान लगाउन सके आठ किलो धान प्रतिकठ्ठा (आठ प्रतिशत) बढाउन सकिन्छ ।
माथि उल्लेखित गरेका कुराको साथै प्राथमिकतामा यान्त्रिकीकरण, हालको १३-१४ प्रतिशत उन्नत बिउ प्रतिस्थापनलाई २०-२५ प्रतिशत बढाउने, स्थानीय स्तरमा कृषि प्राविधिक जनशक्ति उपलव्ध गराउनु, हाइब्रिड जातका धानहरू विकास गरी सहज रुपमा कृषकहरूलाई उपलव्ध गराउनुको साथै समूह कृषकहरूलाई राइसमिलसँग आबद्ध गराई मसिनो र बास्नादार धानको उत्पादन बढाइ देशलाई धान/चामलमा आत्मनिर्भर बनाउन सकिन्छ । लेखकः वरिष्ठ माटो तथा धान विज्ञ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ram Prasad upreti
Ram Prasad upreti
2022-07-02 4:16 am

Thank you Bhabani ji
You deserve high level appreciation for your highly informative article in in rice.

छुटाउनुभयो कि ?