कृषि व्यवसायीकरण र १०० किसान अभियान

Read Time = 7 mins

✍️ अरुणराज सुमार्गी

कृषिप्रधान देश भनेर चिनिने नेपालको आर्थितन्त्रको मेरुदण्ड नै कृषि क्षेत्र हो । देशका करिब दुई तिहाइ मानिसहरूको जीविकोपार्जन कृषि क्षेत्रमा आर्षित रहेको छ । नेपालीहरूको प्रमुख खाद्यान्नमध्ये भात नै रहेको अवस्थामा, कृषि र कृषकहरूसँग सरोकार राख्ने व्यक्ति र संस्थाहरूले हरेक वर्षको असार १५ गतेलाई धान दिवसको रूपमा मनाइरहेका हुन्छौं । यस अवसरमा सम्पूर्ण किसान, कृषि उद्यमी र कृषि क्षेत्रसँग सरोकार राख्ने व्यक्ति, संस्थालाई हार्दिक शुभकामना दिन चाहन्छु । यस वर्ष धान रोपाइँँमा कुनै बिघ्नबाधा नआवोस्, पर्याप्त वर्षा होस् र धानको उत्पादन आशा गरेभन्दा धेरै होस् भन्ने कामना गर्दछु ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार कृषि क्षेत्रलाई महत्वका साथ लिइएको कुरा कृषि क्षेत्रको बजेटको आकार वृद्धि र आगामी वर्ष आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूल आयात कम्तीमा ३० प्रतिशतले कम गर्ने लक्ष्य लिएकोबाट प्रष्ट देखिन्छ । यसलाई कार्यान्वयन गर्न सबै पक्ष तदारुकताका साथ लाग्ने छ र लक्ष्य प्राप्त हुनेछ भन्ने आशा गर्दछु । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषिउद्यम केन्द्रको सभापतिको नाताले निर्वाह गर्नुपर्ने जिम्मेवारी लिन हामी तयार रहेको कुरासमेत जानकारी गराउन चाहन्छु ।

देशमा १० वर्षअघिदेखि सुरु भएको कृषि वस्तुहरूको आयात, वर्षेनी वृद्धि हुँदै गइरहेको छ । अघिल्लो वर्ष समग्र आयात २८ प्रतिशतको हाराहारीले बढ्दा कृषि क्षेत्रको आयात ३० प्रतिशत हाराहारीले बढको देखिन्छ । तथ्यांक हेर्दा कृषि वस्तुहरू कुल उपभोगको ठूलो हिस्सा आयातबाट पुर्ति गर्ने गरिएको पाइन्छ । केही वर्षअघिसम्म धानमा अत्मनिर्भर रहेको देश अहिले चामलसहित दाल, गहुँ, कोदो, तेल, तरकारी, फलफूल, मह, दूधजन्य पदार्थ, चिनी, मसला आदि धेरै किसिमका वस्तु आयात गरिरहेको छ । कृषि क्षेत्र रूपान्तरण र व्यवसायीकरण गर्ने लक्ष्य हरेक वर्ष सरकारको नीतिको प्राथमिकतामा पर्ने गरेको भए तापनि सोचे अनुरूप कार्य हुननसक्दा कृषिमा फड्को मार्न सकिएको छैन् । कृषि उत्पादनमा मात्रै देश अत्मनिर्भर हुनसक्यो भने समग्र अर्थतन्त्रमा ठूलो योगदान पुग्थ्योे होला । सार्वजनिक-निजी-उत्पादक साझेदारी (Public-Private (Producer Partnership (4Ps) बाट मात्रै कृषि क्षेत्र रूपान्तरण र व्यवसायीकरण संभव हुन्छ भन्ने कुरामा देशको निजी क्षेत्र विश्वास राख्दछ । यसका लागि निजी क्षेत्रको छाता संगठनको प्रतिनिधित्व गर्ने व्यत्तिको हैसियतले आफ्नो क्षेत्रबाट सहकार्य गर्न हामी सदैव तयार रहेका कुरा सबैमा अवगत गराउन चाहन्छौं ।

नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्रले देशभरबाट कम्तीमा एक सयजना व्यावसायिक किसान÷उद्यमी पहिचान गरि आफ्नो संस्थामा आबद्ध गराउने र त्यसरि आबद्ध भएका किसान/उद्यमीहरूलाई निजी क्षेत्रबाट सञ्चालन हुने कार्यक्रममा संलग्न गराई उनीहरूको बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘एक सय किसान अभियान’ सञ्चालन गरिरहेको छ । यसबाट आबद्ध किसान/उद्यमीहरूको व्यवसाय व्यवस्थित, प्रविधियुक्त र प्रतिस्पर्धी बनाउन सहयोग हुन गई आ-आफ्नो क्षेत्रमानमुनाको रूपमा स्थापित भई कृषि व्यवसायमा संलग्न सबैका लागि प्रदर्शनी योग्य हुनेगरी विकासका लागि सहयोग गर्ने उद्देश्यसमेत यस अभियानको रहेको छ । यसबाट ‘सार्वजनिक-निजी-उत्पादक साझेदारी’ अवधारणालाई व्यवहारमा लागू गर्ने र कृषि रूपान्तरणको पथमा अग्रसर हुने कुरा संभव हुनसक्छ भन्ने विश्वास लिएका छौं ।

त्यसकारण देशका विभिन्न क्षेत्रमा ‘१०० किसान अभियान’लाई फैलाउन चेतना अभिवृद्धि गर्ने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघ÷कृषि उद्यम केन्द्र सकृय हुँदै आइरहेको छ । केन्द्रले विभिन्न प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्रका व्यवसायी, किसान आदि पक्षसँग संवाद र समझादारी गरी कृषि क्षेत्रका कार्यक्रम सञ्चालन गर्ने र त्यसलाई नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्दले निजी क्षेत्रको संलग्न बढाउन भूमिका खेल्ने भन्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यसले स्थानीयस्तरमा बेरोजगार रहेका र रोजगारीका लागि प्रयासरत युवाहरूका लागि स्वदेश मै अवसर पहिचान गरी कृषि क्षेत्रमा संलग्न हुन सघाउनेछ । यसका लागि सबैको सहयोगको अपेक्षा गर्दछौं । लेखक, कृषि उद्यम केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघको सभापति हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?