गर्न खोज्नेलाई राज्यबाट सपोर्ट छैन : श्रीकृष्ण अधिकारी, प्रबन्ध निर्देशक, सलोम एग्रिकल्चर प्रालि

हिमालय टाइम्स
Read Time = 9 mins

विदेशमा सिकेको सीप र प्रविधि नेपालमा भित्र्याउने श्रीकृष्ण अधिकारी इजरायलको कृषि प्रविधिको प्रवद्र्धनमा लाग्नुभएको छ । हेटौंडमा जन्मिनुभएका उहाँले नौ वर्षसम्म इजरायलको वागवानी क्षेत्रमा काम गर्नुभयो । इजरायलकै जस्तो आधुनिकीकरण र व्यावसायिकीकरणबिना नेपालको कृषि क्षेत्रले गति लिन नसक्ने उहाँ बताउनुहुन्छ । तथापि किसान र कृषिमैत्री नीतिबिना कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण नारा नारामा मात्रै सीमित हुने अधिकारीको भनाइ छ ।

सलोम एग्रिकल्चरले के गर्छ ?
यो कृषि प्रविधि क्षेत्रमा काम गर्ने कम्पनी हो । करिब १२ वर्षअघि स्थापना भएको सलोममार्फत हामीले सुरुमा फार्मिङ पनि सञ्चालन गरेका थियौं । तर पछिल्लो जग्गाको अभावमा हामी फर्मिङको काम छोडेका छौं । इजरायलमा नौ वर्ष कृषि क्षेत्रमै काम गरेर फर्किएपछि सलोम एग्रिकल्चर कम्पनीमार्फत हामीले इजराइलमा सिकेको सीप र प्रविधि किसानलाई प्रवाह गर्दै आएका छौं ।

इजरायली प्रविधि नेपालका लागि कतिको उपयोगी रहेका छन् ?
इजरायलको हुबहु प्रविधिभन्दा पनि नेपालको कृषि अनुकुलका प्रविधि ल्याएका छौं । ग्रिहहाउस, थोपा सिँचाइ, असिना छेक्ने, किरा छेक्ने, काँट छाँट, नेटहाउसलगायत प्रविधि नेपालको कृषि क्षेत्रका लागि निकै उपयोगी रहेका छन् । यस्ता प्रविधि हामीले एग्रोभेट, सरकारी तथा गैरसरकारी संस्थामार्फत किसानसम्म पुर्‍याउने काम भइरहेको छ ।

फार्मिङ चाँहि के गर्नुभयो ?
गोलभेडा, स्ट्रोवेरीखेती गरेका थियौं । स्टोवेरीको रिसर्च तालिमका लागि जापान, कोरिया पनि गएँ । तर पछि जग्गालगायत समस्याले त्यसलाई निरन्तरता दिन सकिएन ।

आयातीत प्रविधिमात्रै बिक्री गर्ने हो कि आफैं पनि उत्पादन गर्नुहुन्छ ?
अहिले सबै आयातीत नै हो । यही उत्पादन गर्न मेसिनरी, कच्चा पदार्थ, जनशक्ति आयात नै गर्नुपर्ने भएकाले उत्पादन लागत महँगो पर्न जान्छ । किनभने हामीसँग ठूलो बजारमा छैन । फेरि सरकारको उद्योगमैत्री नीति पनि छैन । पछि वातावरण बन्दै गयो भने सोच्न सकिन्छ ।

प्लाष्टिकजन्य सामान कहाँबाट आयात गर्नुहुन्छ ?
धेरैजसो छिमेकी मुलुक भारतबाटै आयात हुन्छ । केही सामान कोरिया, चीन, टर्की र हल्याण्डबाट पनि ल्याउने गरेका छौं ।

समस्या चाहिँ के छन् ?
देशमै उत्पादित वस्तुलाई प्राथमिकता दिने तर विदेर्शी उत्पादनलाई कडाइ नगर्ने नीति हुनुपर्छ । किनभने नेपालभन्दा विदेशी उत्पादन गुणस्तरीय छन् भने त किसानले पाउनु पर्‍यो नि । अहिले आयातीत कृषि सामग्रीमा भन्सार, मूल्यअभिवृद्धि कर(भ्याट) र अन्तशुल्क गरेर ५२–५३ प्रतिशत कर तिर्नुपरेको अवस्था छ । जसको असर व्यापारीलाई होइन, किसानलाई परिरहेको छ । व्यापारीले त सस्तोमा ल्याए सस्तोमै बेच्ने, महँगोमा ल्याए महँगोमै बेच्ने हो । कतिपय कृषि उपकरण कृषिमा मात्रै प्रयोग हुने प्रकारका छन्, अन्यत्र प्रयोग गर्न मिल्दैन । त्यस्ता वस्तुमा भन्सार छुट हुनुपर्छ ।

इजरायलको कृषि प्रविधि र उत्पादनको अवस्था कस्तो छ ?
इजरायलले कृषिका सबै वस्तु उत्पादन गर्दैन । हाइभ्यालुका कृषि उपजमात्रै उत्पादन गर्छ । सस्तोमै आयात हुने वस्तु आयातै गरेर खाने र महँगा कृषि उपजमात्रै उत्पादन गर्ने उनीहरूको नीति छ । उत्पादनमा सबै प्रविधिको प्रयोग हुन्छ ।

इजरायलमा धानखेती चाहिँ कसरी गरिन्छ ?
इजरायलले धानखेती गर्दैनन्, आयात गर्छ । किनभने इजरायलीहरू नाफा घाटाको हिसाब गरेर व्यवसायमा हात हाल्छन् । उनीहरू एकदमै व्यावसायिक हुन्छन् । त्यसैले इजरायलले थाइल्याण्ड, इण्डिया, फिलिपिन्सबाट धान चामल आयात गर्छ । टोमाटो सलाद, क्याप्सिकनलगायत तरकारीजन्य वस्तु उत्पादन गरेर निर्यात गर्छ । युरोप अमेरिकालाई केजीकै १० डलरसम्ममा बिक्री गर्छ । धान उत्पादन नगरे पनि गहुँ भने उत्पादन गर्छ, मकैखेती, भटसास खेती हुन्छ । फलफूलतर्फ सुन्तला, कागती, मेवा, एभोकार्डोलगायतको खेती हुन्छ । त्यहाँ जग्गामा व्यक्तिको स्वामित्व हुँदैन । सरकारकै जग्गामा खेती गर्ने हो, सस्तो भाडामा जग्गा पाइन्छ । खेती गर्न चाहनेलाई जग्गा, प्रविधिलगायत आवश्यक पर्ने सबै सेवासुविधा सरकारले उपलब्ध गराउँछ ।

पानी हुँदैन भनेपछि खेती कसरी हुन्छ ?
पानी हुन्छ, समुद्रको पानी प्रशोधन गरेर सिँचाइ गरिन्छ । तर हाम्रोमा जस्तो धेरै पानी खर्च गर्नुपदैन । सबै काम थोपा सिँचाइ प्रविधिबाट हुन्छ । थोपा सिँचाइ प्रयोग गर्न नमिल्ने खेतीमा फिरफिरे वा स्प्रे प्रयोग हुन्छ । हाम्रोमा जस्तो खेतबारी तयारीका लागि पटकपटक जोत्ने काम पनि हुँदैन, जोत्दै बिउ छर्दै गर्ने हो ।

मलखाद विषादीको प्रयोग हुन्छ कि हुँदैन ?
मलखाद, विषादी सबै प्रयोग हुन्छ तर मानव शरीरलाई असर गर्ने विषादी प्रयोग हुँदैन, धेरैजसो वायोविषादी प्रयोग हुन्छन् । किनभने त्यहाँका उत्पादन युरोप अमेरिका निर्यात हुन्छन् । इजरायलले रसायनिक मल प्रयोग गरेर हाइब्रीड खेती नै गर्ने हो । तर पनि उनीहरू आफ्ना उत्पादनमा ८० प्रतिशत अर्गानिक भनेर लेख्ने गर्थे ।

स्वदेश फर्किएर कृषिमै लाग्ने युवाका समस्या के हुन् ?
उनीहरूमा निरासा छ, कृषिमा ठूलो लगानी गरेर काम सुरु गरेका छन् तर राज्यबाट कुनै सर्पोट छैन, प्रोत्साहन छैन । सुरुको लगानीका लागि बिउ पुँजी भए पनि निरन्तरता दिनका लागि पुँजी अभाव हुुन्छ । किनभने सबैको व्यवसाय सफल नै हुन्छ भन्ने पनि छैन । त्यसैले नेपालमा केही गर्छु भनेर फकिर्ने कतिपय साथीहरूमा फ्रस्टेशन छ ।

तपाईं कृषिमै लाग्नुको कारण ?
त्यो त म कृषि विद्यार्थी होइन । म मेडिकल क्षेत्रको विद्यार्थी हुँ, केही वर्ष सोही क्षेत्रमा काम गरियो । तर तत्कालिन राजनीतिक अस्थिरका कारण द्वन्द्वकालमा गाउँमा बस्न सक्ने अवस्था नभएपछि म पनि विदेशिने क्रममा इजरायल पुगेँ । त्यहाँको कृषि क्षेत्रमा काम गर्नुपर्‍यो । काम गर्नेक्रममा कृषिका धेरै कुरा थहा हुँदै गयो, रुचि बढ्दै गयो । त्यसैले म कृषि क्षेत्रको विद्यार्थी नहुँदानहुँदै कृषिमा जाोडिन पुगेको छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?