नेपालमा रासायनिक मलको अभाव र विकल्प

Read Time = 11 mins

✍️ गोविन्द मरासिनी

आज असार पन्ध्र (१५) । किसानहरूका लागि विशेष दिन । ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा असारलाई लिइन्छ । असारको मध्य दिन अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँँ जात्रा आदि नामले मनाइँदै छ । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश जनताले खेतीपाती गर्ने गरेका छन् । तर, पछिल्लो समय कृषिप्रधान देशकै कृषकहरू कृषिमा आत्मनिर्भर हुन नसकेपछि खेतीपाती छाडेर अन्य व्यापार, व्यवसाय सञ्चालन गर्न थालेका छन्, भने अधिकांश युवा जनशक्ति विदेशिन बाध्य छ । यद्यपि, परम्परादेखि गरिँदै आएको निर्वाहमुखी खेतीपाती अहिले पनि कायमै छ ।

जब किसानलाई खेतीपातीको चटारो हुन्छ, तब किसानलाई मलको समस्याले पिरोल्ने गरेको छ । असारको बेलामा कृषि प्रधान भनेर चिनिएको देशमै किसानले मल नपाउनु निकै दुर्भाग्य हो । तर, वर्षेनी किसानले यो समस्या भोग्दै आएका छन् । यसको मूलकारण भनेकै नेपाल रासायनिक मलमा परनिर्भर हुनु हो । प्रत्येक वर्ष नेपालका किसानले समयमै मल प्राप्त गर्न नसक्दा हैरानी र समस्या खेप्नुपरेको छँदै छ, उब्जनीमा समेत ह्रास आउने गरेको छ । उल्लेख्य अन्नबाली तथा तरकारी उत्पादन नहुुनुभनेको कृषिमा परनिर्भर हुनु हो र नेपालको विद्यमान अवस्था यही छ ।

नेपालमा वर्षेनी धेरैमात्रामा दैनिक उपभोग्य साम्रगीहरूको आयात हुनेगरेको छ, भने निकै कम मात्रामा निर्यात हुने गर्दछ । यसरी ठूलो परिणाममा सामान आयात हुँदा नेपाली पुँजी विदेशिएको छ । कुनै समय कृषिमा निर्यात गर्ने देश भनेर परिचित आज कृषिमा अझ भनौं चामलमा भने परनिर्भरतर्फ उन्मुख बनिरहेको छ ।

अनौपचारिक रूपमा केही सरकारी तथा गैरसरकारी तथ्यांकलाई आधार मान्ने हो भने माटोमा ६० देखि ७० पतिशत अम्लीय पन रहेको पाइन्छ । अम्लीयपन बढ्दा प्रांगारिक पदार्थ घट्छ र उर्वराशक्ति कमजोर हुन्छ । यसरी माटोमा अम्लीयपना बढ्दै जानेकारण अनावश्यक रूपमा प्रयोग गरिने रसायनिक मल तथा किटनाशक औषधि हो । नाइट्रोजन, फस्फोरस र पोटास माटोमा हुने प्रांगारिक पदार्थ हुन् । यी बाहेक अन्य १३–१४ प्रकारका सूक्ष्म र सहायक तत्व माटोमा हुन्छ, जसले माटोलाई उर्वर बनाउँछन् । खाद्यान्न बालीलाई चाहिने सूक्ष्म तत्व माटोमै पाइने भए पनि रसायनिक मलले गर्दा हाम्रो माटो बिग्रिसकेको छ । जसका कारण रासयनिक मलको अत्याधिक प्रयोगले केही समय उत्पादन बढे तापनि भविष्यमा निकै असर गर्ने स्पष्ट छ ।

डिएपी मलमा नाइट्रोजन १८ प्रतिशत फस्फोरस ४६ प्रतिशत हुन्छ । तर कुनै बालीको आफ्नो जीवन चक्र पूरा गर्न १७ पोषक तत्वको आवश्यक हुन्छ । दुईदेखि तीनमात्र पोषक तत्व पाइने मल हालेर के हाम्रो बाली राम्रो हुन्छ त ? गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्रांगारिक पदार्थ दुईदेखि पाँच प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १११ देखि २८१ किलो प्रतिहेक्टर हुनुपर्ने माटो विज्ञहरूको भनाइ छ । ९५ प्रतिशत खानेकुरा माटोमार्फत प्राप्त हुन्छ तर माटो दूषित भएकाले मानिस अस्वस्थकर हुँदै गएको छ ।

आज अमेरिकी तथा युरोपेलीहरू अग्र्यानिक खेतीमा रमाइरहेका बेला भारत, नेपाल जस्ता देशहरूमा रसायनिक मल तथा औषधि हाल्न लगाएर माटोको उर्वराशक्ति घटाइरहेका छन् । विषालु मल तथा औषधिको प्रयोगले माटोलाई बर्बाद पारेको त छँदैछ, त्यसले हाम्रो स्वास्थ्यलाई समेत गम्भीर असर पारेको छ । रसायनिक पदार्थ केही कुराका लागि उयपुक्त छैन, भन्ने हामी सबैलाई थाहा छ, तर पनि हामीले उपभोग गर्ने खाद्यान्नमा सधंै विषादी मिसाउन बाध्य छौं । कृषि उत्पादन र यसको वृद्धिदरको मात्रा नघट्ने गरी प्रांगारिक मल प्रयोगको विधि-ज्ञान आमकिसानमा नहुँदासम्म रासायनिक मल प्रयोग गर्नुको विकल्प छैन  ।

यस्तै देशभित्रै मल कारखानाको स्थापना गरी आपूर्ति सहज नहुँदासम्म हामी आयातमै निर्भर हुनुपर्ने देखिन्छ  । यसका लागि वडा, स्थानीय तह र केन्द्रीय सरकारले नै किसानहरूमा जनचेतना फैलाउनुका साथै आवश्यक तालिमहरूको समेत सञ्चालन गर्नुपर्ने देखिन्छ । किसानहरू प्रांगारिक मलको प्रयोग गरेर अग्र्यानिक खेतीतर्फ अगाडि बढ्ने बेलामा रसायनिक मल तथा औषधिको अभाव भयो भनिरहेका हुन्छन् । यो उनीहरूको रहर नभएर बाध्यता बनिरहेको छ । सधैभरी धान रोप्ने र किसानी गर्ने बेलामा मलको अभाव हुन्छ भनेर जानकार किसानले आफ्नो तर्फबाट केही विकल्पबारे सोच्ने हो, भने स्वयं किसानलाई राहतको महसुस हुने थियो ।

अर्को सोच्नुपर्ने कुरा के छ भने, बालीका लागि चाहिने पोषक तत्व माटोमै हुन्छ । माटोबाटै प्राप्त गर्ने हो, त्यसका लागि हामीले प्रांगारिक मल बनाएर प्रयोग गर्न सक्छौं । अहिले रसायनिक मलभन्दा प्रांगारिक मलको बजार मूल्य बढी हुन थालिसकेको छ । रसायनिक मल र विभिन्न थरि किटनासक औषधि पाइएन भनेर भनिरहनुभन्दा प्रांगारिक खेतीतर्फ अगाडि बढ्नुपर्ने आजको आवश्यकता बनिसकेको छ ।

प्रांगारिक मल भनेको सामान्य भाषामा गाईवस्तु तथा जनावरको मल हो । गाउँघरमा प्रायः गाई, भैँसी तथा बाख्रा पालिने हुँदा तिनीहरूको मललाई नै प्रांगारिक मल भन्ने गरिन्छ । यसका लागि गाईवस्तु पाल्ने जमातकै कमी भइसकेको छ, प्रांगारिक मलको उत्पादन बढाउनका लागि सरकारले पशुपालनमा किसानलाई प्रोत्साहन गर्नुपर्दछ । सरकारले पशुपालनमा प्राथमिकता दिने हो भने, कृषकहरू स्वयंले प्रांगारिक मल उत्पादन गर्ने छन् र रासायनिक मलमा कमी आउन सक्नुका साथै आमयुवालाई पशुपालन अनुदान वा सहुलियत कर्जाको व्यवस्था गरी आकर्षित गर्दा वेरोजगारी युवापुस्ता आत्मनिर्भर बन्नुका साथै रोजगार उन्मुख हुने छन् ।

यसैगरी वनजंगलमा पाइने स्याउला ल्याएर गाईभैँसीको गोठमा ओछ्याउने र त्यसलाई गोबरसहित मलखाडीमा फालेपछि राम्रो मल बन्छ । बोटबिरुवा, वनजंगल, पाखापखेरा प्रशस्त मात्रामा छन् । किसानलाई कम्पोष्ट मल बनाउने सीप घरघरमा गएर स्थानीय सरकारले सिकाउनुपर्दछ । प्रांगारिक र गड्यौंलाबाट मल बनाउने सीप किसानलाई दिई अर्गानिक कृषिवस्तु उत्पादनमा जोड दिनुपर्छ । गाउँघरमा कम्पोष्ट मल बनाउने प्रविधि र बजारबाट निस्कने फोहोरबाट मल बनाउने प्रविधिको व्यवस्थापन सरकारले गर्नुपर्छ ।

यस्तै शहरी क्षेत्रमा फोहोर व्यवस्थापनबाट मल बनाउने नयाँ योजना र केही स्थानीय तहले यसमा सफल भइसकेका छन् । यसै योजना अनुरूप स्याङ्जाको वालिङ नगरपालिका लगायत केही पालिकाले कुहिने वस्तुबाट कम्पोष्ट मल र नकुहिने सामग्री सिसाजन्य, फलाम, प्लाष्टिक, कपाल जस्ता वस्तुबाट उद्योगका कच्चा पदार्थ बनाउन थालेका छन् । देशको राजधानी काठमाडौं महानगरपालिकामा यो योजना अगाडि बढाउने चर्चा चलिरहेकै छ ।

किसानले विभिन्न तरिकाबाट स्थानीयस्तरमै उत्पादित बस्तुबाट मलको उत्पादनमा लाग्ने, राज्यले किसानलाई आवश्यक, स्रोतसाधनसहित आत्मनिर्भर बनाउन सघाउने र मल उत्पादका लागि स्थानीयस्तरमै स-साना कारखानाको स्थापनामात्र गर्ने हो भने पनि भविष्यमा मलमा केही हदसम्म भए पनि आत्मनिर्भर बन्न सकिनेछ । लेखक पत्रकार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?