Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

बजेट छलफल सुरु नगरे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : एमाले गण्डकी

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलले बजेटमाथि छलफल सुरु नभए मुख्यमन्त्रीको राजीनामा मागेको छ । १ असारमा अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गरेपछि छलफल स्थगित छ ।

५ असारमा छलफल सुरु गर्ने भनिएकोमा सत्ता गठबन्धनभित्रै विवाद भएपछि रोकिएको हो । सांसदले बाँड्न पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा अर्थमन्त्रीले समावेश नगरेपछि किचलो सुरु भएको हो । हरेक वर्ष गण्डकीमा निर्वाचन क्षेत्रलाई दुई करोडका दरले ७२ करोड विनियोजन हुन्थ्यो ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् बैठकमै दिएको निर्देशन र सत्ता गठबन्धनको संयुक्त बैठकको निर्णयलाई समेत बरालले नटेरेपछि किचलो सुरु भयो ।

लामो समय संसद रोकिएपछि एमाले संसदीय दलले पत्रकार सम्मेलन गरेर सरकारले राजीनामा दिनुपर्ने एमालेको माग छ । सरकारका अरु मन्त्री र अर्थमन्त्रीबीचको विवादले सरकार अनिर्णित छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सरकारबाटै संसद रोकिनु आपत्तिजनक भएको बताउनुभयो । ‘बजेट कार्यान्वयन गर्ने समय भइसक्यो संसदमा छलफल प्रारम्भ भएको छैन ।

यो सरकार चलाएको कि गुच्चा खेलेको ?,’ गुरुङले भन्नुभयो, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा मन्त्रीहरू सहभागी हुँदैनन् । सरकार चलाउने विधि हुन्छ । विधिविपरीत चलेपछि सरकारले राजीनामा दिनुपर्छ ।’

कांग्रेस र माओवादीबीचको विवादले संसदलाई अवरोध गर्न नहुने उहाँको भनाइ छ । ‘कांग्रेस र माओवादीबीच विवाद छ । त्यसले बजेट छलफल रोक्न मिल्छ ?,’ उहाँ भन्नुहुन्छ, ‘विवाद भएपछि सुल्झाउने काम मुख्यमन्त्रीको हो । संसदलाई समस्यामा पार्न मिल्दैन । कि बजेट छलफल सुरु गर्नुपर्‍यो । होइन भने सरकारले राजीनामा दिनुपर्‍यो ।’

गुरुङले बजेट संसदमा छलफल नगरी अर्थ तथा विकास समितिमा छलफल गर्न लागेको आरोप लगाउनुभयो । ‘संसदमा तुरुन्त छलफल थाल्नुपर्छ । संसद छलेर समितिमा छलफल गर्ने कुन कानुनमा पर्छ ?,’ उहाँले अगाडि भन्नुभयो, ‘संसदीय प्रणालीमा नौटंकी चल्दैन । नहुने र पद्धती मिच्ने काम गर्न पाईंदैन ।’ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने एमालेको माग छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?