हराए ‘असारे भाका’

Read Time = 8 mins

-रामचन्द्र रायमाझी
पाल्पा ।
हे छुपुमा छुपुमा खेतमै रोपौँ धानको बीउ छर्दै
मिठै र लाउँला राम्रै र लाउँला चेलीको जीउ छँदै
हा... हा... हे... हे...
बाउसे गर्नु मेला बनाउनु धानको बीउ छँदै
मीठै खाउँला राम्रै लाउँला माइतीको जीउ छँदै ।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।।

‘असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा
छ बीस ऋण लाग्यो ।’

‘खै अहिले यि असारे भाका ! पाल्पा माथागढी देउगीरका सूर्य बहादुर रायमाझीले विगत सम्झँदै भन्नुभयो, ‘अहिले त यि असारे भाका रेडियोमा सुनिन्छ र टिभीमा हेरिन्छ । त्यत्ति हो, त्यही भए पनि पुराना दिनहरुको सम्झना गराएको छ । ती भाका फेरि खेतका आलीआलीमा सुनिन पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्छ ! तर खै ! कता हराए, कता बिलाए । काउकुती लगाउँछ अहिले ती भाकाले ।’ यी र यस्तै गीत असार÷साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई पनि याद आउँछ । उहाँ आफैंलाई पनि नाच्ने, गाउने र रमाइलो गर्ने गरेको सम्झना ताजै छ । ‘मज्जाले हिलोमा छुपुछुपु खेल्दै र धान रोप्दै अनि दही चिउरा खाँदै हामी असार पन्ध्रमा रमाइलो गथ्यौं’, पाण्डेले पुराना दिनहरु संझदै भन्नुभयो‘खेतको आलीमा सबैजना बस्थ्यौँ, घरबाट ल्याइएको दही र चिउरालाई नाग नागिनी र देवतालाई चढाएर खाने गरिन्थ्यो । असार पन्ध्र गते धान रोपेर थकित भएपछि खेतको डिलमा बसी आलुको अचारसँगै दही चिउरा खाएर लय हालेर असारे गीत गाउँदाको रौनक कम्ती रमाइलो हुदैनथ्यो ।’ ‘उहिले मनोरञ्जनका साधन केही थिएनन्,’ उहाँले भन्नुभयो, ‘त्यही भएर केटाकेटी, अधवैंसे, बूढापाका सबै यस्तै गीत गाएर रमाइलो गर्थे ।’ सेराफाँटमा चार हलको मेलो रोप्न पनि अन्यत्र जाँदा फुर्सद नहुने उहाँले सुनाउनुभयो । तर हिजो आज भने पुराना भाकाहरु सुन्न छोडिएको पाण्डे बताउनुहुन्छ । पाल्पा देउगीरका लोक बहादुर रायमाझीलाई असार १५ गते बाउसे गर्न जाँदाको क्षण ताजै छ । ‘हिलोमा चलेर आउँदा लोद परी फर्किन्थ्यौ, तर दही चिउरा खाएपछि र अरुले रमाइलो गरेको देखेपछि पीडा र थकान भुल्थ्यौँ उहाँ भन्नुहुन्छ । उहाँहरु जस्तै असार पन्ध्रतेकोे अनुभव धेरैको छ । यि त केही उदाहरण मात्र हुन् ।

पछिल्लो समयमा असारे भाका लोप हुँदै गएको छ । उहिलेका असारे भाका कमैले मात्र गाउँछन् । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो । रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराएका छन् । रोपाहारका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो । गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुन्थ्यो । तर हिजो आज आधुनिकतासँगै असारे मौलिक गीतका ति भाकाहरु विस्तारै हराउँदै जाँदा पुराना पुस्ताहरु भने चिन्तित छन् । अहिले खेतका गराहरुमा असारे भाकाले ठाउँ पाउँदैन । पाइहाल्यो भने हिन्दी गीतले ठाउँ पाउँला, रिमिक्स गीत अटाउला । तर, पुरानो असारे भाकाले ठाउँ नपाउँदा किसानलाई पर्नु पीर परेको छ । पुरानो परम्परालाई अहिलेको पुस्ताले बिर्संदा पुराना पुस्तालाई खल्लो महसुुस भएको छ । पहिला दिनरातै असारे भाका गाएर असार महिना कट्थ्यो, अहिले दिनरात आकाश हेरेर असार महिना कट्ने गरेको पुराना पुस्ताका किसानहरुको अनुभव छ ।

कुनै बेला असार लागेसँगै असारे गीतहरु गुञ्जायमान हुने पाल्पा र गुल्मीका फाँटहरुमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । परम्परागत कृषि प्रणाली हराउदै जाँदा रोपाइँको रौनक नै हराउदै गएको हो । केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसंगै हलो, जुवा, हलगोरु, बाउसे र रोपाहारहरु खेतमा हुँदा रोपाइँको चहलपहल रहे पनि अहिले यो विस्तारै हराउँदै गएको हो । बढ्दो आधुनिकीकरण र युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल, गोरु र बाउसेको अभाव देखिएको किसानहरु बताउँछन् । छङ्छङ् बगेको वर्षे भेल, खोल्साखाल्सी सुसाएर निस्केको आवाज, छहरा पहराको हरियालीले रोपाँइको समय सम्झाउँछ ।

असारे भाका ठाउँ र समुदायअनुसार फरक फरक लयमा गाइने भए पनि सबै गीतले किसानको मर्म पोख्छ । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार पन्ध्र पनि हो । यो दिनलाई धान दिवसका रुपमा समेत मनाइन्छ । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार पन्ध्रलाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि दही च्यूरा खाई असार पन्ध्र मनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?