विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई गृहमन्त्रीको निर्देशन

Read Time = 3 mins

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।

बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो ।

उहाँले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भिर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

उहाँले प्रतिकार्यका लागि उपलब्ध सामग्रीहरुलाई तयारी अवस्थामा राख्न र विपद् परिहालेमा तत्काल त्यहाँ पुगेर आवश्यक भुमिका निर्वाह गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले सरकारको मातहतका सरोकारवाला निकायहरुको पूर्वतयारी सन्तोषजनक रहेको उल्लेख गर्दै अहिले गरिएको तयारीले विपद्को सामना गरी नागरिकको जीवन रक्षा गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘दूरसञ्चारको ठूलो भुमिका हुन्छ । आपतको बेलामा सूचना र सञ्चार चाहिन्छ । मौसम प्रतिकुल भएको बेलामा, प्राकृतिक विपद्को बेलामा सूचना र सञ्चार पनि अवरुद्ध हुन्छ । त्यसलाई तत्कालका लागि जे अवस्था छ त्यो अवस्था सामना गरेर छिटो राहत र छिटो सहजीकरण गर्ने दायित्व हो । आउने दिनहरुमा यसका वैकल्पिक उपायहरु पनि खोज्नुपर्ने हुन्छ होला । सायद त्यो भइपनि राखेको छ । नेपाल सरकारका विभिन्न विभाग, प्रतिष्ठान, संस्थान र प्राधिकरणले गरेको तयारी सन्तोषजनक छ । यो तयारीले अवश्य पनि विपद्को बेलामा सामना गरेर आम नागरिकको जीवन रक्षा गर्नसक्छौँ र जीवनलाई सामान्यीकरण गर्न सक्छौँ भन्ने विश्वास हो ।’

उहाँले विपद्को समयमा सूचना र सञ्चारको तत्काल आवश्यकता पर्ने भन्दै यसतर्फ दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण पनि गराउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?