धादिङ अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको केही दिनमै बन्द

हिमालय टाइम्स
Read Time = 3 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको केही दिनमै बन्द भएको छ । असार ३ गतेदेखि उत्पादन सुरु गरिएको अक्सिजन प्लान्टमा प्राविधिक समस्याका कारण बन्द भएको हो ।

अक्सिजन प्लान्टमा सफ्टवेयरको समस्या आएकाले बन्द भएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुईवटा अक्सिजन प्लान्टमध्ये १५ एम एन प्रदेश सरकारले पठाएको र पाँच एम एनको प्रदेशको बजेटले लगभग ४० लाखमा जर्मनीबाट ल्याइएको थियो ।

बन्द भएको करिब पाँच दिन भइसक्दासमेत मर्मतसम्भार गर्न कसैको ध्यान जान सकेको छैन । धादिङ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको करिब नौ महिनापछि अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको थियो ।

असार ३ गतेबाट दैनिक ४० लिटरको चारवटा र ३० लिटरको ६ वटा अक्सिजन सिलिन्डर भर्न सकिने गरी अक्सिजन उत्पादन सुरु भएको थियो ।

धादिङ अस्पतालमै अक्सिजन सिलिन्डर भर्न सकिने भएपछि धादिङलगायत छिमेकी जिल्लाहरूमा समेत अक्सिजन अभावका कारण मानिसले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको धादिङ अस्पतालका निमित्त मेसु मधुकर दाहालको भनाइ थियो ।

धादिङका १३ वटा स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा समेत अक्सिजन सहजरूपमा आपूर्ति हुने आंकलन गरिएको थियो ।

कोभिड-१९ का बेला अक्सिजन अभावले सयौँ बिरामीहरू बेडमा छटपटिरहेका थिए । यही अवस्थालाई मध्यनजर गर्दै संघीय सरकार र प्रदेश सरकारले अक्सिजन जडानका लागि प्रदान गरेको ४२ लाख रकमले सुरु गरिएको थियो ।

अक्सिजन प्लान्टले २४ घण्टामा ५५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने र नयाँ प्रविधिको अत्याधुनिक मेसिनबाट थाइराइड, भिटामिन डी र हर्मोन प्रोफाइलसमेत जाँच गर्न सकिने अस्पतालका तत्कालीन मेडिकल सुपरीटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले बताउनुभएको थियो । तर, यो कुरा कुरामा मात्र सीमित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?