प्रधानमन्त्रीद्वारा फुटबल विकासमा सहयोग गर्ने प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्रीले बधाई दिनुभएको हो ।

भेटमा प्रधानमन्त्री देउवाले देशमा फुटबल विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । ‘खेलको विकासका लागि मिलेर काम गर्दा सरकार सधैँ तपार्इंको साथमा रहनेछ । नेपाली फुटबललाई माथि उठाउन यहाँको टोली दिनरात एक भएर लाग्ने विश्वास व्यक्त गरेको छु,’ प्रधानमन्त्रीले भेटका क्रममा भन्नुभएको थियो ।

गत असार ६ गते भएको निर्वाचनबाट पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, विराटजंग शाही र दुर्गाबहादुर केसी निर्वाचित हुनुभएको थियो ।

फिफाको बधाई
यस्तै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिन्होले मंगलबार एक पत्रमार्फत् एन्फाका नवनिर्वाचित अध्यक्षसँगै सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘तपाईंको ज्ञान, नेतृत्व र अनुभवले नेपालमा हाम्रो सुन्दर खेलको विकासमा ठूलो प्रभाव पार्नेछ भन्ने मलाई विश्वास छ,’ अध्यक्ष इन्फान्टिहोले पत्रमा उल्लेख गर्नुभएको छ, ‘नेपालको फुटबलको भविष्यका लागि दिगो विकासका लागि आइपर्ने सम्पूर्ण चुनौतीमाथि सफलताको कामना गर्दछु ।’

यस्तै एन्फा अध्यक्ष नेम्वाङलाई जापान फुटबल फेडेरेसनले पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । यसअघि एसियन फुटबल कन्फेडेरेसन (एएफसी), दक्षिण एसियाली खेलकुद फेडेरेसन (साफ), भुटान फुटबल फेडेरेसन र बंगलादेश फुटबल फेडेरेसनले नेम्वाङ र कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिइसकेका छन् ।

गत ६ असारमा भएको २१औँ चुनावी साधारणसभाबाट नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । कुल ८४ मतमध्ये नेम्वाङले ४५ मतसहित निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो । शेर्पाले ३९ मत पाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?