काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एक समयकी स्टार अभिनेत्री अरुणीमा लम्साल आठ वर्षको अमेरिका बसाईपछि नेपाल आउनुभएको छ । केही महिनाका लागि गत शनिबार उहाँ आफ्नी छोरीसहित नेपाल आउनुभएको हो ।
नेपाल आएसँगै अरुणीमाले नेपाली कलाकारसँग भेट गर्नुभएको छ । सुरुमा सहकर्मी अभिनेत्री रेखा थापासँग मंगलबार भेटसँगै आफ्नो सामाजिक सञ्जालमा तस्वीर शेयर गर्नुभएको थियो । चलचित्रमा सक्रिय रहँदा अरुणीमा र रेखाले ‘धड्कन’, ‘मिस्टर मंगले’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’लगायत चलचित्रमा सँगै काम गर्नुभएको थियो ।
साथै अभिनेत्री अरुणीमाले आफूलाई मन पर्ने स्कृप्ट आएमा फेरि नेपाली चलचित्रमा काम गर्ने इच्छा राखेको मिडियाहरूमा अन्तर्वार्ता दिनुभएको छ । यस्तै उहाँले आफूले नेपाली चलचित्र नछाडेको र केही समय विश्राम मात्र लिएको बताउनुभएको छ । कलाकर्मीहरूकै भेटघाटको क्रममा अरुणीमा बुधबार कलाकार किरण केसीको जन्मदिन सेलिब्रेशनमा पुग्नुभएको थियो ।
सोही अवसरमा अहिलेकी लोकप्रिय अभिनेत्री प्रियंका कार्कीसँग बसेर मिडियासँग कुराकानी गर्नुभयो । कुरा गर्नेक्रममा पछिल्लो आठ वर्षको अन्तरालमा नेपाली चलचित्र क्षेत्रलाई धेरै सम्झिएको बताउनुभयो । ‘मैले नेपाली चलचित्र क्षेत्रलाई बिर्सिएको छैन । निकै सम्झिएको हुन्थेँ’, अरुणीमाले भन्नुभयो, ‘अहिले र पहिलेको कुरा गर्दा अहिले नेपाली चलचित्रमा पनि धेरै विकास भइसकेको छ । प्राविधिक हिसाबसँगै धेरै कुरामा राम्रो भएको छ ।’
अरुणीमाले छेउमै रहनुभएकी प्रियंकालाई देखाउँदै भन्नुभयो, ‘अहिले उहाँहरूले चलचित्र क्षेत्र धान्नुभएको छ । खुशी लागेको छ ।’ पुरानो चलचित्र ‘धड्कन’मा अभिनय गर्नुभएकी अरुणीमालाई बन्ने तयारीमा रहेको ‘धड्कन-२’ चलचित्रमा तपाइँको अभिनय रहन्छकी नाई भन्ने प्रश्न गरिएको थियो । सोही क्रममा उहाँले आफूँसँगै निर्माण टिमले पूर्णरूपमा कुरा नगरिसकेको बताउनुभयो । साथै उहाँले स्कृप्ट कस्तो बन्छ र आफूलाई मिल्ने स्कृप्ट बनेको खण्डमा आफू काम गर्न तयार हुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘स्कृप्टमा कस्तो टाइपको हुन्छ, स्टोरी अनुसार आफूलाई फिट हुन्छ भने गर्छु तर टिनएजरको लभ स्टोरी भयो भने गर्ने कुरा भएन । आफ्नो उमेर अनुसारको भयो भने म तयार छु ।’
यस्तै अभिनेत्री अरुणीमाले आफूले नेपाली चलचित्रमा काम गर्ने समयमा सामाजिक सञ्जाल निकै कम भएको र त्यो समयमा चलचित्र क्षेत्रका गतिविधि पनि कम सुनिने तर अहिले सामाजिक सञ्जाल धेरै चल्ने भएकाले गतिविधि धेरै सुनिने गरेको बताउनुभयो । उहाँले अमेरिकामा रहँदा नेपालमा भइरहेको चलचित्र गतिविधिबारे अपडेट भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘म आज यहाँ धेरै कलाकारसँग भेटिएकी छु तर मलाई निकै लामो समयपछि भेटिएजस्तो लागेकै छैन । सामाजिक सञ्जालमा भेट भइरहने भएकाले पनि होला ।’
अभिनेत्री अरुणीमाले आफ्नो समयमा ५० बढी नेपाली चलचित्रमा काम गर्नुभएको थियो । उहाँले ‘अभिमन्यू, आफ्नो मान्छे आफ्नै हुन्छ, अग्नि ज्वाला, भरोसा, बुबाआमा, दाइको ससुराली, धड्कन, के यो माया हो, मिस्टर मंगले, मेरो प्यारो माइतीघर, राम बलराम’लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका