विवेक खड्का/हिटा
दाङ । वर्षा सुरु भइसकेको छ । वर्षायाममा खोलाबाट वारपार गर्दा सधैँ सास्ती पाउनुपर्छ । तर, यो वर्षायाममा पनि पुलमा वारपार गर्ने सपना भीमबहादुर चौधरीको पूरा हुन सकेन । तुलसीपुर-१० राइखलियानका चौधरीलाई वर्षाको समयमा खोलापारि खेतीपाती लगाउनेदेखि टिकरी लगायतका गाउँमा दैनिकजसो पातुखोला वारपार गरिरहनुपर्छ । पुल निर्माणमा ढिलाइ हुँदा उहाँले बर्सेनि वर्षाको समयमा सास्ती पाउनु परिरहेको छ । दुई वर्षअघि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले पुल निर्माणको शिलान्यास गर्दा वर्षामा खोला वारपारमा हुने समस्या सधैँलाई अन्त्य हुने आशा राखेका स्थानीय यो वर्ष पनि पुल निर्माण नहुने भएपछि चिन्तामा छन् ।
‘दुई वर्षअघि पुलको शिलान्यास हुँदा हामी खुसी भएका थियौं । तर, पोहोरसाल बनिसक्नुपर्ने पुल अहिलेसम्म पिलर पनि उठ्न सकेन’ चौधरीले भन्नुभयो, ‘यो वर्ष पनि हामीले वर्षायाममा खोलाको सास्ती पाउने नै भयौँ ।’ तुलसीपुर उपमहानगरपालिका-८ को टिकरी र वडा नम्बर १० को राइखलियान जोड्ने पातुखोला पुल निर्माणको दुई वर्षसम्म आधा काम पनि भएको छैन ।
पुल निर्माणमा चरम ढिलासुस्ती हुँदा वर्षायाममा स्थानीयले खोला वारपार गर्दा सास्ती पाउने गरेका छन् । ‘अब वर्षायाम सुरु भयो, खोला बढ्छ, राइखलियान पुग्नका लागि तुलसीपुर बजारबाट घुमेर जानुपर्छ’ तुलसीपुर-८ का टेकबहादुर विकले भन्नुभयोे, ‘खै हाम्रो विकास के भाको हो, पहिला कुरा त विकासका लागि बजेट आउनै मुस्किल, बजेट आए पनि काम हुनै मुस्किल, जनताले विकास त सम्झिने, पानी छम्कने जस्तै भएको छ ।’ गत आर्थिक वर्षको असार मसान्तमै निर्माण सम्पन्न गर्नुपर्ने पुल अझैसम्म निर्माणले गति लिन सकेको छैन् । पुलको अहिलेसम्म पिलरसमेत उठन सकेको छैन ।
सम्झौता अवधि सकिएको एक वर्ष बढी हुँदा पनि ८० प्रतिशतभन्दा बढी काम बाँकी छ । कोरोना महामारीको कारण देखाउँदै रोकिएको निर्माण कार्य अहिलेसम्म सुचारु भएको छैन । २०७७ साल साउन १ देखि निर्माण सुरु गरिएको पुल अहिले अलपत्र अवस्थामा छ । पुल निर्माणको ठेक्का पाएको हिराचन÷जलजला जय माँ जेभी बेपत्ता छ ।
निर्माण कम्पनीको चरम लापरबाहीका कारण स्थानीयले वर्षायाममा खोलाको सास्ती भोग्न बाध्य छन् । दाङमा पुल तथा सडक निर्माणको काममा ढिलासुस्ती भएको नयाँ नौलो भने होइन । राइखलियान-टिकरी जोड्ने पुल निर्माणको ढिलासुस्ती पनि पछिल्लो विकासको उदाहरण हो । पुल निर्माणको सम्झौता अवधि सकिएको एक वर्षसम्म पनि निर्माण कम्पनीलाई कुनै किसिमको कारबाही हुन सकेको छैन ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार विकास प्राधिकरणका विकास अधिकृत सुनिल थापाले पातुखोला पुल निर्माणमा ढिलासुस्ती भए पनि कारबाहीको दायरामा ल्याउन नसकेको बताउनुभयो । ‘कोरोना महामारी कारण सम्झौता अवधि अझै थपिन सक्छ, अहिले यो समय निर्माणको समय होइन’ उहाँले भन्नुभयोे, ‘अर्को आर्थिक वर्षमा काम निश्चित हुन्छ, यदि भएन भने हामी कारबाहीको दायरामा ल्याउँछौँ ।’
निर्माण व्यवसायीले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेको छ । कम्पनीका साइट इञ्चार्ज प्रकाश रोकाले कोरोना महामारीका कारण निर्माणमा श्रमिक अभाव, डिजेल, पेट्रोलको अभाव हुँदा निर्माणमा ढिला हुन गएको बताउनुभयो । ‘अब हामी लगत्तै निर्माणको काम सुरु गर्दैछौँ’ उहाँले भन्नुभयो, ‘जतिसक्दो छिटो निर्माण गर्ने पक्षमा हामीहरू पनि छौँ, तर त्यस्तै बाध्यताका बीचमा काम अघि बढ्न नसकेको हो ।’ आठ करोड ३१ लाख ६४ हजार २२५ रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । लुम्बिनी प्रदेश सरकारको सडक तथा पुल निर्माण कार्यक्रमअन्तर्गत पातुखोलाको पुल निर्माण गर्न लागेको हो । पुल निर्माण ढिलासुस्ती हुँदा पनि सरोकारवाला निकाय मौन छन् । निर्माण व्यवसायीको चरम ढिलासुस्तीप्रति सरोकारवाला निकायले चासो नदिँदा यस वर्षको वर्षायाममा पनि स्थानीयले सास्ती पाउने भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच