मनसुन सुरु भएसँगै विपत्को जोखिम, ठाउँ-ठाउँमा डुबान, बाढी र पहिरो, आगामी तीन दिन भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

हिमालय टाइम्स
Read Time = 11 mins

डिबी शर्मा/हिटा
काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी, पहिरो र डुबानको समस्या निम्तिन थालेको छ । निरन्तरको वर्षापछि देशका विभिन्न ठाउँमा विपत्जन्य घटना बढ्न थालेका हुन् । केही दिनदेखि जारी निरन्तरको वर्षाले मुलुकभरका धेरै ठाउँ जलमग्न भएका छन् । कतिपय ठाउँमा डुबानको समेत समस्या देखिएको छ । वर्षासँगैको बाढी र पहिरोका कारण दर्जनौँ सडक अवरुद्ध भएका छन् भने सयौँ विस्थापित भएका छन् । विभिन्न नदी र खोलामा समेत पानीको सतह बढेको छ । जसले गर्दा नदी र खोला आसपासका बस्ती पनि जोखिममा परेका छन् ।

नेपालमा बर्सेनि विपत्जन्य घटनामा सयौँले ज्यान गुमाउने गरेका छन् । नेपालमा यसपालि औसतभन्दा धेरै वर्षा हुने पूर्वानुमान छ । यसपालिको मनसुनबाट झण्डै २० लाख मानिस प्रभावित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तराईका सबै जिल्ला र गण्डकी प्रदेशमा विशेष सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन देशभर ठूलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन देशभर भारी वर्षा हुने सम्भावना छ । आगामी तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने विभागका महानिर्देशक कमलराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भारी वर्षासँगै खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने सम्भावना छ । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्व-तयारी तथा प्रतिकार्य बैठकमा महानिर्देशक जोशीले आगामी तीन दिन उच्च सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । बिहीबारसम्म तराईको लगभग सबै खोला र गण्डकी प्रदेशसम्म भारी वर्षा हुने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘खोलाको जलस्तर बढेर अझ डुबान र बाढीले समस्या दिनेछ । तीन दिन देशभर भारी वर्षा हुनेछ । विशेष सतर्कता आपनाउन आग्रह गर्दछु ।’ उहाँले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो ।

सप्तकोसीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालियो
सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ । बुधबार कोसी ब्यारेजका ५६ मध्ये अहिले २१ ढोका खोलिएको छ । मंगलबार १६ ढोका खोलिएको थियो । कोसीमा बहाव र जलस्तर बढेसँगै सुनसरीको श्रीलंका टापु क्षेत्रमा कटान सुरु भएको बताइएको छ । मंगलबार नै कोसीमा माछा मार्न, डुंगा चलाउन र बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न रोक लगाइएको छ ।

राप्तीमा पानीको सतह बढ्दै, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । मंगलबार रातिबाट परेको अविरल वर्षाका कारण नदीमा बाढीको सतह बढ्दै गएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार कुसुमस्थित राप्ती नदीमा पानीको सतह खतराको तहमा पुगेको छ । राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुरलगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न ÷नगराउन आग्रह गरिएको छ ।

रोल्पाका दर्जनौँ गाउँ जोखिममा
बाढीले पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिकाले निर्माण गरेको काठे पुल भत्काएको छ । मंगलबार रातिको बाढीबाट किलाचौर–दोभान–पाङ सडकअन्तर्गत बोज्याङ खोला पुल बाढीले भत्काएको हो । पहिरोले रोल्पा प्रवेश गर्ने होलेरी सडकसमेत अवरुद्ध भएको छ । सहिद मार्गका अधिकांश स्थानमा पहिरो खसेको र सडक अवरुद्ध हुँदा छोटो दूरीमा यातायात अवरुद्ध भएको स्थानीलेको भनाइ छ । भारी वर्षा र त्यसपछि आउन सक्ने बाढीले रोल्पाका दर्जनौँ गाउँ जोखिममा परेका छन् । जिल्लाका पूर्वी, उत्तरी र दक्षिणी गाउँहरू सबैभन्दा जोखिममा परेका छन् ।

नारायणगढ-मुग्लिन सडकका १७ ठाउँमा पहिरोको उच्च जोखिम
नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका हुन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यस्तै, सेती दोभान, कालीखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको कार्यालयले जनाएको छ ।

राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गरेका छन् । सडक पुनर्निर्माणको काम सकिए पनि सडकमाथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो ।

विपद् प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्व–तयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताउनुभएको छ । सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा बुधबार भएको मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै सबै निकायले एकीकृत ढंगबाट विपद्को सामना गर्नुपर्ने उहाँले बताउनुभयो । विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै जनताको जिउधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्दै उहाँले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जिउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको बताउनुभयो । गृहमन्त्री खाँणले विपद्बाट प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभयो ।

‘हामीले यसको पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु नै सबैभन्दा ठूलो अहिलेको हाम्रो दायित्व हो । केही दिन अगाडि मात्रै पनि हामीले एउटा बैठक बसेर प्रतिकार्यसम्बन्धी कार्यनीति पनि बनाएका थियौँ,’ उहाँले भन्नुभयो, ‘अहिले फेरि वर्षाले नोक्सान गर्न थालिराखेको छ । त्यसकारणले ठाउँ-ठाउँमा पूर्वतयारी गरेर बस्ने र कहीँ त्यस्तो खालको प्रभाव परिहाल्यो भने तत्काल भूमिका निर्वाह गर्नुपर्छ । ’

विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने, मानवीय आवश्यकताका वस्तुको उपलब्धता नहुने, सुरक्षित यात्राका लागि चुनौती थपिने उल्लेख गर्दै उहाँले अवरुद्ध सडक तत्काल सञ्चालन गर्नेगरी उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले विपद्का समयमा जतिसक्दो छिटो अत्यावश्यक सेवा पुर्‍याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । आधिकारिक सूचनाका आधारमा विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न सकिने भन्दै उहाँले मनसुन सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?