‘भगवती लेमिनेट्स’ कर छली प्रकरण : अनुसन्धानले पायो तीव्रता, जिल्लामाथिको शंकापछि केन्द्रबाटै तोकिए नयाँ अनुसन्धान अधिकृत

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । राजस्व छली प्रकरण छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ । सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि ‘चित्त बुझ्दो’ नभएपछि भगवती लेमिनेट्सका सबै फाइल विभागमै तानेर अनुसन्धानलाई तीव्रता दिइएको हो । विभागका अनुसार आइतबार मात्रै भगवती लेमिनेट्सको राजस्व छली प्रकरण छानबिन गर्न नयाँ अनुसन्धान अधिकृत तोकिएको छ ।

महानिर्देशक परिवर्तन हुँदा अनुसन्धान प्रभावित हुने आशंका, विभाग भन्छ- अधिकृतले नियमबमोजिम नै अध्ययन अघि बढाउँछन्
त्यसो त केही दिनअघि मात्र अनुसन्धान विभागका महानिर्देशक परिवर्तन भएका छन् । यसअघि महानिर्देशक प्रकाश पौडेल सरुवा भएपछि झलकराम अधिकारी नयाँ महानिर्देशकका रूपमा विभागमा आउनुभएको हो । यसअघि, तत्कालीन महानिर्देशक पौडेलले अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्समाथि गहन अनुसन्धान थाल्नुभएको थियो । तर, यसैबीच केही दिनअघि मात्रै पौडेलको सरुवा भएपछि छानबिन प्रक्रिया अवरुद्ध भएको थियो ।

तर, हालै आएका नयाँ महानिर्देशक अधिकारीले फेरि नयाँ अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अगाडि बढाउनुभएको छ । राजस्व अनुसन्धान विभागका प्रवक्ता दिवस आचार्य भन्नुहुन्छ, ‘नयाँ निर्देशक आउँदा अनुसन्धानमा कुनै असर पर्दैन । जुन रूपमा पहिलेको अध्ययन समितिले अनुसन्धानका कार्यलाई अगाडि बढाइएको छ त्यही रूपमै नयाँ अध्ययन समितिले पनि अनुसन्धानलाई अगाडि बढाउनेछ’ । विभागका अनुसार यसअघि सञ्चालकलाई समेत बयानका लागि बोलाउने निर्णय भएकाले नयाँ अनुसन्धान अधिकृतले पनि त्यसअनुसार बयान लिनेछन् ।

विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाल लगायतलाई आवश्यकताअनुसार बोलाएर बयान लिने तयारी गरेको छ ।

यसअघि इटहरी कार्यालयले छानबिन गर्नुको साटो उल्टै मिलेमतो गरेपछि केन्द्रले फाइल तानेको थियो । लेमिनेट्सका सञ्चालकले जिल्लास्तरमा विभिन्न शक्ति केन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रिया नै कमजोर बनाउने प्रयास गर्दै आइरहेका थिए । अब भने केन्द्रबाटै निष्पक्षतापूर्वक छानबिन हुने र कुनै मिलेमतो नहुने विश्वास गरिएको छ ।

छानबिनकै क्रममा यसअघि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयका अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात सञ्चालकको सबै बैंक खाता र स्टेटमेन्ट माग गरे पनि उनीहरूले विवरण दिन आलटाल गरेका थिए । इटहरी कार्यालयले पनि उनीहरूमाथि कडाइ गर्न नसकेको र सबै सञ्चालकसँग बयान लिनसमेत सकेको थिएन । भगवती लेमिनेट्सका सञ्चालकले विभिन्न शक्ति केन्द्रसँग आफूहरूको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि ‘उम्कन सक्ने’ बताउँदै आएका छन् ।

सञ्चालकहरूले अधिकृतलाई नै प्रभावमा पारेपछि फाइल केन्द्रमै तानियो
भगवती लेमिनेट्स प्रालिका सञ्चालकहरूले राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई विभिन्न प्रभावमा पारेको भनी व्यापक गुनासो र असन्तुष्टि विभागमा आएपछि विभागले ती फाइल केन्द्रमै तानेको थियो । भगवती लेमिनेट्सका सञ्चालकले शक्तिकेन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रियालाई नै कमजोर बनाउने प्रयास गर्दै आएको स्रोतको दाबी छ । सो प्रालिका सात सञ्चालकले उनीहरूको बैंक खाता र बैंक स्टेटमेन्ट माग गर्दा अटेर गरेर दिन आलटाल गरेका थिए । आलटाल गरेकै कारण विभागले सबै फाइल केन्द्रमै तानेर थप अनुसन्धान गर्ने तयारी गरेको विभाग स्रोतले जानकारी दियो ।

नेम्प्लाई प्लाइउडको नाउँमा कारोबार गर्दै आएको यसले आफूलाई नेपालकै नम्बर १ प्लाइउडको दाबी गर्दै आएको थियो । तर, यसका क्रियाकलाप ठगी धन्दामै केन्द्रित थिए । अनेकौँ फर्जी बिल बनाएर यसले राज्यको ढुकुटीमाथि अक्षम्य घात गरेको थियो । सरकारी संयन्त्रको आँखा छल्न नक्कली बिलमार्फत करोडौँ रुपैयाँको कारोबार गरे पनि यसमाथि प्रभावकारी छानबिन हुन नसकिरहेको आरोप लागेको बेला अनुसन्धान विभागले केन्द्रमा फाइल मगाएर छानबिन गर्न लागेको छ । राजस्वमा अनियमितता गरेका प्रमाणहरू सार्वजनिक हुँदासमेत नियामक निकायले आवश्यक तदारुकता नदेखाउँदा थप चलखेल हुने सम्भावना बढेर गएको भन्दै विभिन्न सम्बन्धित निकायले यसअघि पटक-पटक ध्यानाकर्षण गराएका थिए ।

विगत तीन महिनादेखि विभिन्न सञ्चारमाध्यममा कर छलीसम्बन्धी समाचारहरू प्रमाणसहित प्रकाशित हुँदै आएपछि नेपाली जनताले तिरेको भ्याट सम्बन्धित निकायकै कमजोरीका कारण सरकारको ढुकुटीमा पुग्न नसकेको भन्दै राजस्व विभागले अनुसन्धानलाई प्रभावकारी बनाउन केन्द्रले नै बयान लिने तत्परता देखाएको छ । काठमाडौंस्थित केन्द्रीय कार्यालयले फाइल मगाएर अनुसन्धान गर्न र दोषी ठहरिएमा वा भेटिएमा कुनै पनि सञ्चालक र डिलरलाई नछोड्ने बताएको छ ।

एक वर्षमै २५ करोड राजस्व छली, ८० करोडभन्दा बढीको कारोबारमा कच्चा बिल
एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झण्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो । विष्णु मधगोरिया र रजनीश कर्नानी भगवती मुख्य सञ्चालक रहेका सो कम्पनीले सबैजसो कारोबार अण्डर इनभ्वाइसमा गर्ने गरेको छ । उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अण्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

प्रभावकारी ढंगले छानबिनमा ढिलाइ हुँदा कानुनी छिद्रहरू खोजेर उन्मुक्ति गराउने चलखेल भइरहेकोे हो कि भन्ने आशंकाले बल पाइरहेको बेला अब विभागले केन्द्रमा नै फाइल मगाएर छानबिन गर्न लागेपछि ठगी धन्दाको आरोप लागेको भगवती लेमिनेट्सले उन्मुक्ति नपाउने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?