एकमुष्ठ पन्ध्र किताब

हिमालय टाइम्स
Read Time = 12 mins

✍️ तिलकप्रसाद लुइँटेल

मातातीर्थ औँसी, अर्थात् २०७९ साल वैशाख १७ गतेका दिन टोखा नगरपालिकाको वडा-९ को कार्यालयमा कवि साहित्यकारहरूको मेला थियो । त्यो मेला स्थानीय चुनावको टिकट पाइन्छ कि भन्ने विषयको होइन । त्यहाँ त राष्ट्रिय सुसेली मञ्च नेपालको तेस्रो वार्षिकोत्सव थियो ।

स्रष्टा र स्रष्टा साहित्यकार धेरैको ओइरो लागेको थियो । ठूलै हल मज्जैले भरिएको थियो । किनभने त्यसदिन चौधजना स्रष्टाका चौधवटा सुसेलीका पुस्तकहरू विमोचन गरिनुपर्ने थियो । तय गरेको कार्यक्रम अनुसार नै पुस्तक सार्वजनिक गर्न गराउन सफल भएका सबै लेखकहरूलाई भित्री मनबाट बधाई दिन पाइयो । यिनमा तेह्र स्रष्टाका सुसेली संग्रह बत्तीस पृष्ठका, एउटा अठचालीस पृष्ठको छ र सबै बगलीमा अट्ने छन् ।

ती प्रत्येक किताबमा एक सय एक सुसेली संकलित छन् । चौधजना लेखक र चौधवटै पुस्तक विमोचन भएको हुनाले विमोचनको क्रम संख्याअनुसारै ती संग्र्रहबाट चौधौं सुसेली नै यहाँ अघि सारिएको छ । चौधमध्ये पहिलो विमोचित कृति डा.शैलेन्दुप्रकाश नेपालको ‘पद्मिनी’ सुसेली संगालो हो । पद्मिनीको पन्ध्रौं पृष्ठमा रहेको, सनातन संस्कृतिमा नमस्कार गरेर नै अघि बढिन्छ भन्ने महŒवपूर्ण विचार राख्ने चौधौं सुसेली-
नमस्कार छ
सनातन संस्कृति
पुरस्कार छ ।१४।
चौधमध्ये दोस्रो विमोचित कृति डा. बमबहादुर थापा जितालीको ‘सुरिला नेपाली सुसेली’ हो । यो कृति अठचालीस पृष्ठको छ । विषयगत रूपमा धेरै पटक सुसेलीका क्रमसंख्या दोहोरिएका छन् र धेरै थरि विषयमा पनि सुसेली लेखिएका छन् । तीमध्ये चौतीसौँ पृष्ठमा भएको चौधौं सुसेलीले नेपालको संस्कृति, राष्ट्रियता, ऋतुपरिवर्तन, प्राकृतिक सुन्दरता र जीवजन्तुसम्बन्धी काव्यिक सौन्दर्य समेटेर यसो भन्छ :
काग करायो
डाँफे, क्वैली हरायो
आयो जरायो ।१४।
चौधमध्ये तेस्रो विमोचित कृति मुरलीप्रसाद ढकालको ‘श्रीकृष्ण जन्मलीला’ सुसेली संगालो हो । श्रीकृष्ण जन्मलीलाको पन्ध्रौं पृष्ठमा रहेको, कंसले बहिनी मार्न लागेको र फकाउँदै रोकिएको सन्दर्भमा रचित शृंखला क्रमको चौधौं सुसेली यस्तो छ :
भन्दा रमायो
गर्भ सबै सुम्पन
वाचा गरायो ।१४।
चौधमध्ये चौथो विमोचित कृति दामोदर ढकाल दीपकको ‘जन्मभूमि’ सुसेली संगालो हो । जन्मभूमिको उन्नाइसौं पृष्ठमा रहेको, आफ्नै गाउँ सिकुवा र लुकुवाको भन्ने ठाउँको सुन्दरता वयान गर्दै लेखिएको चौधौं सुसेली यस्तो छ :
लुक्यो लुकुवा
कति राम्रो गाउँ छ
सफा सिकुवा ।१४।
चौधमध्ये पाँचौं विमोचित कृति कमला देवकोटाको ‘सूक्ष्म चक्षु’ सुसेली संगालो हो । सूक्ष्म चक्षुको पन्ध्रौं पृष्ठमा रहेको, आफ्नै देशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक ठाउँको महत्व र सुन्दरता वयान गर्दै लेखिएको चौधौं सुसेली यस्तो छ :
विश्व दीपक
लुम्बिनी क्षेत्र भयो
मनमोहक ।१४।
चौधमध्ये छैटौं विमोचित कृति चन्द्रावती अधिकारीको ‘लमजुङे सुसेली’ सुसेली संगालो हो । लमजुङे सुसेलीको पन्ध्रौं पृष्ठमा रहेको, अस्थायी जीवनको सत्य प्रकट गर्दै आमा र जन्मभूमिको महŒव स्वर्गको जस्तै हो भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ ः
के हो र ज्यान
जननी जन्मभूमि
स्वर्ग समान ।१४।
चौधमध्ये सातौं विमोचित कृति पवनकुमार बुढाथोकीको ‘बेलाको बोली’ सुसेली संगालो हो । बेलाको बोलीको पन्ध्रौं पृष्ठमा रहेको, असत्यले जीवन चल्दैन, नचाहिँदा कुरा र काममा पटक्कै लाग्नु हुँदैन भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
झुटो नबोल
नहुने कुरा जति
केही नखोल ।१४।
चौधमध्ये आठौं विमोचित कृति समीर कार्कीको ‘सुन्दर बिहानी’ सुसेली संगालो हो । सुन्दर बिहानीको पन्ध्रौं पृष्ठमा रहेको, आफ्नो देश सुन्दरताका दृष्टिले कुनै बगैंचाभन्दा कम छैन र यसलाई छोडेर अन्त जान नहुने थियो भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
सुन्दर बाग
आनन्दित भएर
कतै नभाग ।१४।
चौधमध्ये नवौं विमोचित कृति सीता विष्ट कार्की (सीबिका) को ‘सुमार्ग चित्र’ सुसेली संगालो हो । सुमार्ग चित्रको पन्ध्रौं पृष्ठमा रहेको, आमाका सम्बन्धमा विषय शीर्षकसहित आमालाई कहिल्यै बिर्सन सकिन्न भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
पवित्र माया
चित्र बन्छ आमाको
हृदयभित्र ।१४।
चौधमध्ये दशौं विमोचित कृति उत्तम विचारको ‘विचारको बयेली’ सुसेली संगालो हो । विचारको बयेलीको पन्ध्रौं पृष्ठमा रहेको, आमाले विदेश गएका सन्तानको सम्झना गर्दै साँझ बिहानको समय बिताउन बाध्य हुनुपरेको छ भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
बाटो हेरेर
बस्छिन् आमा घरमा
सधैं पिरमा ।१४।
चौधमध्ये एघारौं विमोचित कृति रामप्रसाद अधिकारीको ‘गोरखाली सौरभ’ सुसेली संगालो हो । गोरखाली सौरभको पन्ध्रौं पृष्ठमा रहेको, बार बार नेताले जनतालाई ढाँटेर र कुकर्म गरेको जनताले देखिरहेका छन् भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
बोली फेरियो
नेतृत्वको कुकर्म
सबै हेरियो ।१४।
चौधमध्ये बाह्रौं विमोचित कृति अम्बिका अधिकारीको ‘शुभ साइत’ सुसेली संगालो हो । शुभ साइतको पन्ध्रौं पृष्ठमा रहेको, आकाशतिर हेर्दै बस्ने र अनुगमन नगर्ने हो भने काममा ढिला सुस्ती हुन्छ भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
आकाश नीलो
गरे अनुगमन
काममा ढिलो ।१४।
चौधमध्ये तेह्रौं विमोचित कृति केशव ढकाल ‘प्रीतबीज’ को ‘प्रेमिल सुसेली’ सुसेली संगालो हो । प्रेमिल सुसेलीको पन्ध्रौं पृष्ठमा रहेको, कल्याणको भावना राखेर काममा लाग्दा ईश्वरीय कृपा पाइन्छ भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
शिव बोलेर
आज वर मागियो
दिल खोलेर ।१४।
चौधमध्ये चौधौं विमोचित कृति सुचिता काफ्लेको ‘लेक बेँसी’ सुसेली संगालो हो । लेक बेँसीको पन्ध्रौं पृष्ठमा रहेको, संसारमा कोही पनि सधैँ रहँदैन र यहाँ आउनेजानेहरूको क्रम चलिरहन्छ भन्ने भावमा लेखिएको चौधौं सुसेली यस्तो छ :
साटो फेरेर
जानुपर्छ अब त
बाटो हेरेर ।१४।
यसरी एउटै कार्यक्रममा चौधवटा सुसेली संग्र्रहको विमोचन भइसकेपछि उसै मञ्चको निरन्तरतामा पन्ध्रौं कृति विमोचन भयो । यसलाई ‘साकारात्मक सोचको उपजका दुई कृति’ भन्ने नाम दिइएको छ । दुई कृति जीवन साथी र उतार हुन् भन्ने देखिन्छ । ती दुई कृतिका लेखक टंकबहादुर बजगाईं खत्री हुन् र कृति पनि सुसेली संग्र्रह नै हुन् भन्ने थाहा लाग्यो । त्यसदिन विमोचित यो पन्ध्रौं कृति समीक्षक वासुदेव गुरागाईंबाट लिखित हो ।

सुसेली मञ्च नेपालका अध्यक्ष तथा सुसेली प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख आतिथ्य विशिष्ट आख्यानकार माया ठकुरीको रहेको थियो भने वेदज्ञाता तिलकप्रसाद लुइँटेल, लोकगायिका चन्द्रकला शाह, सुसेली मञ्चका संरक्षक तेजप्रकाश बानियाँ, टोखा नगरपालिका वडा-९ का अध्यक्ष जेपी नेपाल आदि विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । सबै लेखकहरूले आ–आफ्नो छोटो लेखकीय मन्तव्य प्रस्तुत गरेका थिए भने अतिथिहरू र प्रमुख अतिथिबाट सुसेलीका विषयमा महत्वपूर्ण विचार प्रस्तुत गरिएको थियो । लोकलयका सुसेली गायनका क्रममा नाचेर कविहरूले कार्यक्रमको रौनक थपेका थिए । समग्रमा यी सबै सुसेली संग्र्रहहरू पठनीय रहेका छन् । कृतिकारहरू सबैलाई धेरै बधाई तथा धेरै शुभकामना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?