बदलिएको जमाना, फेरिएको सोच

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 12 mins

युग बदलिएको छ । पहिलेका मूल्यमान्यता हराउँदै गएका छन् भने नयाँ नयाँ मान्यताहरू स्थापित हुँदै गएका छन् । सिद्धान्त र आदर्श जस्ता कुराहरू किताबमा र भाषणमा सीमित हुँदै गएका छन् भने सिद्धान्तनिष्ठ र आदर्शवादीहरू समाज नबुझेका मानिस जस्ता बन्दै गएका छन् । सदाचारमा प्रतिबद्धहरू म्युजियममा राख्नुपर्ने जस्ता हुँदै गएका छन् भने फट्याइँ गर्न सिपालु, लुच्चा, हाटहुटे र भ्रष्टाचारीहरूका दिन खुल्दै गएका छन् । समाजको अगुवाइ त्यस्तै टापटिपेहरूले गर्नथालेका छन् । नेपालका हरेक संस्थाहरू त्यस्ता अवसरवादीका हातमा जान थालेको पाइन्छ । सोझासाझाहरू मूकदर्शकका रूपमा टुलुटुलु हेर्न बाध्य छन् । योगदान भएका सिधासादाहरू मौन र विना योगदानका टपरटुइयाँहरूको राज चल्ने गरेको छ ।

त्यस्तै सज्जनहरू मध्येमा नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) अन्तर्गतको वाल्मीकि विद्यापीठमा संस्कृत व्याकरण पढाउने भीमप्रसाद कण्डेल र धर्मशास्त्र पढाउने डा.वासुदेव खनाल पर्दछन् । दुवैजना सहप्राध्यापक छन् र आआफ्ना विषयमा अब्बल मानिएका छन् । वासुदेव खनाल कहिलेकाहिँ आफूलाई राजनीतिक प्राणी भएको प्रमाणित गर्न प्रयत्न गर्दछन् भने भीम कण्डेल सामान्यतः राजनीतिमा कुनै चासै नभएका जस्ता देखिन्छन् । यी दुईको विद्यार्थी जीवनका बारेमा पूर्णतः अनभिज्ञ जो कोहीले पनि यी दुवै विद्वान्लाई गैरराजनीतिक विद्वान् ठान्दछन् ।

विसं २०४२ सालताका नेसंविको दाङस्थित जनता विद्यापीठमा छात्रावासको एउटै कोठामा बसेर यी दुई अध्ययन गर्दथे । दुवैजना नै विद्यार्थी जीवनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को संगठन विस्तारमा अत्यन्त सक्रिय थिए । विद्यापीठमा नयाँ विद्यार्थी कोही भर्ना हुन आएको देख्ने बित्तिकै हत्तपत्त उसको झोला बोकेर आफ्ना कोठामा ल्याउने गर्दथे र बेलुकीको खानाको व्यवस्था गरी नेविसंघका बारेमा बुझाई सदस्यता प्रदान गर्ने गर्दथे तर यी दुई हालसम्म कुनै पद नलिएका कारण त्यत्तिकै हराएका जस्ता भएका छन् ।

डा. खनाल र कण्डेल विद्यार्थी जीवनमा आफ्नो भविष्य हत्केलामा राखेर उत्रिए पनि अहिलेका नेता भनिएकाहरूका अगाडि कुनै योगदान नभए जस्ता देखिएकाले यी दुई विद्वान्लाई उद्धरण गरिएको हो । यस्ता अनकौं पात्रहरू भए तापनि उदाहरणका लागि अहिलेलाई यी दुईलाई मात्र प्रस्तुत गरिएको हो ।

विसं २०४३ ताका नै जनता विद्यापीठमा नेपाल विद्यार्थी संघको एकाइ गठन हुँदा सदस्य बनाउने भनिएकी एकजना अधिवेशनका दिनमा अनुपस्थित भइछन् । अघिल्ला दिन सरसल्लाह हुँदा सहमति जनाएकी उनी घरमा के सल्लाह भएछ कुन्नि भोलिपल्ट आइनन् । कांगे्रसी परिवारकी भनेर उनलाई राख्न तयार गरिएकामा नआएपछि सो स्थानमा वासुदेव खनाल बसेका थिए । अहिले फर्जी भोटर तयार गरेर संघ संगठन कब्जा गर्ने परिपाटी आरम्भ भएको छ तर त्यतिबेला अनुपस्थित भएकै कारण सदस्यमा समेत राखिएन । त्यो समयमा विधान, नियम आदिको पूर्णपालना हुन्थ्यो तर अहिले जसले विधान मिचेर अघि बढ्न सक्यो उसका हाई हाई हुने दिन आएका छन् ।

ती भीम र वासुहरूलाई ठूला पद त के वाल्मीकि विद्यापीठको सहायक प्राचार्य बनाऊँ न त भन्यो भने पनि यस्ता सोझाहरूबाट कहाँ चल्छ भन्नेहरू थुपै्र निस्कन्छन् । प्राध्यापक संघका सदस्यमात्र बनाउन खोजे पनि उनीहरू जस्तालाई पछि पार्ने प्रवृत्ति बढ्दै गएको छ । किनभने त्यस्ता व्यक्तिहरू पदमा पुगे भने लुच्याइँ र फट्याइँ जान्दैनन् । फलतः संस्था नियमबमोजिम चल्दछ । नियमबमोजिम चल्दा स्वार्थ समूहहरूका चाहना पूरा हुन सक्दैन । संस्था त जसले बढीभन्दा बढी नियम मिच्न सक्दछ उसका हातमा दिनुपर्दछ भन्ने मान्यताको विकास हुँदै गएको पाइन्छ ।

विसं २०४६ पछि कांग्रेसमा आएका, जागिर पाउने आशाले कांगे्रसको सदस्यता लिएका, कुनै स्वार्थ सिद्धि गर्न प्रजातन्त्रवादी बनेकाहरूले भीम–वासुहरू जस्ताका बारेमा निर्णय गर्ने समय आएको छ । आज प्रजातन्त्रवादी भोलि प्रगतिशील र पर्सि क्रान्तिकारी हुन सक्नेहरूका हातमा संघसंस्था र संगठनहरू जान थालेका छन् । प्रजातन्त्रवादीहरूमा मात्र यस्तो होइन कि सबैतिर यस्तै प्रवृत्ति हावी हुँदै गएको पाइन्छ । यही क्रम चलिरहे भविष्यका बारेमा दैवले पनि बताउन नसक्ने दिन आउने निश्चित छ ।

विचरा भीम र वासुहरूले आजसम्म रूख चिहृनबाहेक अन्यत्र कतै मतदान गरेका छैनन् । यो पंक्तिकारले बाध्यतावश यसपटक कलममा भोट हाले झैँ उनीहरूले पनि केही गरेका भए थाहा छैन तर उनीहरूको आस्था प्रजातन्त्रबाट हटेको छैन र मतदान गर्ने चाहना रूखमा मात्रै छ । लोकतन्त्रले उनीहरूलाई दिएको भनेको स्वतन्त्रता र रूखले उनीहरूलाई दिएको भनेको सन्तुष्टिमात्रै हो र पनि उनीहरू नेपाली कांग्रेस पार्टीसँग पूर्णतः सन्तुष्ट देखिन्छन् । बारम्बार पदमा पुगेकाहरूमा असन्तुष्टि पलाउँदै गएर केही समय मात्र खाली बस्दा पनि रोगी हुन पुगेका छन् र कांगे्रसले केही दिएन भन्दै पार्टीलाई र नेताहरूलाई गाली गर्ने गरेको पाइन्छ तर उनीहरूले नेपाली कांगे्रसको ताबेदारी गर्नुबाहेक केही पाइन भनेर कांग्रेसलाई तथानाम भनेको कहिल्यै सुनिएको छैन ।

यी दुई पात्र उदाहरणका लागि मात्र लिइएको हो । लोकतन्त्र र नेपाली कांगे्रसमा अगाध आस्था राख्ने यस्ता पात्रहरू हजारौं छन् । नेपाली कांगे्रसले लोकतन्त्र पदमा गएकाहरूले जोगाएको ठानेको होला तर आजसम्म लोकतन्त्रप्रति ठडिएका औंलाहरू निहुरिएका यस्तै पात्रहरूका कारणले हो । गाडीमा हुँइकिएर नेताका घरघरमा धाउनेहरूले जोगाएको ठानिएको होला, त्यस्तो ठानिएको छ भने त्यसभन्दा ठूलो भूल केही हुने छैन । नेपाली कांगे्रसको लोकप्रियता दिनानुदिन घट्न नदिने पात्रहरू भीम प्रवृत्ति भएकाहरू नै हुन् ।

नेपाली कांग्रेसमात्र होइन, नेपालका सबै जसो पार्टीमा हालीमुहाली गरेकाहरू कुनै पनि गर्व गर्न लायक देखिँदैनन् । कुनै कुनैबाहेकका संघसंस्थाहरूका नेतृत्व पनि प्रशंसा गर्न लायकको पाइँदैन । यद्यपि यी राजनीतिक दलहरू र संस्थाहरूमा यस्तै केही पात्रहरू छन्, जसका कारण जीवित छन् । राजनीतिक दलहरू र संघसंस्थाहरूमा देखिएका चल्तापूर्जाहरू जस्तामात्रै भएका भए ती सब दलहरू र संस्थाहरू उहिल्यै लोप भइसकेका हुने थिए भन्न हिच्किचाउनु पर्दैन । साँच्चै गरी लोकतन्त्रलाई सबल बनाउने र आदर्श समाजको परिकल्पना गर्ने हो भने सिद्धान्तनिष्ठ र आदर्शवादीको कदर गर्न अब ढिला गर्नु नहुने भइसकेको छ ।

एउटा गुटले मन्त्री नदिए अर्को गुटमा जाने, एउटा पार्टीले सांसद नबनाए अर्को राजनीतिक दलमा प्रवेश गर्ने, सधैं अवसरको खोजीमा मात्र रहनेहरू आजभोलि दलका हर्ताकर्ता देखिन्छन् । अवसर नपाएका सदैव रित्तै रहनुपर्ने र एकचोटि अवसर पाएकाले अर्को पटक पाएन भने ऊमाथि अन्याय भयो भन्ने गरको सुनिन्छ । अवसरको सीमा कति हो र ऊ कहिले सन्तुष्ट हुन्छ भन्ने कुराको कुनै सीमा कोरिएका पाइँदैन । वीरभोग्या वसुन्धरा भने झैं एउटा सधैं भान्सामा र अर्का सधैं पिँढीमा रहेको देख्नु सामान्य भइसकेको पाइन्छ ।

मन्त्रीको मात्र कुरा होइन, विश्वविद्यालयमा समेत क्याम्पस प्रमुख सिद्धिने बित्तिकै परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रक चलाइसक्ने बित्तिकै डिन, डिनको पदावधि नसकिँदै रजिष्ट्रार, त्यसपछि शिक्षाध्यक्ष, उपकुलपति आदि अनिवार्यतः चाहिन्छ । खाने बेलामा अघिल्लो पद चाकडी, चाप्लुसी र दौडधुप गरेर खान्छन् अनि पदावधि सकिएको भोलिपल्टदेखि अघिल्लो पद आफूलाई जबर्जस्ती लादिएको हुँदा ठूलो पद जसरी पनि चाहियो भन्ने जिरह गरिरहन्छन् । यसरी माथिल्लो पदमा नियुक्ति नभएसम्म उसले आफूमाथि अन्याय भएको चिच्याहट गर्दै हिँडिरहन्छ । सहायक क्याम्पस प्रमुखसमेत नभई कति जना बिदा भए भन्नेतर्फ चाहिँ उसको मात्र होइन, समाजको आँखा पुग्ने गरको पाइँदैन ।

समाज तिनैका पछि लाग्ने गरेको पाइन्छ जो अवसरको भोगी छ, उसकै जयजयकार गर्ने गर्दछन् । जो धनवान् छ, चाहे भ्रष्टाचारी नै किन नहोस्, उसकै पछि मान्छेको भीड देखिन्छ । समाज पूरै बदलिएको छ । समय पूरापूर फेरिएको छ तर नकारात्मकतातिर । सकारात्मक बाटो कहिले समात्ने हो र नेपाली समाजलाई समृद्धिका मार्गमा कहिले हिँडाउने हो ? पर्खाइ त्यसैको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
अर्जुन आचार्य
अर्जुन आचार्य
2022-06-30 9:47 am

सामयिक उत्कृष्ट लेख,नमन लेखक प्रति

छुटाउनुभयो कि ?