बागलुङमा २० प्रतिशत मात्रै रोपाई

हिमालय टाइम्स
Read Time = 3 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार यस वर्ष मनसुन छिटै सक्रिय भएपछि रोपाई छिटो शुरु भएको हो ।

किसानहरूले पानी परेपछि अहिले धमाधम धान रोपाई गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाई सकिने ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

अहिले किसानहरू धान रोपाईमा व्यस्त छन् । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भनुभक्त भट्टराईका अनुसार गलकोट लगायतको क्षेत्रमा असार अघिनै धान रोप्ने गरे पनि मकै लगाएको अधिकांश क्षेत्रमा ढिलो रोपाई गर्ने गरेको बताउनुभयो ।

‘धानखेतीका लागि राम्रो जग्गा मानिने गलकोट आसपासमा अधिकांश रेपाई सकिएको छ, तर चैते धान हुँने बागलुङ नगर क्षेत्र र मकै उत्पादन हुँने जैमिनी आसपासको क्षेत्रमा धान रोप्न बाँकी रहेको छ बागलुङमा ढिलो नै रोपाई हुन्छ, अहिले धमाधम रोपाई चलिरहेको छ, किसानले मल अभावमै खेत रोपाई शुरु गरेका हुन्’ ढकालले भन्नुभयो ।

बागलुङमा मुख्य बालीको रुपमा रहेको धान खेती ६ हजार १२२ हेक्टर जमिनमा हुँने गरेको छ । जसमध्ये मध्यअसारसम्म एक हजार २०० हेक्टर जमिनमा धान रोपाई सम्पन्न भएको छ ।

जिल्लाको तल्लोभागमा दुई पटक धानखेती हुन्छ । किसानलाई अहिले चैते धान भित्राउने समेत चटारो छ ।

बागलुङमा कुल ६ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकोमा त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती हुने गरेको छ ।

यस वर्ष छिट्टै मनसुन सुरू भएसंगै बागलुङका किसानहरूले चाँडै रोपाई गर्न पाएका छन् । अघिल्ला वर्षहरूमा अधिकांश स्थानमा मध्य असारबाट धान रोपाई बल्ल सुरु हुने गर्दथ्यो ।

जिल्लाका अधिकांश धानखेती हुने स्थानमा सिचाईको व्यवस्था छैन । सिंचाई नपुगेको स्थानमा किसानहरूले मुलफुटेपछि मात्रै रोपाई गर्ने गरेका छन् ।

जिल्लामा विशेष गरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, गुडुरो र झिनुवा लगायतका धान खेती हुँदै आएको छ । बागलुङको बलेवा स्थित दम्का फाँट, गलकोट, रेश, मुलपानी, सिगाना र जैमिनी लगायतका क्षेत्रमा बढी मात्र धान खेती हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?