साउदी अरेबियामै रोकियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो

हिमालय टाइम्स
Read Time = 3 mins

खोटाङ । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् । साउदी अरेबियामा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको आफन्तले गुनासो  गरेका हुन् ।

रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडौं एचआर सोलुसन प्रा.लि.मार्फत साउदी अरेबिया पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राईले गुनासो गर्नुभएको छ । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुग्नुभएको छ । उहाँ हाल बच्चा च्यापेर आफन्तसँग मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहनुभएको छ ।

मेनपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक - पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताउनुभयो । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौ पटक मेनपावर धाइसक्यौं,’ राईले भन्नुभयो, ‘दूतावासले सहयोग गरिरहेकै छ तर मेनपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन मेनपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?