पाल्पामा ४५ प्रतिशत रोपाइँ सकियो

हिमालय टाइम्स
Read Time = 3 mins

-रामचन्द्र रायमाझी

पाल्पा । असार महिना किसानका लागि ‘मानो छरेर मुरी उब्जाउने’ समय हो । नेपालको मुख्य खाद्यान्न बाली धान हो । यसको रोपाइँ पनि यही महिनामा हुने भएकाले यतिबेला किसानको दैनिक फेरिएको छ । उनीहरू बिहानदेखि साँझसम्म खेतमै व्यस्त देखिन्छन् ।

असार लागेसँगै पाल्पाका विभिन्न ठाउँमा रोपाइँ भइरहेको छ । यहाँ असारको मध्यसम्म करिब ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । जिल्लाका सबैजसो स्थानमा रोपाइँ भइरहेको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ भइरहेको कृषिज्ञान केन्द्र पाल्पाले जनाएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट नै धान रोपाइँ भएको हो ।

यतिबेला जिल्लाका अधिकांश ठूला ठूला फाँटहरूमा किसानहरू रोपाइँमा व्यस्त भएका छन् । यहाँका अधिकांश किसानहरूले आधुनिक कृषियन्त्रहरूको प्रयोग गरेका छन् भने टारी खेतहरूमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन पाल्पामा रहेको छ ।

पाल्पाका ठूला फाँटहरू रामपुर, झडेवा, माँडी, कचल, अर्गली, हुंगी, सर्देवा, छेर्लुङ चहला फाँटहरूमा प्रशस्त मात्रामा धान खेती हुने गरेको छ । अहिले पानी परेकाले यहाँका टारी खेतहरूमा पनि रोपाइँ सुरु भएको छ । गाउँघरमा परिवारका सदस्यहरू मिलेर, ज्यालादारी गरेर अर्मपर्म गर्दै कृषकहरू खेतीपातीमा जुटेका छन् ।

जिल्लाको आठ हजार ६२० हेक्टरमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताउनुभयो । उहाँका अनुसार अहिले माथागढीको झेडवा, सराइ फाँट, तानसेनको अर्गली, माडीफाँट, पूर्वखोलाको रिङनेरह, रामपुर, तिनाउ, रैनादेवी छहराका फाँटहरूमा धामाधम रोपाइँ भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?