जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउछुः अध्यक्ष साह

हिमालय टाइम्स
Read Time = 4 mins

-पुरन साह

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा नियुक्त हुनुभएका शीतल साहले पदभार ग्रहण गर्नुभएको छ । उहाँले बिहीबार पदभार ग्रहण गर्नुभएको हो ।

परिषद् अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अध्यक्ष साहले सबै पक्षसँग सहकार्य गरेर जनकपुरधामलाई धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनाउने बताउनुभयो ।

‘जनकपुरधाम आफैँमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर हो’, अध्यक्ष साहले भन्नुभयो, ‘यहाँका धार्मिक र सांस्कृतिकस्थलको संरक्षण सम्बद्र्धन गर्दै जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु मेरो मुख्य लक्ष्य हो ।’

पदभार ग्रहण गरेलगत्तै साहले वर्षाैंदेखि जीर्ण रहेको जनकपुरधामस्थित रामायण भवनलाई जीर्णाेद्वार गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

धार्मिक र ऐतिहासिक भवन भए पनि उपेक्षाका कारण हालसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेकाले यसलाई मर्मतसम्भार गरी जीर्णोद्वार गर्ने आफूले पहिलो निर्णय लिएको अध्यक्ष साहले बताउनुभयो ।

पत्रकारिताको क्रममा आफूलाई धेरै समस्या र चुनौतीहरू जानकारीमा रहेकाले आफू सक्दो सुधारका कामहरू गर्ने बताउँदै साहले यसमा सबैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

साह नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य र कोषाध्यक्षसमेत रहिसक्नु भएको छ । सो अवसरमा परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरसहित कर्मचारी, नेकपा एसका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

रेडियो जनकपुरका सञ्चालकसमेत रहनुभएका साह लोकप्रिय रेडियो कार्यक्रम ‘दलान’का प्रस्तोतासमेत रहेको र परिषद्का काम, कारबाही र विकृतिहरूका बारेमा पनि विशेष जानकार व्यक्ति रहेकाले परिषद्को सुधार र विकासका लागि केही गर्ने उपमहानगरपालिकावासीको अपेक्षा छ ।

साहलाई नेपाल सरकारले बुधबार परिषद्को अध्यक्षमा नियुक्त गरेको थियो । विसं २०४९ मा स्थापना भएको सो परिषद्ले धनुषा र महोत्तरीको धार्मिक र पर्यटकीयस्थलको संरक्षण, सम्बद्र्धन तथा सौन्दर्यकरणको कार्य गर्दै आएको छ । यसका साथै मिथिला क्षेत्रमा प्रसिद्ध १५ दिने मिथिला मध्यमा परिक्रमालाई व्यवस्थित बनाउने र साथै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यसमेत सो परिषद्ले गर्दै आएको छ ।

परिषद्मा धनुषा र महोत्तरी जिल्लाका सांसद, नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख गरी ३२ सदस्य रहने व्यवस्था छ ।

जनकपुर तथा महोत्तरीको धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका मठ मन्दिर, गुम्बा, मदरसा आदिको संरक्षण सम्बद्र्धन, भाषा, साहित्य, कला, संस्कृतिको उत्थान तथा भौतिक पूर्वाधार आदि निर्माण गर्नु परिषद्को उद्देश्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?