साफ कांग्रेसमा राईले नेपालको नेतृत्व गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) को साधारणसभामा नेपाली टोलीको नेतृत्व अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले गर्ने हुनुभएको छ । २ जुलाईदेखि बंगलादेशको ढाकामा हुने कांग्रेसमा एन्फा महासचिव राईसँगै सदस्य विकासनारायण श्रेष्ठ र ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) अध्यक्ष सुन्दर नरसिंह जोशी पनि ढाका प्रस्थान गर्नुभएको छ ।

महासचिव राईले कांग्रेसमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना गराउने प्रस्ताव औपचारिकरूपमा पेश गर्ने जानकारी दिनुभयो । एन्फाले नेपालमा महिला साफ च्याम्पियनसिपको आयोजना गर्ने लक्ष्य लिएबमोजिम नेपालले उक्त प्रस्ताव पेश गर्न लागेको हो ।

नेपालले यसअघि पनि महिला साफ च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ । यसअघि नेपालले दुई वर्षअघि विराटनगरमा महिला साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । भारतले उपाधि जित्दा नेपाल उपविजेता बनेको थियो ।

गत जनवरीमा भएको साफको साधारणसभाले विभिन्न उमेर समूहका प्रतियोगिताको मिति तोके पनि साफ च्याम्पियनसिपको मिति भने तय गरेको थिएन । त्यतिबेला पनि नेपालले अगस्ट १२-२४ सम्म (साउन २७ देखि भदौ ८) सम्म नेपालमा महिला साफ च्याम्पियनसिपको आयोजना गर्न प्रस्ताव राखेको थियो । उक्त प्रस्तावलाई यसपटक पनि नेपालले औपचारिकरूपमा राख्न लागेको हो ।

साफको यो साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नेछ । नेपालले नयाँ कार्यसमिति चयन गर्दा मताधिकार प्रयोग गर्नुका साथै एनआरटीका अध्यक्ष जोशीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?