सेयर बजार फेरि उचाइमा

Read Time = 3 mins

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने दिन नजिकिएसँगै सेयर बजार झण्डै ७५ अर्थात् ७४.९३ अंकले बढेको छ । बिहीबार नेप्से बढेर २०३७.६४ अंकमा पुगेको छ भने कारोबार रकम पनि दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार रुपैयाँमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सेयर बजारका समस्या सम्बोधन गर्ने अपेक्षासँगै सेयर बजार पनि बढेको बताइन्छ ।

यस दिन दुई सय २७ कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर कारोबार भएकोमा १६ कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आठ प्रतिशतले मूल्य बढ्ने कम्पनी १२ र सात प्रतिशतले मूल्य बढ्ने कम्पनीको संख्या १४ रहेको छ । तर, छवटा कम्पनीको सेयर मूल्य भने घटेको छ ।

शिवम् सिमेन्टको सर्वाधिक नौ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य ६९ रुपैयाँले बढेर प्रतिकित्ता सात सय ७४ रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा हिमालयन डिस्टिलरीको सात करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सुरुदेखि उकालो लागेको बजारमा ११ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत्, न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाइसिएल लघुवित्त र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८७, शिवम् सिमेन्ट ९.७९, रिलायन्स फाइनान्स ९.६३, नेपाल पुनर्बिमा कम्पनी ९.५० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.५४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूह ३७८.२० अंकले बढेको छ भने सबैभन्दा कम म्युचुअल फन्ड ०.३८ ले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?