शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ स्थित राम माध्यमिक विद्यालयले एक कक्षाकोठा, एक खानेपानी धाराको अवधारणा ल्याएको छ । विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको सहजताका लागि उक्त विद्यालयले यस्तो अवधारणा ल्याएको हो । कोहलपुरमै पहिलोपटक नौलो प्रयोगका रूपमा राम माविले यो अवधारणालाई कार्यान्वयनमा समेत ल्याइसकेको छ ।
प्रधानाध्यापक जितेन्द्र यादवका अनुसार नयाँ अवधारणा कार्यान्वयन र निर्माणकै चरणमा छ । नयाँ अवधारणाअनुसार नौवटा धारा निर्माण भइसकेको उहाँको भनाइ छ । कक्षाकोठाकै व्यक्तिगत धारा निर्माण गरिएको उहाँले बताउनुभयो । केही धारा अझै पनि निर्माणको चरणमै छन् । उक्त विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म पढाइ हुन्छ । त्यहाँ ११ सयजना विद्यार्थी अध्ययनरत छन् ।
प्रत्येक कक्षालाई धारा बनाउँदा कुल २२ वटा धारा आवश्यक छन् । हाल प्रयोगमा आएका धारा चालु आर्थिक वर्षमा विद्यालयले प्राप्त गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत हो । ती धारा निर्माण गर्न कुल चार लाख नौ हजार लागत लागेको छ । धारा निर्माणको लागि विद्यालयले नौ हजार रुपैयाँ थप गरेको थियो । ‘विद्यालयमा धेरै विद्यार्थी छन् । धारा कम हुँदा धेरै भिड लाग्थ्यो । शैक्षिक गुणस्तर कायम गर्न पनि यस्तो अवधारणा अघि सारिएको हो’, उहाँले भन्नुभयो ।
ती धारा बालमैत्री छन् । फिल्टर गरेको पानी हो । उहाँले प्रत्येक कक्षाकोठाको व्यक्तिगत धारणा निर्माण गरिएको बताउनुभयो । उक्त धाराबाट आउने पानीको लागि विद्यालयभन्दा बाहिरको आफ्नै जग्गामा पोखरी निर्माण गरिएको छ । हाल अन्य कक्षाको लागि धारा निर्माण गर्नको लागि आर्थिक अभाव भएको यादव बताउनुहुन्छ ।
धारा निर्माण गरेपछि विद्यार्थीहरूको भिडभाड मात्रै कम भएको छैन । त्यसको प्रत्यक्ष प्रभाव शिक्षण र सिकाइ क्रियाकलापमा समेत परेको यादव बताउनुहुन्छ । फिल्टर सहितको पानी त्योे पनि कक्षाकोठाकै अगाडि पाउँदा विद्यार्थी खुसी छन् । कक्षा अगाडि निर्माण गरिएको धाराको पानी पिउँदै गर्नुभएकी एक छात्राले भन्नुभयो, ‘पहिला खानेपानीको दुःख थियो । एउटै धारामा भिड लाग्नुपर्ने अवस्था थियो । अहिले भने धेरै सजिलो भएको छ ।’ विद्यार्थीकै लागि भनेर विद्यालयले कक्षाकोठा अगाडि नै बालमैत्री धारा निर्माण गरिदिँदा विद्यार्थीहरूमा उत्साह थपिएको छ । अब कुनै पनि विद्यार्थीले खानेपानी पिउनकै लागि भिडमा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा विद्यालय रहेको छ ।
विद्यार्थीको अनुपातमा भवन अभाव
राम माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म पढाइ हुन्छ । यहाँ कुल ११ सय विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक यादवका अनुसार कक्षा १ देखि ५ कक्षासम्म एउटा कक्षामा तीनदेखि चार दर्जनसम्म विद्यार्थी छन् । कक्षा ६ देखि १० सम्म भने एउटै कक्षामा खचाखच विद्यार्थी रहेको उहाँको भनाइ छ । त्यहाँ एउटै कक्षामा एक सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । एउटै कक्षाको सेक्सनमा ७५ जनासम्म पनि विद्यार्थी रहेको विद्यालय बताउँछ । विद्यार्थीको अनुपातमा कक्षा कोठा भने उक्त विद्यालयमा अभाव देखिएको छ ।
‘पुरानो एउटा बिल्डिङ जीर्ण बनेको छ । एउटा नयाँ बनाउँदै छौँ । हाल चारवटा भवन छन् । तर अझै अपुग छ’, उहाँले भन्नुभयो ।
विद्यालयको भवन प्रशस्त हुँदा पनि आर्थिक अभावका कारण संरचना निर्माण हुन नसकेको हो । अहिले उक्त विद्यालयमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको आर्थिक सहयोगमा चार कोठे विद्यालय भवन निर्माणाधीन अवस्थामा छ । आगामी आवबाट प्रयोग गर्न मिल्नेगरी उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो । उक्त भवनको अधिकांश संरचना निर्माण भइसकेको र रंगरोहन गर्न र हस्तान्तरण हुन बाँकी रहेको यादवले बताउनुभयो । यता, वडा नम्बर १४ का अध्यक्ष नमबहादुर आलेले राम माविलाई गुणस्तरीय शिक्षा आर्जन गर्ने थलोका रूपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका