जसपा नेपाल फेरि विभाजनको संघारमा, समझदारीमै अलग हुँदै यादव र भट्टराई

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सहमतिमै विभाजन हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुने सहमति भएको हो । डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राख्नुभएको थियो । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरूप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।

त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । उपेन्द्र यादव पक्षका नेताहरूले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । यादव र भट्टराईबीच गालीगलौजमा उत्रनुभन्दा सहमतिमै अलग बाटोमा लाग्ने सहमति बनेको जसपा नेता प्रदीप यादवले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘एउटै पार्टीमा बसेर कति हिलो छ्यापा–छ्याप गर्ने ? यसरी बस्नुभन्दा अलग भएर बसौँ भन्ने सहमति हो,’ उहाँले भन्नुभयोे, ‘दुवै नेताले अलग हुनु उपयुक्त हुन्छ भन्ने निर्णयमा पुगेपछि सहमतिमै अलग–अलग बाटोबाट अघि बढ्ने भन्ने सहमति भएको छ ।’ अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईले अलग बाटो रोजे पनि अन्य नेताहरूलाई आफूखुसी बाटो लिने सहमति बनेको एक नेताले बताउनुभयो ।

‘हिजो सहमतिमै पार्टी एकता भएको हो, अहिले पनि सहमतिमै छुटौँ भन्ने अध्यक्षज्यूको कुरा हो,’ ती नेताले भन्नुभयोे, ‘बिदा भएर जानेलाई हामीले कारबाही नगर्ने भनेका छौँ । पार्टी अलग भएपछि उहाँहरूबीच सहकार्य हुन्छ भन्ने नै छ ।’ सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिनुभएका उहाँनिकट स्रोतले बतायो । नेताहरूका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरूलाई कता जाने हो रोज्न दिने भनिएको छ ।

जसपाका नेताहरूका अनुसार अहिले पार्टीको नाम र चुनाव चिन्ह उपेन्द्र पक्षसँगै हुनेछ भने बाबुरामले नयाँ दल खोल्नुहुनेछ । बाबुराम जसपाबाट छुट्टिएपछि उहाँसँग को–को सांसद तथा केन्द्रीय कार्यकारिणी सदस्य जालान् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । बाबुरामको पक्षमा लाग्ने भनेर अहिलेसम्म कुनै पनि सांसद तथा जसपा नेताले सार्वजनिक रूपमा बोलेका छैनन् । उपेन्द्र समूहले भने सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जान सक्ने अनुमान गरेको छ । यसअघि सांसदहरू मोहम्मद इस्तियाक राई, प्रदीप यादव, रामबाबुकुमार यादव, सुरेन्द्रकुमार यादवलगायत पनि बाबुरामका पक्षमा उभिनुभएको थियो । अध्यक्ष उपेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा उभिनुभएका उहाँहरूले बाबुरामले पार्टी नै विभाजन गर्ने प्रस्ताव गरेपछि भने साथ छोडेको स्रोतको दाबी छ । दुई निलम्बितसहित जसपामा अहिले २१ जना प्रतिनिधिसभा सदस्य छन् ।

३४ सदस्यीय जसपाको कार्यकारिणी समितिमा पनि बाबुरामको पक्षमा बहुमत पुग्ने सम्भावना छैन । कार्यकारिणी समितिमा अहिले ३२ जना छन् । तीमध्ये महिन्द्र राय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, अमृता अग्रहरी, रामनरेश राय यादव, हिसिला यमी, हेमराज राई, गंगा श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह, दुर्गा सोब, भक्तबहादुर साह बाबुरामतिर रहेको उपेन्द्र यादव पक्षको अनुमान छ ।

यसअघि बाबुरामको पक्षमा रहनुभएका नवलकिशोर साह, गजाधर रोहिता यादव र मोहम्मद इस्तियाक राईले उहाँको साथ छोडिसकेको बताइएको छ । पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो । पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो । उहाँले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गर्नुुभएको थियो । त्यसका लागि यादव तयार हुनुभएन । गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खाली थियो ।

यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उहाँ झण्डै बहुमतनजिक पुग्नुभएको थियो । तर, यादवलाई हटाउन नसके विभाजनका लागिसमेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उहाँलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ ।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो । एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो । संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो ।

केन्द्रीय समिति बैठक वीरगञ्जमा बोलाइयो
जनता समाजवादी पार्टीको विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै वीरगञ्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभएको छ ।

जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेश प्रदेशको वीरगञ्जमा हुने जानकारीसहित विज्ञप्ति जारी गरिएको छ । पछिल्लो समय दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि जसपा नेपाल फेरि विभाजनको संघारमा पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?