अर्थतन्त्रलाई श्रीलंकापथबाट जोगाउने नागरिक जिम्मेवारी

Read Time = 15 mins

✍️ शम्भु कोइराला

नमागिएको सल्लाह :
गतसाता राष्ट्रिय परिवेशमा चर्चामा रहेका पाका बुद्धिजीवीले सामाजिक सञ्जालमार्फत महिना नै तोकेर नेपाल टाट पल्टने भनेर सामाजिक ट्वीट गरे । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्रलाई हचुवा टीकाटिप्पणी गरेका कारण युवाहरूमार्फत आलोचना खेपिरहेका बुद्धिजीवी मित्रले यसमा पनि भरमार आलोचना खेपे । अब प्रश्न उठ्छ जिम्मेवार व्यक्तिहरूले यो महिना मुलुक टाट पल्टदैछ भनेर समाजलाई अत्याउनु राम्रो हो ? यो नैतिक काम हो ? मुलुक टाट पल्टिनबाट जोगाउने उपाय सुझाउनु कर्तव्य होइन र ?

हुन त उनले कुनै अर्थशास्त्रीको हवाला दिएर त्यो कुरा बताएका थिए । त्यसैलाई आधार बनाएर त्यस्तो नकारात्मक सन्देश प्रवाह गर्न कति जायज हो ? यो विषयमाथि विश्लेषण जरुरी छ । हामीकहाँ सरकार, मुलुक र जनताप्रति जिम्मेवार छैन । निजी स्वार्थ, पार्टी स्वार्थ, कुटुम्ब स्वार्थको बोलवाला छ । जताततै नकारात्मकता हावी छ । सरकारमा मन्त्री हुनलाई विज्ञताको आवश्यकता छैन । चारपास नगरेकाले ठूला ठूला र प्राविधिक मन्त्रालयको कार्यभार सम्हाले पनि चलेकै छ । चल्तीका नाम गाडी भनेजस्तै येनकेन मुलुकको गाडी चलेकै छ ।

यसो भनेर सबै विषयमा सरकारलाई दोषारोपण गरेर नागरिकको दायित्वको बारेमा पृथक बस्न मिल्छ ? के नागिरकका दायित्व छैनन् ? यस्ता विषयमा चर्चा गर्न जरुरी छ । जसले गर्दा हाम्रो देश आर्थिक रूपमा कमजोर बन्नबाट जोगिनेछ । यो आलेखमा देशको अर्थतन्त्र टाट पल्टनबाट जोगाउन नागरिकहरूले के कस्तो भूमिका निर्वाह गर्न सक्दछन् भन्नेजस्ता विषयमा चर्चा गरिनेछ ।

आम्दानीभन्दा खर्च बढी हुने, आम्दानीका स्रोत कम हुने क्रमशः समाप्त हुँदै जाने तर खर्च बढ्दै जाने, आम्दानी र खर्चबीचको खाडल पुर्न र सन्तुलन कायम गर्न ऋण लिँदै जाने र सन्तुलन कायम गर्न प्रयास गर्ने, ऋण लिएको रकम अनुत्पादक क्षेत्रमा प्रयोग भएका कारण प्रतिफल नआएर ऋण तिर्नसक्ने अवस्था नहुने, ऋण नतिरेका कारण ऋण दिन कसैले नपत्याउने र अत्यावश्यक सेवासुविधा पनि जोहो गर्न नसक्ने अवस्थालाई सबैले बुझ्ने भाषामा टाट पल्टेको भनिन्छ । व्यक्ति, संस्था र राष्ट्रको हकमा पनि समग्रतामा यही नै हो ।

राष्ट्रको हकमा वैदेशिक ऋण तिर्न र पेट्रोलियम खाद्यान्न, औषधिलगायत अत्यावश्यकीय वस्तु आयात गर्न विदेशी मुद्राको सञ्चिति घट्दै गएर अपुग हुनु, विदेशी मुद्रा आम्दानीका स्रोत कमजोर बन्दैजानु, पुँजी निर्माण गर्ने क्षेत्रमा वैदेशिक ऋण जुटाउन नसक्नु आदि कारणले मुलुकले विदेशी मुद्राको अभाव महसुस गर्दै जान्छ । विदेशी मुद्राका आन्तरिक आर्जनका क्षेत्र कमजोर र समाप्त भएपछि वैदेशिक ऋण पनि नपत्याउँने अवस्थामा कुनै मुलुकले निश्चित मितिमा तिर्नुपर्ने वैदेशिक ऋणको सावाँ ब्याज तिर्न नसक्ने अवस्थामा उपायरहित भएर मुलुक टाट पल्टेको अवस्थामा पुग्दछ ।

श्रीलंकामा के भयो ?
श्रीलंकाका राष्ट्रपतिले आफ्नो मुलुक टाट पल्टेको घोषणा गरेका छन् । श्रीलंकाको विदेशी मुद्राको स्रोत पर्यटन, कोभिडको पटक–पटकको लहरको कारण थला बस्यो भने वैदेशिक रोजगारीबाट आउँने विप्रेषण पनि कोभिडकै कारण उच्च गतिमा घट्यो । सशस्त्र द्वन्द्व दबाएको कारण भुइँमा न भाँडामा भएको राजापाक्षे परिवारले राजकीय सत्तालाई आफ्नो बपौती जस्तो सम्झेर साधन र स्रोतमा दोहन जारी राखे भने जनता खुशी पार्न करमा भारी कटौती गर्‍यो । अग्र्यानिक कृषिलाई बढावा दिने निहुँमा विकासे मलको आयात नगरिएका कारण कृषि उत्पादनमा भारी गिरावट आयो ।

करछुट र कृषि उत्पादन घटेको कारण आन्तरिक आम्दानीका स्रोतहरू कमजोर बन्दैगए । आर्थिक संकट र अस्थिरताका कारण लगानी कमजोर बन्दैगयो, जनतालाई नयाँ रोजगारी मिल्नु त टाढाको कुरा भयो, भएको रोजगारी पनि गुम्दै गयो । गरिबीको रेखामुनिको जनताको संख्या बढ्दै गयो । मुद्रास्फीति अचाक्ली बढ्यो । जोसँग पैसा छैन उसलाई विकराल समस्या हुने नै भयो, पैसाको क्रयशक्ति नभएका कारण केही रकम हुनेहरू केही समयपश्चात् संकटमा पुग्ने परिस्थिति बन्यो । अब त यस्तो परिस्थिति बन्यो कि पैसा भए पनि किन्नलाई सामान छैन । सामान पाए पनि अत्यधिक महँगो । सरकारलाई ऋण दिन कसैले पत्याएन । यसरी श्रीलंका टाट पल्टियो ।

आर्थिक संकटमा नागरिकको भूमिका :
आर्थिक संकट भयो भनेर सरकारलाई गाली गरेरमात्र नागरिकको दायित्व पूरा हुँदैन । सचेत र बुद्धिजीवी नागरिकले त त्यस संकटबाट मुलुकलाई पार लगाउँन आत्मअनुशासनमा बसेर सरकारलाई सघाउन जरुरी छ । विदेशी मुद्राको सञ्चिति कम हुनु वा समाप्ति हुनु कुनै मुलुकको आर्थिक संकटका लागि प्रमुख तत्व हो । यो कुरालाई बुझेर जनताले यसको सञ्चिति कम हुन नदिन आफ्नो तहबाट गर्नसक्ने कर्तव्य निर्वाह गर्नु पर्दछ ।

नेपालको आयातको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको आयातले ओगटेको छ । यो खर्च कम गर्न जरुरी छ । यसका लागि नागरिकले खाना बनाउँदा आयातीत ग्यासको सट्टा आफ्नै देशमा उत्पादित बिजुलीको प्रयोग गर्नुपर्छ । नकारात्मक चेत भएका नेपालीले भनिहाल्ने विषय हो–बत्ती भरपर्दो छैन, हो बत्ती कुनै बेला जान्छ तर अधिकांश समय आउँछ । बत्ती भएको समयमा बिजुलीबत्तीमा पकाउने, नभएको समयमा मात्र एलपिजी ग्यासमा पकाउने । एउटा सिलिन्डरले छ महिना पुग्ने परिस्थिति बन्यो भने एलपिजी आयात धेरै कम हुनेछ । नेपाल आयल निगमको घाटामा सुधार हुनेछ ।

भारतीय आयल निगमलाई जाने अर्बाैं विदेशी मुद्रा कम भएर नेपाल विद्युत् प्राधिकरणको आम्दानीमा बढोत्तरी हुनेछ । सकारात्मक मान्नुपर्छ, हामी जुनबेला आर्थिक संकटको कुरा गरिरहेका छौं, सो बेला वर्षा याम परेको छ । यो समयमा भारतलाई बेचेर पनि हाम्रो बिजुली खेरा गइरहेको छ । यो तीन चार महिनाको समय हामीले खाना बनाउँन बिजुलीको प्रयोग गरेर ग्यासको माग उल्लेखनीय रूपमा कम गराउन सक्यौ भने खाना बनाउने ग्यासका लागि भारतीय आयल निगमलाई तिर्ने विदेशी मुद्रा बचत हुनेछ ।

यो बीचमा हाम्रै देशमा केही जलाशययुक्त आयोजना तयार हुनेछन् । जसका कारण हामी आन्तरिक मागको परिपूर्ति गरेर भारतले किन्ने भनेर बाचाबन्धन गरेको परिणामको बिजुली १२ महिना बेच्न सक्नेछौं । यो भनेको दैनिक लगभग दश करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्राको आम्दानी हो । जसले नेपालको अन्तर्राष्ट्रिय व्यापारमा निकै अर्थ राख्नेछ ।

यसैगरी नागरिकले आफ्नो निजी गाडी प्रयोग गर्नुको साटो सार्वजनिक यातायात प्रयोग गर्न सक्दछन् । कार्यालयमा हाकिमैपिच्छे दिने गाडीको सट्टा ठूलो गाडीबाट सेवासुविधा दिएर पेट्रोलियम पदार्थको मागमा भारी कटौती गर्न सकिन्छ । बढी महँगो सामान नकिन्ने वा सीमित मात्रामा किन्ने गर्न सकिन्छ । अहिले धेरै महँगो भएको सामान खाने तेल हो । यसलाई कम प्रयोग गर्न सक्नेछ । चिल्लो कम ग¥यो भने शरीरलाई पनि फाइदा हुनेछ भने विदेशी मुद्रा जोगिनेछ । बिलासिताका वस्तुको माग कम गर्ने, देखासिकी नगर्ने, सादा जीवनशैली अपनाउने, वैदेशिक भ्रमणमा नजाने बरु आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेलगायत कामहरू नागरिकले गर्न सक्दछन् ।

अफवाह र नकारात्मकताबाट सावधानी :
अफवाह र नकारात्मकताले हामीलाई चाँडै प्रभावित गर्दछ । हामी टाट पल्टिँदैछौं भन्नेजस्ता समाचार प्रवाहित गरेर जनमानसलाई आतंकित त पारिरहेका छैनौं ? विचार पु¥याएर बोल्नुपर्ने हुन्छ । जथाभावी अफवाहले बैंकिङ क्षेत्रलाई दबाबमा पार्न सक्छ । असुरक्षाको भावनाले ग्राहकको भीड बैंकमा जम्मा हुनेछ । धेरैका सन्तान विदेशमा छन् । उनीहरूको परामर्शमा पुँजीको पलायन हुन सक्नेछ । अर्को बुझ्नुपर्ने विषय के पनि छ भने वेशभूषा, भाषा नेपाली भएका तर मन विदेशी भएका नेपालीको पनि कमी छैन । बुद्धिजीवी र समाजमा अस्तित्वमा रहेको यो वर्गले उसको रोजगारदाताको अनुकूलताका लागि काम गर्ने भएकाले संकटको समयमा यस्ता तत्वको काम गराइबाट पनि जोगिनुपर्ने अवस्था छ ।

निचोड :
कुनै पनि वैदेशिक शक्तिले हामीलाई माया गरेर सहयोग गर्ने होइन । उसको स्वार्थ परिपूरणका लागि सहयोग गर्ने हो । अमेरिकाको एसपिपी होस् वा चीनको बिआरआई । यी उनीहरूको सामरिक स्वार्थ परिचालन गर्ने औजारको रूपमा काम गर्ने संस्था हुन् । अमेरिकी सहयोग अनुदानमा आधारित भएका कारण मुलुक टाट पल्टाउने वा मुलुक नै विघटन गराउने प्रकृतिको छैन भने चिनियाँ बिआरआई ऋण परियोजना महँगो ब्याजमा ऋण दिएर आफ्नो सामरिक स्वार्थ विस्तार गर्ने परियोजना भएकाले यसले धेरै देशलाई आर्थिक संकटमा पु¥याएको छ । श्रीलंका, पाकिस्तान, मालदिभ्स यसका उदाहरण हुन् ।

यी देशहरू चिनियाँ ऋणको पासोमा परेर चरम आर्थिक संकटमा छन् । श्रीलंकाले त आर्थिक संकट समाधान नभए देश नै विघटन हुनसक्ने बताइसकेको छ । त्यसैले, आफ्नो परम्परागत राजनीतिक दर्शनबाट प्रभावित भएर, राजनीतिक स्वार्थ प्रेरित भएर, प्रलोभनमा परेर वा अरू कुनै कारणले देशको अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने काम कुरा गर्न मिल्दैन । झन् बुद्धिजीवी भनिएकालाई त पटक्कै सुहाउँदैन ।

यस्तो बेला त समाधानका उपाय दिने हो । नागरिक दायित्व निर्वाह गरेर माग र उपभोगमा संयम अपनाउने हो । यस बेला चीन, भारत, अमेरिका जस्ता देशहरू जसले हामीलाई माया गरेजस्तो गरेर सहयोग प्रस्ताव गरे तापनि त्यो हाम्रो राष्ट्रिय स्वार्थमा छ कि छैन भनेर सोचविचार गर्न जरुरी छ । नेपाललाई आर्थिक संकटबाट जोगाउन सरकारलाई मात्र दोष नदेखाई नागरिक दायित्व पनि निर्वाह गरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?