विपत् को जोखिम बढ्दो, सतर्कता आवश्यक

हिमालय टाइम्स
Read Time = 5 mins

अहिले मध्ये बर्खाको समय छ । जेठदेखि मनसुन सक्रिय भएको हो । त्यस पहिले पनि यस वर्ष पूर्वमनसुन लामो समयदेखि देखापरेका कारण पानी परिरहेको थियो । पानी परेकाले कृषकहरू रोपाइँ गर्न पाएका थिए । सम्पूर्ण क्षेत्रमा खेतीपातीको काम हुन पायो । विगत वर्षमा जस्तो सुख्खा र खडेरी यस वर्ष भएन । यस अर्थमा सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । बर्खामा पानी पर्नु प्राकृतिक नियम हो । यसलाई अन्यतथा लिनु हुँँदैन । तर, विभिन्न कारणले गर्दा हालका वर्षमा अतिवृष्टि खण्डवृष्टिलगायत समस्या भने भोग्दै आइएकै छौ । आवश्यकभन्दा बढी पानी परेर जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान भएकाले जनधनको क्षति पुग्ने गरेको छ ।

वर्षेनी हुँदै आएको समस्या हो । कुनै वर्ष पानी नपरेर सुख्खा वा खडेरीले जनजीवन प्रभावित बन्छ । यस वर्ष असार महिनाको आधाआधिसम्ममा मानवीय क्षति हुनेगरी त्यस्ता कुनै घटना भएका छैनन् । तर, हालै परेको अविरल वर्षबाट पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाका केही ठाउँ डुबानमा परेका छन् । जनजीवन प्रभावित भएको छ । मानिसको दैनिकी प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन निरन्तर पानी पर्ने जनाएको छ । अझै थप समस्या सिर्जना हुने अनुमान गर्न गाह्रो छैन । त्यसैले सतर्कता आवश्यक छ ।

गत वर्ष असारको सुरुमै बाढीपहिरोबाट ठूलो मानवीय क्षति भएको थियो । भौतिक क्षतिको त लेखाजोखै भएन । बाढीपहिरोबाट ठूला योजना तहसनहस भएका थिए । त्यस्ता समस्या यस वर्ष पनि नहोलान् भन्ने छैन, सतर्कता र सचेतताको आवश्यकता छ । यस्तो सचेतता र सतर्कता जनस्तरमा आफू-आफूले नै अपनाउनुपर्ने हुन्छ । संशाधनको कमीका कारण जनस्तरमा अपनाउन नसकिने अवस्थामा सरकारसँगको सहयोग, सहकार्यका सुरक्षा र विपत्मा परेकाहरूको उद्धारको व्यवास्था मिलाउनुपर्ने हुन्छ । सरकारले यस्ता उपाय अपनाउने बारे योजना बनाएको हुन्छ र आपत्कालीन उद्धार तथा राहतसमेतको तयारी गरेको हुन्छ ।

तर, कतिपय अवस्थामा जनताले सोचेजस्तो तथा चाहेजस्तो सहयोग पाइरहेका हुँदैनन् । सरकारबाट तिनले जे जस्ता आशा र अपेक्षा गरेका हुन्छन् त्यस्तो सहयोग नपाउनाले सम्मानप्रति कमी हुन जानसक्छ । देशका सबै क्षेत्रमा भौगोलिक अवस्थाको समेत ख्याल गरी सरकारले सहयोग र उद्धारको व्यवस्था गर्नुपर्ने हुन्छ । हाल मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका घटना भइरहेका छन् । आगामी केही दिनसम्म यसरी नै पानी परिरहने भएकाले सरकारले जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यसका लागि विपत् प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिता दिन गृहमन्त्रीले निर्देशन दिनुभएको छ । यसबाट सरकार यस विषयप्रति सचेत छ भन्ने देखिएको छ ।

हालको भारी वर्षाबाट सप्तकोशीमा पानीको सतह बढेकाले खतराको संकेत रातो बत्ती बालिएको छ भने राप्ती नदीमा पनि पानीको सतह बढेको छ । नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन सरकारले आग्रह गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डका धेरै ठाउँमा पहिरो जानाले यातायात अवरुद्ध भएको छ भने रोल्पामा धेरै गाउँ जोखिममा परेका छन् । यी केही प्रतिनिधि घटना हुन् । निरन्तरको वर्षाका कारण अरू घटना हुन सक्छन् । सचेत रहनु नै यस्ता घटनाबाट जोगिन सकिने उपाय हुन् । यसका लागि सरकार र जनता दुवैको बराबरी भूमिका रहने गर्दछ र रहनुपर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?