प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र पारिएको जनाएको छ । बिहीबार नै रिगल हेटौंडा रिसोर्टमा महाधिवेशन तयारीको लागि सचिवालयसमेत उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयको उद्घाटन गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनको तयारी तीव्र पारिएको भन्दै साउन पहिलो साता युनियनका देशभरका करिब एक हजार पाँच सय प्रतिनिधि र अतिथिहरूको सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्‍न गर्ने बताउनुभयो ।

महाधिवेशनले युनियनको नयाँ कार्यसमि निर्वाचित गर्ने छ ।

महाधिवेशन सम्पन्न गर्नको लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ । जसको सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहनुभएको छ । आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारी रुपेश दुलाललाई दिइएको छ भने भोजन व्यवस्थापनमा सुजन विडारीलाई संयोजक तोकिएको छ । पोष्टराज अधिकारी कुमारुको संयोजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारको जिम्मा केशव समर्पणलाई दिइएको छ ।

अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा रहनुभएको छ । कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएको छ ।

यसैबीच, प्रेस युनियनको नवौं महाधिवेशनमा अध्यक्ष पदका लागि सरोज अधिकारीले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ भने अन्यको नाम आउने क्रममा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?