तमानखोलाले संचालन गर्यो दुर्गम गाउँमा बालगृह

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको सबैभन्दा दूरमा रहेको तमानखोला गाउँपालिकामा जनप्रतिनिधि आएपछि सुरुदेखिनै विल्कुलै नयाँ र फरक किसिमका कामहरु हुँदै आएका छन् । अघिल्लो पटक बाल विवाह न्यूनिकरणदेखि जंकफुडरहित विद्यालय बनाउने अभियान थालेको गाउँपालिकाले यस पटक पनि जनप्रतिनिधिको पदभार ग्रहणदेखिनै नयाँ कार्यक्रम घोषण गरि कार्यान्यनमा जुटेको छ ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अंक ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको ग्यारेन्टि गर्ने गरि बालगृह संचालन गर्ने योजना सुनाउनु भएको थियो ।

अहिले सोही योजना कार्यान्वयन गर्न तर्फ गाउँपालिका सक्रिय भएको छ ।

दुर्गम मानिने तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान गाउँमा पालिकाले बालगृह संचालन गरेको छ । केही दिन अगाडी मात्रै बालगृहको उद्घाटन गरि १६ बालबालिकालाई आश्रय लिन थालिएको छ । सम्पर्कमा रहेका अन्य बालबालिकालाई समेत चाँडै व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ । दुर्गम गाउँमा बाल गृह संचालन गर्नु आफैमा चूनौतिपूर्ण छ । तर पनि गाउँपालिकाले अठोटका साथ अभियाननै थालेको छ ।

तमानखोला गाउँपालिकाको अभियान र तमान बाल गृह सञ्चालन अभियान समितिको सहकार्यमा सुरु गरिएको अभियानबाट हालसम्म १० लाख रुपैयाँको कोष सञ्चालन गरिएको अध्यक्ष बुढा मगरले बताउनुभयो । दुई जना कर्मचारीले रेखदेख गर्ने गरी व्यवस्थापन गरिएको छ । उनीहरुले नजिकको सामुदायिक विद्यालयमा अध्ययन गर्ने छन् । कक्षा १२ सम्म पालिका र बाल गृह सञ्चालन समितिले निःशुल्क पठनपाठनसँगै खाना र आवासको व्यवस्थापन गर्ने भएको छ ।

प्रत्येक महिना कम्तिमा दुई पटक उनीहरुको स्वास्थ्य परिक्षण गरिने, अध्ययनलाई राम्रो बनाउन पालिका र समितिले हेरचाह गर्नेगरी कार्यक्रम अगाडी बढाइएको अध्यक्ष बुढा मगरले बताउनुभयो । विशेष गरी साना उमेर समुहका बालबालिका भएका कारण उनीहरुको उज्वल भविष्य निर्माणका निम्ति अभियानले महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा लिएको छ ।

‘अभिभावक नभएका बालबालिकाको कक्षा १२ सम्म पठानपाठन र आवससहितको सेवा गाउँपालिकाले दिन्छ, अभिभावक नभएका बालबालिका कोही पनि पढ्नबाट वञ्चित नहोस भन्ने हिसाबले हामीले अहिले बालगृहको संचालन गरेका छौँ’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘यसले बालबालिकाको भविष्य सुनौलो हुने अपेक्षा लिएका छौँ, यो सुरुवाति चरणहरु, अहिले १६ जनालाई राखेका छौँ, अन्य पनि सम्पर्कमा छन्, उनीहरुलाई पनि ल्याउने छौँ ।’

सुरुवाति चरढामा गाउँपालिकाको २ लाख अनुदानसहित संचालन गरिएको ‘बालगृह सञ्चालन’ कोषमा १० लाख संकलन भइसकेको उहाँको भनाई छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष लगाएत जनप्रतिनिधिले समेत आफुले पाउने पारिश्रमिको पाँच प्रतिशत रकम आफ्नो कार्यकाल अवधिभर बालगृहलाई दिने गरी अभियान चलाएका छन् ।

उक्त रकमबाट कोष वृद्धि हुँदै जाने र बालगृहलाई दीर्घकालिन व्यवस्थापनमा सहजता पुग्ने देखिएको छ । बालबालिका बढ्दै गएपछि उनीहरु सहज रुपमा व्यस्थापन गर्नका लागि कोष बनाइएको उहाँको भनाई छ । कोषमा पनि रकम थपिदै जाने अपेक्षा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?