सप्तकोसी नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

हिमालय टाइम्स
Read Time = 7 mins

उदयपुर । अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराहक्षेत्र नगरपालिकाका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् ।

बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको छ । नदीले धार परिवर्तन गरी बेलका नगरपालिका–८ को लाहुरे खोच र डुम्रिबोटेमा कटानलाई तीव्रता दिएको छ ।

नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवैतर्फ तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको स्थानीयवासी बताउँछन् ।

नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन । सप्तकोसी नदी बराहक्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले बर्सेनि धेरैमात्रामा जनधनको क्षति पुर्याउँदै आएको छ । बाढी आउँदा घरजग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्ररूपमा गर्दा सप्तकोसी किनाराका हजारौं बासिन्दालाई घरबारविहीन बनाइसकेको छ ।

पछिल्लो समय सप्तकोसीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान गर्दा बेलका नगरपालिकाका वडा नं. २, ३, ८ र ९ उच्च जोखिममा परेका छन् । सप्तकोसीले धार परिवर्तन गरी गत वर्ष उदयपुरको बेलका नगरपालिका–८ को लाहुरे खोचमा कटान गरी नदी पस्न लागेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबिसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्तिटोल, बानडाँडा र कोसी टप्पु आरक्षका चार हजार घरपरिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कटान तीव्ररूपमा बढेकाले त्यस क्षेत्रका बासिन्दा जोखिममा परेका हुन् । कोसीले गत वर्ष ६ सय मिटर कटान गरेको थियो भने केही दिनयता आएको बाढीले पुनः थप तीन सय मिटर कटान गरिसकेको छ ।

करिब दुई सय मिटर कटान गर्न बाँकी छ । दुई सय मिटर कटान भएमा सप्तकोसीले नयाँ मार्ग बनाएर त्यहाँ बसोबास गर्ने चार हजार घरपरिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुने बराहक्षेत्र नगरपालिका–६ का निवर्तमान वडासदस्य श्यामबहादुर लिम्बूले बताउनुभयो । ‘तत्काल रोकथाम गर्न नसके बेलका नगरपालिकाकाका वडा नं. २, ३, ८, ९ तथा बराहक्षेत्र नगरपालिका–६ सहित सप्तरीको फत्तेपुर, कञ्चनरूपम, भारहद, राजविराज हुँदै कुनैली नाका भएर नदी बग्नेछ,’ उहाँले भन्नुभयो ।

सप्तकोसी कटानले गर्दा बराहक्षेत्र नगरपालिका–६ चिलिया टप्पुमा रहेको बालसेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित दुईवटा स्वास्थ्य संस्था विस्थापित भइसकेका लिम्बूले बताउनुभयो । त्यहाँ रहेका एकता, सिर्जना, एबिसी, गिनेरी, रामनगर, बुधबारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उहाँको भनाइ छ । सप्तकोसीका चारवटा भगाला छन् । पूर्वपट्टिको भगालोले राजाबास चक्रघट्टीतर्फको कटानलाई तीव्र बनाएको छ भने पश्चिमपट्टिको भगालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पुर्याएको छ । सबैभन्दा बढी खतरा पश्चिम भगालो हो । यसले उदयपुर, सप्तरीका अधिकांश भागमा क्षति पुर्याउँछ ।

सप्तकोसी नदीमा पानीको बहाव बढेर बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीस्थित १० नम्बर नोज स्पर (बाँध) कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कोसीमा पानीको बहाव घटबढ हुनेक्रम जारी रहेकाले कमजोर बनेको स्पर १० को मर्मतसम्भार तत्काल थाल्न माग गरेको छ ।

गत वर्ष निरन्तरको वर्षाका कारण नदीमा बढेको पानीको बहावले स्परको करिब ६० मिटर भाग कटान गरेपछि अस्थायीरूपमा मर्मत गरिएको थियो । तर, अहिले त्यो अस्थायी बाँध बाढीले बगाइसकेको छ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा मर्मत नहुँदा त्यहाँका स्थानीयमा बाढीको त्रास बढेको हो । कोसीको पानीको सतह लगातार बढ्नेक्रममा रहेकाले कटान गरेको हो । कटान भएको ठाउँमा थप कटान रोक्न स्थानीयवासीले जिल्ला विपद् व्यवस्थापन समिति उदयपुरसँग अनुरोध गरेको छ ।

कटान गरेको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुखहरू बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की, स्थानीय सरोकारवालाहरूले स्थलगत अनुगमन गरी कटान रोक्न निगरानी गरी तत्काल मर्मत गर्न प्रदेश सरकार, प्रदेश योजना आयोग, नेपाल सरकार र भारत सरकारलाई आग्रह गर्ने निर्णय गरी जानकारी गराएको बेलका नगरपालिकाका नगरप्रमुख कार्कीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?