पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आज (शनिबार) पोखरामा एक भव्य कार्यक्रमबीच हुनेभएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डको तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफीसमेत सार्वजनिक गरिएको छ ।
मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्वअध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरालगायतले ट्रफी सार्वजनिक गर्नुभएको थियो । स्पोर्ट्स अवार्डमा कुल सातवटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाइ छ ।
वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का, वर्ष खेलाडी महिलामा भलिबलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदयीमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजू, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा पर्नुभएको छ । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट एकजनालाई अवार्ड वितरण हुनेछ ।
लाइफ टाइम अचिभमेण्ट अवार्ड अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ । पोखरा स्पोर्ट्स अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरूप प्राप्त गर्नेछन् ।
वर्ष उत्कृष्ट उदयीमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी गराउनुभयो । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट तीन को मनोनयन सूचीमा परेकाहरूलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यमबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिलाई हौसला प्रदान गर्न हरेक वर्ष स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका