महाराष्ट्रको मुख्यमन्त्रीमा शिन्दे

Read Time = 3 mins

मुम्बई । शिवसेनाका ‘बागी’ नेता एकनाथ शिन्दे भारतको महाराष्ट्र प्रदेशको मुख्यमन्त्री हुनुभएको छ । उहाँ भारतीय जनता पार्टीको सहयोगमा मुख्यमन्त्री बन्नुभएको हो । उहाँले बिहीबार मुख्यमन्त्रीको शपथ लिनुभएको छ ।

भारतीय राष्ट्रिय कंग्रेसको समर्थनमा मुख्यमन्त्री बन्नुभएका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार राजीनामा दिएपछि शिन्देलाई मुख्यमन्त्री हुने बाटो खुलेको थियो ।

शिन्दे मुख्यमन्त्री बनेसँगै भाजपा नेता देवेन्द्र फडणवीस उपमुख्यमन्त्री बन्नुभएको छ । यसभन्दा अगाडि फडणवीस दुईपटक मुख्यमन्त्री भइसक्नुभएको थियो । फडणवीस महाराष्ट्रको मुख्यमन्त्री बन्ने बताइएको बेला शिन्दे मुख्यमन्त्री बन्नुभएको हो ।

शिवसेनाका वरिष्ठ नेता शिन्दे रातारात गुजरातको सुरत शहरमा कैयौं विधायकहरू लिएर पुग्नुभएको थियो, जसले पूरै महाराष्ट्रको राजनीतिमा भूकम्प ल्याइदिएको थियो । शिन्देले केही निर्दलीयसहित ५० विधायकको समर्थन रहेको दाबी गरिरहनुभएको थियो । शिन्दे ठाकरेविरुद्ध विद्रोह गरेर सत्तामा पुग्न सफल हुनुभएको छ । शिन्देको पक्षमा रहेका बहुमत सदस्यले विशेष अधिवेशन माग गर्दै महाराष्ट्र प्रदेशका राज्यपाल भगतसिंह कोश्यारीसमक्ष निवेदन दिएका थिए । निवर्तमान मुख्यमन्त्री उद्धव ठाकरेले नयाँ मुख्यमन्त्री शिन्देलाई बधाई दिनुभएको छ ।

अहिले मुख्यमन्त्री बन्नुभएका शिवसेनाका प्रभावशाली नेता शिन्दे पहिले अटोरिक्सा चालक हुनुहुन्थ्यो । उहाँले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएको थियो । ठाणे नगर निगममा विपक्षी नेताका रूपमा काम गरेपछि उहाँ सन् २००४ मा पहिलोपटक विधायक बन्नुभएको थियो ।

त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उहाँ विधायक चुनिंँदै आउनुभएको छ । सन् २०१५ देखि २०१९ सम्म उहाँ प्रदेशको लोक निर्माणमन्त्री बन्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?