प्रचण्ड र हमालबीच भेटवार्ता

Read Time = 2 mins

काठमाडौं । पछिल्लो समय कलाकारहरूको राजनीतिज्ञसँग भेटघाट बढिरहेको छ । कारण हो चलचित्र विकास बोर्डको अध्यक्ष पद । विशेषगरी नेपाली चलचित्रहरूको नियमन गर्ने चलचित्र विकास बोर्डको अध्यक्ष पद यतिबेला रिक्त छ । उक्त पदमा दयाराम दाहालको कार्यकाल सकिएपछि नियुक्तिका लागि लबिङ गर्न नेपाली कांग्रेसका सदस्य तथा अभिनेता भुवन केसी शक्तिकेन्द्र धाइरहेको खबरहरू बाहिरिइरहेका छन् । यतिमात्र होइन, अभिनेता भुवनसँगै अन्य कलाकार पनि धाइरहेका छन् ।

यसैबीच अभिनेता भुवनकै समकालीन अभिनेता राजेश हमाल भने राजनीतिक भेटघाटमा जुट्नुभएको छ । राजेशले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुभयो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डको निवास खुमलटारमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक अवस्था र चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको चलचित्र निर्माता तथा संगीतकार चेतन सापकोटाले जानकारी दिनुभयो । प्रचण्ड र हमाललाई भेट गराउने पुलको काम चेतनले नै गर्नुभएको हो । उहाँ माओवादीका नेतासमेत हुनुहुन्छ ।

प्रचण्डसँगको भेटमा राजेश हमालले आफ्नो राजनीतिप्रति चासो रहेको बताउँदै भविष्यमा राजनीतिमा आउन सक्ने संकेत गरेको जानकारी प्राप्त भएको छ । प्रचण्डले पनि हमाललाई राजनीतिमा आउन आग्रह गर्नुभएको थियो । प्रचण्ड र हमालको यो पहिलो औपचारिक भेटघाट हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?