आर्थिक पारदर्शिताका लागि ई-पेमेन्ट सेवा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

डम्मर बुढा मगर/हिटा
बागलुङ । जिल्लाको काठेखोला गाउँपालिकाले ई-पेमेन्ट सेवा सुरु गरेको छ । गाउँपालिकाले आर्थिक प्रणाली पारदर्शी र जवाफदेही बनाउन ई-पेमेन्ट सेवा सञ्चालनमा ल्याएको हो । ई-पेमेन्ट सेवासँगै सेवाग्राहीलाई चेकका लागि घन्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिधै सेवाग्राहीको बैंक खातामै रकम स्थानान्तरण हुने भएकाले सहजरूपमा सेवा दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सेवाग्राहीमैत्री सेवामा हामी जिम्मेवार छौँ, एकै दिनमा काम सकेर खर्च र समयको बचतका लागि गाउँपालिकाले हरेक सेवालाई प्रविधिमैत्री बनाउँदै आएको छ, ई–पेमेन्टले चेक काट्नुपर्ने झन्झटिलो प्रक्रिया अन्त्य भएको छ, कर्मचारीको समय बचत हुने भएकाले अन्य कार्यसम्पादनमा समय दिन पाउनुहुन्छ र जनताको काम छिट्टै हुन्छ ।’

सेवाग्राहीले पेश गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने लेखा अधिकृत माधव शर्माले बताउनुभयो । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नसमेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगत जस्तो झन्झट बेहोर्नुनपर्ने उहाँको भनाइ छ । अब कार्यालयमा चेक लिन दिनुपर्ने समय, बैंकमा लाइन बस्नुपर्ने बाध्यता र एउटै चेक नगदमा परिणत गर्ने बेलासम्मको झन्झटमुक्त भएको शर्माले बताउनुभयो । स्थानीय तहको बजेट तर्जुमा लेखांकन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमार्फत् सेवा सञ्चालन गरिएको छ ।

गाउँपालिकाले भुक्तानी लिन आउने जो-कोहीलाई बैंक खाताको चेकको फोटोकपी कागजातसाथ संलग्न गर्न अनुरोध गर्ने गरेको छ । शर्माले भन्नुभयो, ‘कागजात पुगेको छ र प्रक्रिया सबै सकिएका छन् भने भुक्तानीका लागि उपभोक्ताले कुर्नुपर्दैन, चेक बुकमा उल्लेख भएको खातामा रकम सिधै जम्मा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?