जुन महिनामा एक अर्ब ७२ करोडको विद्युत् निर्यात

Read Time = 4 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठ अर्थात् २ जुनदेखि आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत् दैनिकरूपमा आइएक्समा बिक्री गरिएकोमा २७ जेठ अर्थात् १० जुनदेखि दैनिकरूपमा तीन सय ६४ मेगावाट विद्युत् बिक्री हुँदै आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणबाट छवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई स्रोत मानी तीन सय ६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ । जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत् बिक्री गरिएको छ । प्राधिकरणले सो अवधिमा बिक्री गरेको विद्युत्बाट सम्पूर्ण शुल्क कटाएर खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ । जुन महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युत्को औसत प्रतियुनिट दर नौ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्राधिकरणका अनुसार आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले सो अवधिमा विद्युत् बिक्रीको औसतदर सबैभन्दा बढी १५ जुन अर्थात् १ असारमा पाएको छ । त्यस दिनको प्रतियुनिट औसतदर १५ रुपैयाँ ९३ पैसा थियो ।

सबैभन्दा कम औसतदर २१ जुन अर्थात् ७ असारमा थियो । सो दिन औसतदर प्रतियुनिट चार रुपैयाँ ९२ पैसा थियो । २० जेठमा सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत् बिक्री गरिएको छ । सो दिन नौ लाख चार हजार आठ सय सय युनिट विद्युत् बिक्री गरिएको थियो । सबैभन्दा बढी ३१ जेठमा सात करोड २८ लाख रुपैयाँको विद्युत् बिक्री भएको छ । सो दिन ७८ लाख १३ हजार तीन सय युनिट विद्युत् बिक्री गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरेको भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् व्यापार यस वर्षबाट थप प्रभावकारीरूपमा अघि बढेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?