नेपाल श्रीलंकाको अवस्थामा पुग्ने अर्थविद्को चिन्ता

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । सरकारले अब पनि सावधानी नअपनाए नेपाल पनि श्रीलंकाकै बाटोमा जान सक्ने चेतावनी अर्थविद्हरूले दिएका छन् । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिजद्वारा शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक छलफल कार्यक्रममा अर्थविद्हरूले उक्त चेतावनी दिएका हुन् ।

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले आयात नियन्त्रण गर्न नसके नेपाल पनि श्रीलंकाको पदचापमा जान सक्ने चेतावनी दिँदै अत्यावश्यकबाहेकका वस्तुको आयातमा रोक लगाउनुपर्ने बताउनुभयो । छ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने रिजर्भ हुनु नराम्रो नभए पनि आयात बढेको अनुपातमा विदेशी मुद्रा आर्जन गर्ने स्रोत नबढेकाले समस्या आउन सक्ने गभर्नर क्षेत्रीको भनाइ थियो ।

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताउनुभयो । पछिल्लो सात महिनादेखि लगातार विदेशी मुद्रा सञ्चितिमा गिरावट भइरहे पनि सरकारले आयात नियन्त्रण नीति लिएका कारण नियन्त्रणमा रहेको उहाँले दाबी गर्नुभयो । तथापि उप्रेतीले चालु आर्थिक वर्षको असारसम्म १९ सय अर्बको आयात हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सातै महिनासम्म विदेशी मुद्राको सञ्चिति घटेको छ तर कन्ट्रोलमा छ । यसको अर्थ सरकारले आयात नियन्त्रण गरेर मुद्रा सञ्चिति घट्न नदिने नीति कार्यान्वयन भएको देखिन्छ । पछिल्लो समय कर्जा वृद्धि १९ प्रतिशत रहेको छ । यता निक्षेप संकलन पाँच प्रतिशत रहेको छ । अहिले हाम्रो १२ प्रतिशतको ग्याप छ, त्यो ग्याप भनेको तरलताको दबाब छ । त्यो १२ प्रतिशतको दबाब हो ।’ उप्रेतीले आगामी तीन–चार वर्षसम्म विदेशी मुद्राको चाप पर्ने बताउनुभयो । रष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले कर्जाका कारण नेपाल श्रीलंका बन्ने कुनै सम्भावना नरहे पनि बढ्दो आयात चिन्ताको विषय भएको बताउनुभयो । सिमेन्ट र विद्युत् निर्यातको सम्भावना रहेकाले पनि आशा गर्ने ठाउँ रहेको उहाँको भनाइ थियो । अक्सफोर्ड विश्वविद्यालयका विकास अर्थशास्त्रका प्राडा विजन पन्तले नेपालमा संरचना बन्न नसक्दा अर्थतन्त्र बलियो बन्न नसकेको बताउनुभयो । राष्ट्र बैंक, अर्थ मन्त्रालय र योजना आयोगको समन्वय नहुँदा अर्थतन्त्रमा समस्या देखिएको उहाँले बताउनुभयो । वृद्धभत्ता बढाउन प्रतिस्पर्धा हुने तर अर्थतन्त्र बलियो बनाउन प्रतिस्पर्धा नहुने कारण समस्या आएको पन्तको भनाइ थियो । उद्योगी पवल गोल्यानले भने आयात नियन्त्रण गर्न नसकिए नेपालको अवस्था श्रीलंकाभन्दा भयावह हुन सक्ने चेतावनी दिनुभयो । तरलता समस्याले उद्योगसमेत बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले सरकारले आयातमा आधारित अर्थतन्त्र बनाउन खोजेको आरोप लगाउनुभयो । गोल्यानले भन्नुभयो, ‘कसैले पनि मौलिक उत्पादन बढाउन काम गरेनौँ ।

आन्तरिक उत्पादन बलियो नहुँदासम्म अर्थतन्त्र बलियो हुन सक्दैन ।’ वरिष्ठ अर्थशास्त्री डा. गोविन्द नेपालले सत्तामा स्वार्थ समूहको दबदबाका कारण पोलिसी क्याप्चर गर्नेक्रम बढेको बताउनुभयो । मुलुकको अर्थतन्त्र संकटमा रहेको र अझै संकट बढ्दै जाने भन्दै उहाँले नेपाल श्रीलंकाजस्तो अवस्थामा भने नपुग्ने दाबी गर्नुभयो । आगामी बजेटमा सरकारले कृषिमा फोकस गरे पनि कृषकलाई मल दिन नसके अर्थ नहुने उहाँको भनाइ थियो । डा. नेपालले भन्नुभयो, ‘सरकारले भनेजस्तो आयात प्रतिस्थापन हुन सक्दैन । विदेशी मुद्रा कम हुने भयो । कृषि क्षेत्रले अर्थतन्त्रलाई लयमा ल्याउने भए पनि सरकारले किसानलाई समयमा मल दिन नसकेकाले बजेट कार्यान्वयन र सरकारको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने जोखिम बढेको छ ।’ उहाँले विचौलियाको बिगबिगी, हुण्डी कारोबारमा राजनीतिक नेतृत्वको रूचिलगायतका कारण नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?