रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकारभित्रको घण्टी

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । पूर्व-सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्तापश्चात् सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्रसमेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो । यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको पार्टीको नाम नमिलेकाले आयोगले उक्त नाम स्वीकारेको भट्टराईले जानकारी दिनुभयो ।

चुनाव चिन्ह घण्टी भएको पार्टी यसअघि आयोगमा दर्ता भए पनि अहिले उक्त पार्टी अर्कैसँग मर्ज भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गोलाकारभित्रको घण्टी चुनाव चिन्ह दिइएको उहाँले जनाउनुभयो । पार्टीको नामका विरुद्धमा परेका दुई उजुरी आयोगले खारेज गरेको छ । उक्त उजुरीलाई भने आयोगले दाबी नपुगेको ठहर गरेको छ । ‘उजुरीहरूको दाबी पुगेको देखिन्न, ‘आयोगका एक आयुक्तले भन्नुभयो । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध दुई उजुरीसमेत परेका थिए ।

असार ८ मा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाईं, पुष्कर शाहसहित चार जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिनुभएको थियो । उहाँहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको थियो, ‘स्वतन्त्र शब्दको आफैँमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ । साथै यसले जनतामा भ्रम र अन्योल उत्पन्न गरी स्वतन्त्र शब्दको अर्थमै अपव्याख्या हुने अवस्था भएकोले उक्त दलको नामको विषयमा श्रीमान्ले गहन विश्लेषण गरी निर्णय लिनु हुन अनुरोध गर्दछौँ ।’

सोही स्वतन्त्र उम्मेदवारी अभियानका तर्फबाट डम्बर शाहले स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई मुठ्ठीमा कब्जा गर्ने दूषित मनशाय राखेर पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेको भन्दै पार्टी दर्ता नगर्न माग गर्नुभएको थियो । लामिछानेले विभिन्न सात अवधारणा अघि सारेर राजनीतिमा डेब्यु गर्नुभएको थियो । उहाँले असार ७ मा नयाँ पार्टी घोषणा गरेर दल दर्ताका लागि सोही दिन निवेदन दिनुभएको थियो । स्वतन्त्र उम्मेदवारलाई जोड्नका लागि दल खोलेको लामिछानेको दाबी भए पनि स्वतन्त्रहरूले भने लामिछानेको पार्टीको विरोध गर्दै आएका छन् ।

कुनै पनि व्यापारीसँग चन्दा नलिने लामिछानेको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता गराउनुभएका रवि लामिछानेले आफूहरूले दल सञ्चालनका लागि कुनै पनि व्यापारीसँग चन्दा नलिने घोषणा गर्नुभएको छ । निर्वाचन आयोगमा दर्ता भएर निर्वाचन चिन्ह पाएलगत्तै उहाँले यस्तो घोषणा गर्नुभएको हो । ‘हामी चन्दा माग्ने कुराको विरोध गर्छौं । हामी पार्टीका सदस्यहरूबाट उठाएर मात्र चलाउँछौँ,’ उहाँले भन्नुभयो, ‘शुभेच्छुक र शुभचिन्तको साथ र सहयोगमा पार्टी चलाउँछौँ ।’

ठूला व्यापारिक घरानामा चन्दा माग्ने कुराको सधैँ विपक्षमा रहेको भन्दै भोलि चन्दा लिनेहरूले पनि उनीहरूको शुभेच्छा समेट्नुपर्ने हुनसक्ने कुराबाट आफूहरू टाढा रहेको लामिछानेले बताउनुभयो । व्यापारीहरूसँग चन्दा लिँदा ठूला राजनीतिक दलहरूलाई अहिले नीति निर्माणदेखि अन्य कुरामा अप्ठ्यारो परेको भन्दै आफूहरू त्यो बाटोमा नजाने लामिछानेको भनाइ छ । पार्टीको विषयमा आउने विवादसम्बन्धी सबै कुरा कानुनी रूपमा नै समाधान गर्ने उहाँले बताउनुभयो । ‘उक्त समयमा जसरी आउँछ त्यसैगरी प्रतिवाद गर्नेर्छौं । निर्वाचन आयोगले कानुन हेरेर नै पार्टीको निर्णय गरेको हो’, उहाँले भन्नुभयो ।

उहाँले अब जनतामाझ जाने बाटो पनि खुलेको बताउनुभयो । ‘हामीले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह घण्टीलाई निर्वाचन आयोगले स्वीकारेको छ’, उहाँले भन्नुभयो, ‘अब स्वतन्त्र नामलाई लिएर विरोध गर्नुको अर्थ रहेन । घण्टी भने हामीले गोलाकारभित्रको बजाउन पाउने भएका छौँ ।’ रविले आफ्नो दल दर्ता भइसकेपछि स्वतन्त्र अभियानसहित चुनावी तयारीमा लागेका सबैलाई स्वागत गर्न तयार रहेको बताउनुभयो । ‘हामीसँग मिल्न चाहने सबै स्वतन्त्र राजनीतिक अभियन्ताहरूलाई स्वागत गर्न तयार छौँ । अब हामी त्यहीअनुसार वार्ता पनि थाल्छौँ’, उहाँले भन्नुभयो, ‘विचार मिल्ने व्यक्ति र समूहसँग संवादसँगै अब जनताको घर दैलोमा पुगेर चुनावी तयारी थाल्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?