सभापति देउवाको कार्यशैलीलाई लिएर कांग्रेसमा विवाद, महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दा पनि १३ जना मात्र केन्द्रीय सदस्य मनोनीत

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ । गत मंसिरमा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट दोस्रो कार्यकालको लागि पार्टी सभापतिमा निर्वाचित शेरबहादर देउवाको पार्टी सञ्चालन गर्ने शैलीमा कुनै परिवर्तन आउन सकेको छैन । सभापति देउवा स्वयं पार्टी विधान उल्लंघनमा अग्रस्थानमा देखिनुभएको छ । कार्यशैली परिवर्तन गर्न नसक्दा सभापति देउवाले पार्टी विधानअनुसार ६ महिनाभित्र गर्नुपर्ने काम नगरेर पार्टी विधान निरन्तर उल्लंघन गरिरहनु भएको छ । पहिलो कार्यकालमा पनि पार्टी विधानको पालना नगर्दा देउवा चौतर्फी आलोचनाको पात्र बन्नुभएको थियो ।

महाधिवेशनबाट भारी मतसहित सभापति जिते पनि देउवाको कार्यशैलीमा भने कुनै सुधार देखिएको छैन । पार्टी केन्द्रीय समितिमा देउवाको पक्षमा ८० प्रतिशतभन्दा बढी सदस्य रहे पनि विधानअनुसार सभापति देउवाले समयबद्ध काम गर्नसक्नु भएको छैन । कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय रहने व्यवस्था छ । पार्टी सभापतिले मनोनीत गर्न पाउने ३३ जनामध्ये जम्मा १३ जना मात्र केन्द्रीय सदस्य मनोनीत भएका छन् । पार्टी सभापतिका निकटतम् प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने व्यवस्थाअनुसार स्वतः केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित अहिले कांग्रेसमा १४८ केन्द्रीय सदस्य छन् । विधानअनुसार हरेक दुई महिनाको अन्तरमा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि गत चैतदेखि केन्द्रीय समिति बैठक पनि बसेको छैन ।

पार्टी विधानअनुसार यी हुन् ६ महिनाभित्र गरिसक्नुपर्ने काम
- निर्वाचन, अनुशासन, लेखा समिति गठन
- महासमिति (नीति अधिवेशन गर्ने भनिएको) मिति तय
- केन्द्रीय संसदीय समिति गठन
- महाधिवेशन र महासमिति सदस्य मनोनीत
- कोषाध्यक्ष मनोनीत
- बाँकी केन्द्रीय सदस्य मनोनीत
- केन्द्रीय कार्यसम्पादन समिति गठन
- २८ विभाग गठन
- पदाधिकारीलाई भूमिका/जिम्मेवारी
- भ्रातृ संगठनको महाधिवेशन

चुनाव उम्मेदवारलाई टिकट दिने निकाय संसदीय बोर्ड गत वैशाख ११ गते गठन भए पनि अझै पूर्णता पाएको छैन । कांग्रेस करिब सात महिनादेखि कोषाध्यक्षविहीन छ । १४ पदाधिकारीमध्ये कांग्रेसमा कोषाध्यक्ष मात्रै मनोनीत गर्न मिल्ने थियो, अरू पद महाधिवेशनबाट चुनिएर आएका थिए । पार्टी विधानमा केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिमा निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । विधानले दिएको व्यवस्थाअनुसार सभापति देउवाले ३३ मध्ये दुईपटक गरी १३ जनालाई गत पुसमा केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।

सभापति देउवाले अब २० केन्द्रीय सदस्य मनोनीत गर्न पाउने भए पनि ६ महिना बितिसक्दा पनि मनोनयनको सुरसार गर्नुभएको छैन । सभापति देउवाले गत माघमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । कार्यसम्पादनमा सबै पदाधिकारी सदस्य हुन पाउने व्यवस्था छ भने विधानअनुसार सभापति देउवाले ३१ सदस्य मनोनीत गर्न पाउनुहुन्छ । तर, देउवाले २४ जनालाई मात्रै केन्द्रीय कार्यसम्पादनमा राख्नुभएको छ भने अझै सात सदस्य मनोनयन गर्न बाँकी छ ।

यस्तै, अनुशासन समिति, लेखा समिति, निर्वाचन समिति गठनमा पनि सभापति देउवाले चासो दिनुभएको छैन । पार्टी अनुशासन कायम राख्न र आचारसंहिता पालना गराउन कांग्रेसमा जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समिति रहने विधानको व्यवस्था छ । केन्द्रीय समितिले आफूमध्येबाट केन्द्रीय अनुशासन समिति गठन गर्ने व्यवस्था छ । एक संयोजक र चार सदस्य अनुशासन समितिमा रहने व्यवस्था छ ।

कांग्रेसका २८ विभाग पनि खाली छन् । केन्द्रीय सदस्यहरू विभागको प्रमुख रहने र उपप्रमुख, सचिवलगायत भने क्रियाशील सदस्यमध्येबाट चयन गर्न सकिने विधानको व्यवस्था छ । प्रत्येक विभागमा ५१ जनासम्म सदस्य रहन सक्छन् । विधानले ६ महिनाको अन्तरालमा विभागले पार्टीलाई प्रतिवेदन दिने व्यवस्था गरेको छ । तर, महाधिवेशन भएको पहिलो ६ महिना बितिसक्दा कुनै पनि विभागले प्रमुखसम्म पाउन सकेको छैन । विभाग गठन नहुँदा संगठन गतिशील र चलायमान हुन सकेको छैन । सभापति देउवाले विधानअनुसार ४० जना महाधिवेशन प्रतिनिधि र १५ जना महासमिति सदस्य मनोनीत गर्न पाउँछन् । क्रियाशील सदस्य मध्येबाट उनीहरूलाई मनोनीत गर्न सकिने भए पनि देउवाले ६ महिनाभित्र गर्नुपर्ने मनोनयन अहिलेसम्म गर्नुभएको छैन ।

नीति अधिवेशन अनिश्चित
कांग्रेस महाधिवेशनमा नीति र नेतृत्वबारे छलफल हुँदै आएको थियो । तर, मंसिरमा भएको कांग्रेस महाधिवेशनले पहिलोपटक नीतिलाई नेतृत्व चयनसँगै लिएन । नीति महाधिवेशनपछि गर्ने भने पनि कहिले गर्ने अझै मिति तय गरिएको छैन । केही दिनअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति महाधिवेशन गर्नका लागि सभापति देउवालाई बालुवाटर नै पुगेर ध्यानाकर्षण गराउनुभएको थियो । कांग्रेसले नेतृत्व चयन गरेको करिब सात महिनासम्म पनि पार्टीले लिने नीतिबारे कुनै बहस भएको छैन । महासमिति बैठकलाई नै नीति महाधिवेशनमा ढाल्ने तयारी थियो । महासमिति बैठक विधानअनुसार वर्षमा एकपटक बस्नुपर्छ ।

नेतृत्वको कार्यशैलीको प्रतिवाद गर्ने इतर समूहको तयारी
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला (इतर) समूहले पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत चलेको र आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै रचनात्मक विद्रोह गर्ने चेतावनी दिएको छ । काठमाडौंमा बिहीबार र शुक्रबार दुई दिन चलेको कोइराला समूहको भेलाले देउवा एकलौटी ढंगले विधान मिच्दै अघि बढेको भन्दै प्रतिवाद गर्ने चेतावनी दिएको हो । सभापति देउवालाई दबाब दिन जिल्लास्तरसम्म छलफल र भेला गर्नुपर्ने अधिकांश सहभागीको निष्कर्ष रहेको भन्दै सहभागी मुक्ता यादवले भन्नुभयो, ‘छलफल गरेर मात्र शेरबहादुर देउवाबाट केही प्राप्त हुने देखिन्न । पार्टी र सरकार एकलौटी चलाए । कडा रूपमा विद्रोह र फाइट गरेर जानुपर्छ । देउवाकै कारण पार्टीको छवि जनतामा धुमिल भएको छ । पार्टीमा सत्ता प्राप्तिको चिन्तन मात्रै देखिएको छ । पार्टी विधानलाई पूर्ण बेवास्ता गरिएको छ । महँगी र सुशासनमा सरकारका धेरै कमजोरी रहे । पार्टी एकलौटी तरिकाले चलेको छ । ४० प्रतिशत मत ल्याउने एक पक्षलाई वेवास्ता गरिएको कुरा उठेको छ ।’

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धेरै जिम्मेवारी दिएको, तर उनकै हैसियतका धनराज गुरुङलाई बेवास्ता गरिएको भन्दै प्रतिवादमा उत्रन भेलाले नेतृत्वलाई सुझाव दिएको छ । भ्रातृ संस्थामा विना परामर्श नियुक्ति, विधान विपरीतका गतिविधि, नीति महाधिवेशन लगायतका महत्वपूर्ण विषयमा सभापति देउवाले बेवास्ता गरेको भन्दै सहभागीले आगामी केन्द्रीय समिति बैठकमा यो विषय जोडदार रूपमा उठाउन नेतृत्वलाई दबाब दिएका छन् । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने वैधानिक बाध्यतालाई बेवास्ता गरेको भन्दै नेता शेखर कोइराला समूह विरोधमा उत्रिएकै बेला सभापति देउवाले असार २७ गते केन्द्रीय समितिको बैठक बोलाउनुभएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध गरी दुई एजेण्डा मात्र तय गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?