✍️ अपर्ण
प्रत्येक मानिसको जीवन आफ्ना लागि महाभारतको युद्धभन्दा फरक रहँदैन, जसरी अर्जुनका लागि, भीष्म, द्रोणाचार्य, कृपाचार्य, कर्णलगायत आफ्नाहरू शत्रु बनेका थिए त्यसरी नै अहिले आफ्नो नजिक मानिने र गनिने नै प्रतिपक्ष हुनेरहेछन् । यो कुनै नौलो कुरा थिएन तर बुझ्न भने अवश्य समय लाग्न सक्छ । मलाई लाग्छ महाभारतको युद्धभन्दा कयौं गुणा ठूलो युद्ध लडिरहेको छु ।
भूमिगत युद्धले त्यति दुःख दिँदैन जति वैचारिक र शीतयुद्धले दिन्छ । प्रारब्धको फल भनौँ या आफ्नै कर्मको प्रतिफल भनौँ अर्जुनले कृष्ण जस्तो सारथि र द्रोणाचार्य जस्तो गुरु पाउनुमा नै युद्ध जितेका थिए । महाभारत प्रत्यक्ष कृष्णको खेल थियो तर न द्रोणाचार्य जस्तो गुरु न कृष्ण जस्तो सारथि न कर्ण जस्तो साथी नै म त केवल एकलव्य भएर शीतयुद्ध लडिरहेको छु ।
द्रौपदीको अस्तित्व जोगाउन जति सजिलो थियोे अर्जुनलाई त्यति सजिलो थिएन मलाई तिम्रो अस्तित्व जोगाउन, यसमा तिम्रो समर्पणको कमजोरी भनौँ या मेरो अस्तित्वको तर लागेको थिएन दुर्योधनहरू यति छिटो आउलान् अथवा आउने बाटो दिनेछौ । विभीषणकै कारण रावणले युद्ध हारेको प्रसङ्गले तिम्रो मौन अवस्थालाई सम्झिरहन्छु । सत्य र असत्यलाई पर राखेर हेर्दा विभीषणले न्याय गरे भनी स्वीकार्न मलाई जति गाह्रो पर्छ त्यति नै तिम्रो मौन अवधिलाई, बाध्यता भनौँ या अवस्था म हार्नु तिम्रो र तिमी हार्नुमा सायद तिम्राहरूको हातको डामहरू खोजिरहनु पर्दैन ।
मुखले मन पराउन छोडेको छ खानासँगको स्पर्श, रातले मन पराउन छोडेको छ निद्रासँगको प्रेम र शरीरले मन पराउन छोडेको छ कसैसँगको साथ । जुनदिनदेखि मुटु चुडियो छाती दुखिरहेको छ आँखा रसाइरहेका छन् र पनि न कसैलाई भन्न सक्छु न भनेर कुनै अर्थ नै छ । राखेको थिएँ राधाको ठाउँमा तर तिमी त युद्ध गर्न गएका कृष्ण जस्तै निस्कियौ, जित र साथ पाएपछि पछिल्ला पाइलालाई बिर्सिने बानी सायद पहिले देखिको रहेछ, जसरी राधालाई सपनै सपनामा झुलाएर रुक्मिणीसँग खुसी थिए कृष्ण तर लाग्छ कृष्ण त अलौकिक थिए तिमी त साधारण मानव केही हलचल त हुनुपर्ने छ ।
प्रेम त्यो अपराध हो जसमा दोषी रमाउँछ अनि निदोर्षले सजाय पाउँछ भन्ने सुनेको थिए शायद मैले पनि त्यही अपराधको सजाय लिइरहेको छु । गन्तव्यविनाको यात्रामा हिँडाएर बीच बाटामा छोड्नु कहाँसम्मको न्याय हो म यो बुझ्न सक्दिन र चाहन्न पनि किनकि म तिमीलाई सधैँ जित्न दिने मान्छे हुँ । मलाई परिवर्तनले समय खोज्छ भन्ने कुरा सिकाइएको थियो । तिमी परिवर्तन भएको समय चिन्न सकिन कि मलाई गलत सिकाइयो म अझसम्म बुझ्न सकेको छैन । परिवर्तनको बाटो राम्रोसँग बुझेकी तिमीले आफ्नो गृहकार्य सकेर मलाई सुनाएको निष्कर्षमा जुन यथार्थता थियो त्यसको भारी बोकेर म अब उठ्न सक्छु जस्तो लागेको छैन ।
तिम्रो नयाँ यात्राको खबरसम्म सहन नसकेको म अब तिम्रो तस्वीर हेर्न सक्ने हिम्मत जुटाउन सक्छु जस्तो लाग्दैन मलाई । जिन्दगीका हरेक कुरा सुनाउने तिमीले जिन्दगी नै रोज्दा सुनाउन चाहिनौ । तिमी त आधुनिक नेपाली समाजको हक र अधिकारका कुरा गर्ने मान्छे, म तिमीलाई अहिले केही भन्न पाउँदिन र भनेको पनि छैन म त जहिले मलाई जिन्दगी मान्थ्यौ र मैले पनि मान्थेँ हो त्यही मेरो जिन्दगीलाई भनेको छु । अहिले त तिमी मलाई नचिन्न पाउँछ्यौ र म पनि नचिन्नुपर्नेछ ।
र पनि आदर्शमा कृष्ण नै निस्किए, यता तिमी समाज, परिवार र आफन्तको अघि आदर्श बनेकी मान्छे ठीक छौ र ठीक हुनुपर्छ । तर, तिम्रो आदर्शको यथार्थले दिएको पीडा कसरी सहनु म प्रत्येक पलमा आउने यादहरूलाई कसरी बाटो देखाउनु मैले साँघुरो गोरेटोमा हिँडेका हामी तिमी फराकिलो सहरमा पुगिसकेकी छौ नयाँ परिवार, आफन्त र इष्टमित्रको अघि मेरो नामविनाको सम्बन्ध के नै थियो, यात्रा कमजोर र सीमित हुन्छ भनेर नाम दिन नखोज्ने तिमी मसँगको असिमित यात्राको सपना देखेर कतिखेर ब्युँझियौ थाहा नै पाइन ।
हो म त्यही एकलव्य हुँ, जसले सर्वस्व सुम्पेर महाभारतको युद्ध पर बसेर हेर्नु शिवाय केही थिएन । अब फेरि तिम्रो सम्झनामा म आउनु तिमी आफ्नो निर्णयमा फेल हुनु हो र म तिमी फेल भएको सोच्नसम्म चाहन्न । तिमी गन्तव्यसम्म पुग्न सक्नू, तिम्रो यात्रा सफल होस्, तिमी पछि नफर्किनू धेरै शुभकामना छ अनि शुभयात्रा पनि, बाई बाई डियर जिन्दगी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका