यात्रामा शकुन विचार : अपशकुनको शास्त्रीय उपाय

Read Time = 13 mins

✍️ डा. नारायणप्रसाद निरौला
गर्गाचार्यका मतमा एक घरबाट अर्को घरमा जानु यात्रा हो । भृगु ऋषिका मतमा एउटा गाउँको सीमाबाट अर्को गाउँको सीमामा प्रवेश गर्नु यात्रा हो । आफ्नो हातले छाडेको वाण जहाँसम्म पुग्छ त्यहाँसम्म जानुलाई भरद्वाजले यात्रा भनेका छन् । वशिष्ठ ऋषिका मतमा गाउँबाट बाहिर निस्किनु यात्रा हो । (मुहूत्र्तचिन्तामणि, ११।९४) यसरी हेर्दा एक स्थानबाट अर्को स्थानमा जाने कार्यलाई यात्रा भनिन्छ । नित्य र नैमित्तिक यात्रालाई विशेष साइतको आवश्यकता पर्दैन । काम्य अर्थात् विशेष फलको कामना राखेर गरिने यात्राका निम्ति साइतको आवश्यकता पर्दछ । यसरी साइत जुरेको दिन पनि शुभ शकुन यात्रा आरम्भका लागि उत्तम मानिएको छ ।

शकुन भनेको शुभ र अशुभ द्योतन गर्ने संकेतहरू हुन् । भौतिकवादीले त यस्तो कुरालाई अफिम नै मानेका छन् तर यस्ता भौतिकताको वकालत गर्ने स्वयं वकिल नै साइतकै समयमा निरन्तर चलिरहेको यथार्थ पनि हाम्रै परिवेशमा नौलो होइन । संसारमा नराम्रा कुरा केही पनि छैनन् । यसलाई बुझ्ने र सार ग्रहण गर्ने कुराको मात्र अन्तर हो । नराम्रो समयममा कोही पनि आफ्नो यात्रा गर्न चाहँदैन । अनि शास्त्रले पनि त्यस्तो नराम्रो अवस्थामा कदापि यात्रा गर्नु भनेर आदेश दिएको छ । एक थरि मान्दै नमान्ने अनि अर्को थरि सामान्य कुरामा पनि अनेकौं साइतका तानाबाना बुनिरहने यस्ता दुवै कुरा उपयुक्त होइनन् । शास्त्रले बताएका कुराको उचित उपयोगले हामी सबैको कल्याण गर्ने भएकाले शकुनका बारेमा पनि जानकार रहनु उचित हुन्छ ।

शुभाशुभ शकुनको चर्चा शास्त्रमा थुप्रै गरेको पाइन्छ । ज्योतिषको मुहूर्तखण्डमा शकुनको विशेष चर्चा गरिएको छ । विशेषतः यात्रा आरम्भ शुभ रहृयो भने यात्रा पनि मंगलदायी रहन्छ भन्ने शास्त्रीय मान्यतामा नै शकुनको परिचर्चा गरिएको छ । यात्रा आरम्भको समयलाई विशेष महत्वका साथ हेरिन्छ । आरम्भको समय विद्ध रहृयो भने यात्रामा अनेकौँ बाधा व्यवधानको सामना गर्नुपर्ने हुन्छ । यसरी साइत तय गर्ने थुप्रै विधि छन् । मनको उत्साह पनि यात्राको शुभ साइत मानिन्छ । विशेषगरी काम्य (कुनै अभीष्ट सिद्धि गर्ने) कर्मका निम्ति शुभ शकुन उत्तम मानिएको छ ।

शुभ शकुन : यात्राको समयमा घोडा, ब्राहृमण, हात्ती, फल, अन्न, दूध, दही, गाई, सस्र्यु, कमलको फूल, सेतो वस्त्र, गणिका, बाजा, न्याउली चरी, नीलकण्ठ चरी, बाँधेको पशु, शुभ वचन, पानी भरिएको कलश, छाता, गिलो माटो, कन्या, रत्न, बच्चा लिएकी महिला, बलेको आगो, ऐना, धोएको कपडा, धोबी, माछा, घ्यू, सिंहासन, झण्डा, मह, हतियार, गोरोचन, वेदध्वनि, मांगलिक गीत गाएको आफ्ना अगाडि देखिएमा शुभ शकुन मानिन्छ । (मुहूत्र्तचिन्तामणि, ११।१०१-१०२) यी प्रतिनिधि शुभ शकुन हुन् । अन्य ग्रन्थमा थुप्रै यस्ता शुभ शकुनको चर्चा गरिएको छ । विशेषतः शुभ पूर्ण वस्तु र पदार्थ शुभ शकुनमा पर्दछन् ।

अशुभ शकुन : यसैगरी अशुभ शकुनमा नाङ्गोे मान्छे, तेल लगाएको मान्छे, भुस, बन्ध्या, रोगी मान्छे, जटाधारी, सन्यासी, हड्डी, सर्प, नुन, अँगार, इन्धन, बिष्ठा, तेल, पागल व्यक्ति, शत्रु, भोको मान्छे, घर जलेको देखिनु, बिरालोको युद्ध देखिनु, गुण, मोही, हिलो, पारिवारिक झगडा, शरीरबाट बस्त्र खसेको देखिनु, भैँसीको युद्ध, कपास, उल्टी गर्दै गरेका मान्छे, दायाँतिर गदाको स्वर सुनिनु, मुण्डन गरेको मान्छे, दुर्वचन सुनिनु, यस्ता व्यक्ति वस्तु अथवा अवस्थामा यात्रा अशुभ हुने कुरा शास्त्रले बताएको छ । (मुहूत्र्तचिन्तामणि, ११।१०२-१०३) ।

यात्रा आरम्भ विचार :
यसैगरी कुन दिशाको यात्रा गरिँदै छ सोका आधारमा कस्ता वस्तु खाएर यात्रा गर्दा शुभ हुन्छ भन्ने कुराको चर्चा पनि शास्त्रले गरेको छ । पूर्व दिशाको यात्रा गर्दा घ्यू, दक्षिण दिशाको यात्रा गर्दा तिल चामल वा तिल भात, पश्चिम दिशाको यात्रा गर्दा माछा, उत्तर दिशाको यात्रामा दूध पिएर गरिएको यात्रा शुभ फलदायी रहन्छ ।

‘आज्यं तिलौदनं मत्स्यं पयश्चापि यथाक्रमम् । भक्षयेद् दोहदं दिश्यमाशां पूर्वादिकां व्रजेत् ।।’ (मुहूत्र्तचिन्तामणि, ११। ८६) यदि खान नमिल्ने अवस्था भए हेरेर भए पनि यात्रा गर्नाले फलदायी हुन्छ भनिएको छ । शास्त्रले अनेकौं उपाय बताएको पाइन्छ । आफूलाई आनुकूल हुने कुनै आधार लिएर यात्रा गर्दा यात्रीलाई सफलता प्राप्त हुने कुरा बताउनु शास्त्रको मूल अभिप्राय हो ।

यसैगरी बारअनुसार पनि वस्तु विशेष खाएर वा हेरेर यात्रा गर्नाले यात्रा फलदायी हुने कुरा उल्लेख गरिएको छ । आइतबार यात्रा गर्दै हुनुहुन्छ भने सिकर्नी, सोमबार खिर, मंगलबार सर्वत, बुधबार तताएको दूध, बिहीबार दही, शुक्रबार काँचो दूध र शनिबार तिल मिश्रित चामल खाएर यात्रा गर्नाले यात्रा शुभ हुन्छ : ‘रसालां पायस. काञ्जीं शृतं दुग्धं तथा दधि । पयोऽशृतं तिलान्ननं च भक्षयेद् वारदोहदम् ।’

(मुहूत्र्तचिन्तामणि, यात्रा प्रकरण) । यसैगरी तिथिअनुसार, नक्षत्रअनुसार पनि विभिन्न वस्तु खाएर वा हेरेर यात्रा गर्नाले शुभ फलदायी हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

आपद् धर्म विचार :
शुभ समयमा शुभ वस्तुको वा शुभ शकुनको उपयोग गरी यात्रा गर्नु फलदायी हुने शास्त्रीय मान्यता छ । यसरी गरिने यात्रामा पनि आपत् धर्मका विशेष विधान रहेका छन् । यात्रा गर्नै पर्ने भयो तर साइत जुरेन भने अगाडि पाइतो सार्ने विधि पनि रहेको छ । शुभ दिनमा ब्राहृमणले जनै सुपारी, क्षत्रियले हतियार, वैश्यले मह, शूद्रले अमलाको फल अथावा आफूलाई मन पर्ने वस्तु लिएर वा तुलसाको मठमा पाइतो सारेर लिएर यात्रा गर्नाले पनि यात्रा शुभ हुन्छ ।

‘कार्याद्यैरिह गमनस्य चेद् विलम्बो भूदेवादिभिरुपवीतमायुधं च । क्षौद्रं चामलफलमाशु चालनीयं सर्वेषां भवति यदेव हृत्प्रियं वा ।।’ (मुहूत्र्तचिन्तामणि, ११।९२) अथवा यात्रीलाई जुन वस्तु सबैभन्दा प्रिय लाग्छ त्यही बाटोमा राख्नुपर्छ वा पाइतो सार्नुपर्दछ । कुनै विद्वान्ले पाँच सय धनुष अर्थात् दुई हजार हात पर पाइतो सार्नु भनेका छन् । कसैले नगरबाट दुई सय धनुष अर्थात् आठसय हात र आफ्नो घरबाट दश धनुष अर्थात् चालिस हात पर पाइतो सार्नु भनेका छन् । यात्रा गर्ने व्यक्ति जुन दिशा जाने हो त्यही दिशामा पाइतो सार्नुपर्दछ । (मुहूत्र्तचिन्तामणि, ११।९४)

अपशकुन देखिए के गर्ने ?
यात्राको आरम्भ कालमा अपशकुन देखियो र यात्रा अवश्य नै गर्नुपरेको छ भने विभिन्न उपायका बारेमा पनि शास्त्रमा चर्चा गरिएको पाइन्छ । रित्तो गाग्री देखिनु, रिक्त भाँडा देखिनु, बिरालाले बाटो काट्नु पनि यात्राका निम्ति अपशकुन हुन् । यस्ता अपशकुन देखिए के गर्ने भन्ने बारेमा पनि शास्त्रले उपाय बताएको छ : ‘आद्येऽपशकुने स्थित्वा प्राणानेकादश व्रजेत् । द्वितीये षेडश प्राणांस्तृतीये न क्वचिद्ु व्रजेत् ।।’ (मुहूत्र्तचिन्तामणि, ११।१०८)

अर्थात् पहिलो अपशकुन देखिए ११ पटक श्वास फेरुन्जेल सोही स्थानमा स्थिर रहने र सोपश्चात् यात्रा गर्नाले शुभ हुन्छ । पुनः दोस्रो पटक पनि अर्को अपशकुन देखियो भने १६ पटक श्वास फेर्ने समयसम्म स्थिर रहनुपर्छ र यात्रा आरम्भ गर्नुपर्दछ । यसैगरी तेस्रो पटक पनि अपशकुन देखियो भने यात्रा नगर्नू भन्ने शास्त्रीय आदेश रहेको छ ।

जीवलाई सहज र सार्थक बनाउन यात्राका पनि विभिन्न व्यवस्था शास्त्रमा निर्देश पाइन्छ । विशेषगरी काम्य (कुनै विशेष कार्य सिद्धि गर्ने उद्देश्यका) यात्रा गर्दा साइत एवं शकुन अनुकूल रहनु शुभ मानिन्छ । हरेक समस्याका समाधान पनि शास्त्रमा वर्णन पाइन्छन् । यो संसार रहस्यको भण्डार हो । यही रहस्यको मर्मलाई पहिचान गर्न हाम्रा ऋषि महर्षिले अनेकौं ज्ञानका गङ्गा प्रवाहित गरेका छन् । हाम्रा आँखाले देखेजति मात्र संसार हो भन्नु पनि व्यर्थ छ । किनकि हाम्रा आँखको क्षमताभन्दा अनन्त दृश्य संसार छ । आँखाको शक्तिले देखेको मात्र सत्य मान्नु व्यर्थ हो ।

यसैगरी हाम्रा कानले सुन्ने ध्वनिको मात्रा पनि निश्चित छ । सोभन्दा अनेकौं ध्वनिका तरंग हाम्रा कानले सुन्न सक्दैनन् । यसैगरी यो संसारमा अनेको यस्ता वस्तु छन् जो दृश्य हुँदैनन् तर प्रभाव पारिरहेको हुन्छन् । यस्ता अदृश्यभन्दा पनि दृश्य वस्तु जसले शुभ एवं अशुभको संकेत गरिरहेको हुन्छन् जसका बारेमा शकुनशास्त्रमा विस्तृत चर्चा गरिएको छ । जसलाई आधार मानेर मंगलदायी यात्रा तय गर्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?