प्रविधि आयो सीप आएन !

डा. नारायण चालिसे
Read Time = 15 mins

केही पहिले एक दिन सामाजिक सञ्जालमा एउटा दृश्यमा टक्क आँखा प¥यो । त्यस दृश्यमा एकजना मानिसले खेतबारी जोत्ने आधुनिक औजार चलाउन खोज्दैथिए तर उनीसँग त्यो औजार चलाउने विषयको ज्ञान अनि त्यसलाई चलाउने प्राविधिक सीप नभएका कारणले औजार जे जसरी सन्तुलनमा आएर काम गर्नुपथ्र्यो त्यसो हुन नसक्दा दृश्य केही हाँसोलाग्दो र त्यसको अन्तर्य चिन्तालाग्दो भएर देखापरेको थियो । अनि त्यही दृश्यलाई लक्ष्य गरेर एकजना शिष्ट व्यक्तिले ‘प्रविधि आयो तर सीप आएन’ भनेर ज्यादै मिठो टिप्पणी गरेका थिए । त्यो दृश्य देखेर उनलाई जस्तै मलाई पनि एकतमासको अनुभूति भएको थियो । कठै ! हामी कति कमजोर छौँ  ?

हामी रहर त गछौँ तर सीपविनाको रहरले हामीलाई कताको न कताको बनाइरहेको छ । हामी अहिले नयाँ नयाँ प्रविधि र त्यसको परिचालनको अभ्यासमै छौँ । हामीसँग जे जति सीप छ त्यसभन्दा धेरै गुणा बढी प्राविधिक कुराहरू अहिले हाम्रा घरआँगन, कार्यालय वा अन्य यस्तै सार्वजनिक स्थलहरूमा भित्रिएका छन् । हामी मनग्गे प्राविधिक वस्तुहरूका बीचमा छौँ र ती वस्तुको प्रयोग वा उपयोग के कसरी गर्ने ? भन्ने विषयको ज्ञानका अभावमा मन अमिलो पारेर बसेका धेरै छौँ ।

हाम्रा भान्सा कोठा, हाम्रा स्नानघर, शयनकक्ष, हाम्रा बैठकहरू, हाम्रा कार्यालय कक्षहरू जताततै त्यस्ता प्रविधिसँग जोडिएका सामग्रीहरू छन् । त्यतिमात्र होइन हाम्रो दैनन्दिनका प्रायः सबै क्षेत्रमा नयाँ प्रविधि भित्रिएको छ । हामीले चाहेर नचाहेर प्रविधि हाम्रो जीवनचर्या नै बन्दैगएको अवस्था छ । विकासको यो गतिमा केही रहर र केही बाध्यतामा परेर हामी पनि थोरै धेरै प्राविधिक बन्नुपर्ने अवस्था आएको छ । यी विषय र वस्तुहरू हाम्रै जीवन र व्यवहारलाई सजिलो पार्न र सुविधा दिनकै निम्ति भित्रिएका हुनाले यसलाई सुखद् पक्ष नै मान्नुपर्छ ।

तर, कतिपय विषय र कुराहरू हाम्रो खाँचोभन्दा बाहिरका भएर पनि अँगालिएका छन् कति रहरले लिइएका छन् । र, कति कुराहरू हाम्रो उमेर र अवस्थाले गर्दा असहज बन्दैगएका पनि छन् । हिँड्ने साधन, हेर्ने सामग्री, बोल्ने, सुन्ने साधन, खाना खाँदा प्रयोग गरिने साधन, लगाउने लुगासम्म पनि नयाँ प्रविधिसँग जोडिएर आएका छन् । हातमा रहेको मोबाइलमा के कस्तो प्रविधिको प्रयोग छ ? के कस्ता सुबिधाहरू छन् ? बैठक कोठाको टिभीमा कुन-कुन च्यानलले के कस्ता सामग्रीहरू प्रसारण गर्छन् ? नाडीको घडीले कति देशको समय सूचना गर्छ ।

अहिले त एप्पल वाच वा स्मार्ट वाचको समय छ । इन्टरनेट, टेलिफोन, क्यालकुलेटर, क्यामरा आदिको काम गर्छ त्यसले । टेबुलमा राखिएको ल्यापटप कसरी चलाउने ? त्यसमा त संसारै अटाएको हुन्छ । पुस्तकालयमा गएर चाहेको पुस्तक कसरी छान्ने ? ई-बुक खोलेर कसरी पढ्ने ? नेट इन्टरनेटको सेवा र सुविधा के कसरी लिने ? कुन साइटमा गएर गुणस्तरका सामग्री पढ्न पाइन्छ ? गुगल सर्च कसरी गर्ने ? पानी, बिजुलीको बिल ई-सेवाबाट कसरी तिर्ने ? आफ्नो बैंक खातामा राखेको पैसा सजिलो र सुरक्षित तरिकाले कसरी उपयोग गर्ने ?

एटीएम कार्ड, डेबिड कार्ड वा क्रेडिट कार्डहरू कसरी प्रयोग गर्ने ? सुपर मार्केटमा गएर आफूले रोजेको सामानको बिल कसरी भक्तानी गर्ने ?
अहिले घरघरमा आफ्नो रोजाइका समान, विलासिताका सामान वा उपभोग्य वस्तुहरूको अनलाइन सेवा उपलब्ध छ । त्यो सेवालाई के कसरी उपयोग गर्ने ? आफ्नो कार्यालयमा पुगेर समयानुसारको सीप र ज्ञान आर्जन गरेर कसरी समय सुहाउँदो बन्ने ? यस्ता अनगिन्ती सुविधा, सेवा र चुनौतीहरूका माझमा अहिले हामी छौँ । हामीमध्ये केही प्रतिशत व्यक्तिमा यस्ता सेवा र सुविधाको ज्ञान होला तर धेरै प्रतिशत हामीहरू यस्तो प्रकारको ज्ञान र सीपबाट टाढा छौँ । सन्ततिले पछिल्लो प्रविधिको सीप सिके र उनीहरू समयानुकुल बन्दै गइरहेका छन् तर हामी अभिभावक सन्तानले सीप सिकेको विषयले दंग त छौँ तर हामी सीपविनाका बनेर आफ्नो अपूर्णतामा पछुताइरहेका पनि छौँ ।

र, तिनै सन्तान जसले आफूले त यी कुरा सिकेका छन् तर आफ्ना पितामातालाई सिकाउन झर्को मान्छन् । त्यतिमात्र होइन आफ्ना मातापिताले यी कुरा नजानेकोमा गिल्ला गर्न पछि पर्दैनन् । बाबुको पसिनामा हुर्केको उसले बाबुको र आफ्ना हैसियतमा ठूलै भिन्नता देख्छ । साथीका माझमा कर्मशील बाबुको परिचय गराउन लाज मान्छ । कतिपयले त भनिन्छ नि अंग्रेजी भाषामा सर्भेन्ट भन्न पनि पछि पर्दैन सीप सिकाउने परको कुरा ।

कुनै समय थियो मेरा सहकर्मी मित्रले कम्प्युटर किनेर चलाउन खोजेको घटना मेरै निम्ति संसारको आठौँ आश्चर्यको कुरा थियो । चन्द्रमामा जानु जस्तै दुरुह मानेको थिएँ मैले त्यो बाटो । उसको कोठामा छिर्दा कम्प्युटरमा भाइरस लाग्छ भनेर कम्प्युटर छुन डराएर टाढा बसेको सम्झना छ । घुम्दैफिर्दै समयले त्यहीँ ल्याइपुर्‍याएको छ अहिले । मैले वा मजस्ताहरूले भागेर पनि सुख पाइएन । आज प्रविधिसँग लड्दैछौँ । कति ठाउँमा पछारिँदै धुलो टक्टक्याउँदै उठ्ने प्रयत्न गरिरहेका छौँ । हिजो त्यसरी प्रविधिबाट नभागेको भए आज म पनि प्रविधिमैत्री बन्थेँ होला । अहिले उमेर घर्केपछि यिनै प्राविधिक सामान काँडा बनेर बिझाइरहेका छन्, यिनैले खिल्ली उडाइरहेका छन् भने कतिले जीवनचर्यालाई सजिलो पनि पारिरहेका छन् ।

कतितिरबाट भाग्नु ? भाग्दाभाग्दै पनि भेट्टाइसकेको छ समयले । बेलाबखत प्रविधिसँग जम्काभेट नगरी सुखै पाइँदैन । मेरो जस्तै अवस्था धेरै नेपाली दाजुभाइ, दिदीबहिनीको पनि होला । तीव्र गतिमा भित्रिएका यी प्राविधिक सामग्री जस्तै गरेर तीव्र गतिमा हामीमा सीपको विकास हुन सकेको छैन । पहिलो कुरा देश नै प्रविधिमैत्री बन्न सकेको छैन । दोस्रो कुरा हामी नागरिकहरू यो दक्षताबाट धेरै टाढा छौँ । कुनै सुरतले हातमा घडी, गोजीमा मोबाइल, घरमा ल्यापटप जस्ता सामान जुटेका छन् । तिनलाई चलाउने सीप छैन ।

अहिले सामाजिक सञ्जालहरूमध्ये फेसबुक र टिकटक जस्ता गुणस्तरको हिसाबले अलि सस्ता मानिने एपहरूको प्रयोग यसमध्ये अलि बढीले गरेको देखिन्छ । तर, ती सामग्रीले सकारात्मक सन्देश प्रवाह गर्नुको साटो विकृति बाँड्ने माध्यम बनेका छन् । त्यति कुरा सिक्दा एउटा राम्रै प्रविधि जो हाम्रो निम्ति उपयोगी हुन सक्थ्यो त्यतातिर प्रयोगकर्ताहरूको ध्यान छैन । पानी बिजुलीको बिल तिर्न तीन घण्टा बाटो हिँडेर जान्छ मानिस तर घरमै बसेर ई–सेवाबाट बिल तिर्न जान्दैन र जान्न प्रयत्न गर्दैन । यसरी समाज ओरालो लाग्दैछ । प्रविधिको सदुपयोग गर्नुपर्ने विषय जान्ने अभिरुचि नहुने तर त्यसैको विकृति फैलाउने परम्पराको विकास जुन गतिमा भएको छ यसले समाजलाई भँडाउने काम मात्र गर्दैछ ।

घरभित्र त यो भारी छ छ घर बाहिर कार्यालयका कामहरू पनि यस्तै अदक्ष कर्मचारीको पञ्जामा परेका छन् । सरकारी अड्डाका कर्मचारीलाई धेरै सुविधा प्राप्त छन् । प्रत्येक अफिसरको टेबुलमा महँगो ल्यापटप वा कम्प्युटर छ तर हाकिमसाबले कम्प्युटर प्रयोग गरेर काम छिचोल्न सक्दैनन् । मन्त्रीहरू साधन सुविधा सम्पन्न छन् तर उनीहरूले त्यस्तो खरदारले गर्ने जस्तो काम गर्न नैतिकताले दिँदैन । मन्त्रीको ल्यापटप चलाउन अर्कै कर्मचारी चाहिन्छ । यो क्रम चल्दै जान्छ हामी विकासका कुरा गछौँ । देशलाई विकासको फड्को मारेर देखाउने विकासे कुरा गछौँ । फड्को मार्ने के कुरामा हो ? के यस्तै समय सापेक्ष सीप र प्रविधिसँग जोडिँदै विश्वपरिप्रेक्ष्यमा आफूलाई उभ्याउन खोज्नु होइन र ?
संसद भवन सुविधा सम्पन्न छ । हरेक सांसदलाई यस्तै सुविधाका सामग्री प्राप्त छन् तर ती सामग्री कार्यालयको काममा प्रयोग हुँदैनन् ।

सके तिनै सामग्री घरमा छोराछोरीले प्रयोग गरिरहेका होलान् । सांसदहरू त अझै औंठाछाप नै पनि हुन सक्नुहुन्छ । सांसदले गर्नुपर्ने काम उनले नजानेर अर्को कर्मचारी त्यही काम गर्न जागिरमा राख्नुपरेको छ । हामी नेतृत्वमा बसेकाहरूले आफूले गर्नैपर्ने त्यस्ता प्रविधिसम्मत काम जे जसरी हुन्छ सिकेर गर्नुपर्ने हो नि ? तर, हामी त्यसो गर्दैनौँ । हामीले आफूले जान्नुपर्ने विषयबाहेक अरू विषयका विज्ञ हुन रहर गछौँ । समयले हामीलाई पछाडि छोडेर अघि बढिसक्यो हामी भने पुरानै भुत्ते विचार अनि आफ्नो अदक्ष जीवनमा गर्व गर्नमै व्यस्त छौँ ।

म अहिले मेरा त्यस्ता केही परमादरणीय गुरुहरूलाई र श्रेष्ठजनहरूलाई सम्झिरहेको छु । जसले समयको परिवर्तनलाई बुझेर समयसँगै हिँड्न सक्नुभएको छ । खासगरी प्रविधिको विकाससँगै आफूलाई अद्यावधिक गराइराख्न सकेका गुरुहरू, मान्यजनहरू धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरू आज पनि दृष्टिविहीन वा प्राविधिक सीपले अधुरो हुनुहुन्न, एक्लो हुनुहुन्न र अपाङ्ग जस्तो भएर बस्नु परेको छैन । कम्प्युटर, इन्टरनेट र अन्य केही प्राविधिक पक्षहरू अबको समयका ती साधनहरू हुन् जसले हामीलाई समयसँगै निर्बाध हिँड्न मद्दत गर्छन् ।

नयाँ प्रविधि आउने बित्तिकै त्यससँग दोस्ती गर्ने मितेरी लाउनेहरू आज पनि ढुक्क संसार विचरण गर्न सक्षम छन् भने प्रविधिदेखि टाढा भाग्दै रहने वा प्रविधिसँग शत्रुता रहेकालाई आज प्रविधिले शत्रु ठानेको छ । दण्ड दिएको छ । यसो गर्नुपर्‍यो आउँदैन, उसो गर्नुपर्‍यो जानिँदैन । न कम्प्युटर चलाउन आउँछ न इन्टरनेट चलाउन आउँछ । न अंग्रेजी राम्ररी जानिन्छ । अनि त भइगयो नि तमासा ।

अबको समय यिनै सूत्रहरूमा अडेको छ । समयमै यसलाई आफ्नो सहयोगी ठानेकाहरू आज निर्धक्कसँग हिँडिरहँदा हामी कतिपय व्यक्तिहरू निरीह बन्नु परको अवस्था छ । प्रविधिको जानकारी छ भने मानिसले अब रोइरहनु पर्दैन । प्रविधिले मानिसलाई सुविधा दिए जस्तै यो प्रविधिलाई आत्मसात गर्न नसक्नेहरूलाई यसले असक्षम सावित गर्दै छ । समय अहिले उच्चप्रविधिको प्रभावमा छ । घरमै बसेर संसारका कुरा जान्न, देख्न, पढ्न र घुम्न पाइन्छ ।

मनोरञ्जनका हजारौँ माध्यम तयार भएका छन् । सेवा र सुविधाको त्यस्तै चमत्कार छ । पैसा र सीप छ भने अबको मानिसलाई खासै दुःख छैन । यस्तो बेला पनि आफूलाई अपूर्ण राखिरहनु हाम्रो विडम्बना त हुँदै हो साथसाथै हाम्रो अकर्मण्यता पनि हो । हामीसँग प्रविधि त आयो तर प्रविधि भित्रिए जस्तै सजिलो तरिकाले हामीकहाँ सीप आएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?