सरकारको प्राथमिकता द्रुतमार्ग र एयरपोर्ट : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा आउनुभएका प्रधानमन्त्री देउवाले संक्षिप्त प्रतिक्रिया दिँदै निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताउनुभयो । उहाँले दुवै आयोजना निर्माण नरोकिने बताउनुभयो । देउवाले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको प्रष्टाउनुभयो ।

'विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले दुवै आयोजना बन्नुपर्छ देउवाले भन्नुभयो, त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो ।'

प्रधानमन्त्री देउवासँगै आउनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनु पर्ने बताउनुभयो । समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने प्रचण्डको भनाइ छ ।

प्रचण्डले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल (गेम चेन्जर) प्रोजेक्ट रहेको र प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताउनुभयो । उहाँले विमानस्थल द्रुतमार्गसँग जोडिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

टोलीले जीतपुर-सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल समेत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?