अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्छ : प्रधानमन्त्री देउवा (तस्वीरसहित)

Read Time = 10 mins

-संजीवकुमार मिश्रा
बारा । राष्ट्रिय गौरवको आयोजना निजगढ विमान स्थल निजगढ मै बन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले दावी गर्नु भएको छ ।

गठबन्धनका शीर्ष नेताहरुले शनिबार बाराको जिगढमा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको अवलोकन भ्रमण पछि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँहरुले विमानस्थल निजगढमै बन्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रमा विमानस्थलले महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसको निर्माण हुनु पर्ने जानकारी दिनुभयो ।

विमानस्थल निर्माण भएपछि पर्यटन प्रबद्र्धन हुने र रोजगारीको अवसर समेत हुने भएकोले यसको निर्माण हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

वनको कम क्षति हुने गरि दुई वटा रनवे बनाएर भएपनि यसको निर्माण गरिने र क्षति कम गर्न विज्ञहरुसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

सबैको सहयोग र सहकार्यमा चाडै नै विमानस्थलको काम अघि बढ्ने उहाँले आश्वासन दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फास्टट्रयाक र निर्माणाधीन निजगढ विमानस्थल एक अर्काका पुरक भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्टको रुपमा रहेको यी दुबै कुनै पनि बहानामा नरोकिने उहाँले बताउनुभयो । वृहत छलफल पछि निजगढ विमानस्थलको अवधारणा ल्याइएको र यो उपयुक्त ठाउँ भएकोले विमानस्थल निजगढमै बन्ने उहाँले दावी गर्नुभयो । लगभग ३ अर्ब लगानी भइसकेको र तत्कालको लागि दुई रनवे भएपनि यसको निर्माण सबै सँग सहकार्य गरेर अगाडी बढाइने उहाँले बताउनुभयो ।

यसै गरी नेकपा समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालले अदालतले तत्कालको विमानस्थलको निर्माण कार्य रोक्का राख्ने गरेको आदेशको पूर्ण पाठ आइसकेको र पूर्ण पाठमा वातावरणलाई ध्यानमा राखेर विमानस्थल निर्माण गर्नु पर्ने बताइएकोले विमानस्थल नबन्ने आशंकाको अन्त्य भएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले हामी नेपाली काम भन्दा कुरा गर्न सिपालु रहेको बताउनुभयो । अदालतको पूर्ण पाठमा समेत विमानस्थल निर्माणमा कुनै रोक लगाएको छैन । तर विमानस्थल निर्माण गर्दा वातावरणलाई ध्यानमा राखी वनका रुख कम क्षति हुने गरि निर्माण कार्य अगाडी बढाउन भनिएको छ । अहिले निर्माणाधीन रहेको विमानस्थलाई २ किलोमीटर दक्षिण सारेर भए पनि निर्माण गर्न सकिने उहाँले बताउनुभयो । जहाँसम्मको टाँगियाबस्तीको कुरा छ त्यो खौरिएका पाल जस्तै भएको छ । ती बस्ती निर रुख नगन्य मात्रामा रहेको उहाँले बताउनुभयो ।
जति रुख काटिन्छ त्यसको सट्टामा त्यही अनुपातमा रुख रोपी वातावरण सन्तुलन गर्नु पर्ने निर्माणाधिन विमानस्थलको दुबै तिर रहेको पसाहा र बकैया नदीको किनारमा रुख रोपी वातावरण सन्तुलन कायम गर्न सकिने उहाँले बताउनुभयो । कुरा होइन काम गरेर अगाडी बढनु पर्यो उहाँले भन्नुभयो, ‘कोल्हवी नगरपालिका, निजगढ नगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर विमानस्थलको निर्माण कार्यलाई अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तराष्ट्रिय मापदण्डको विमानस्थलको नेपालमा आवश्कता रहेको र यो आवश्यकतालाई निजगढ विमानस्थलले पूरा गर्ने भएकोले यसको निर्माण हुन जरुरी रहेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले मात्र चाप धान्न सक्ने अवस्था नभएको कारण ट्राफिक जाम हुने समस्या रहेको बताउनुभयो । हाम्रो छिमेकी देश भारतले पनि धमाधम अन्तराष्ट्रिय मापदण्डको विमानस्थल निर्माण कार्य अगाडी बढाएको बताउनुभयो । हाम्रो देशमा समेत यस्ता विमानस्थल निर्माण गर्न आवश्यकता भएकै कारण सबैको सहकार्यमा जति चाँडो हुन्छ विमानस्थल निर्माण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम, कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी, जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, निजगढ नगरपालिकाका पूर्व मेयर सुरेश खनाल, नेपाली काँग्रेसका नेता शम्भु बहादुर बुढाथोकी, नेपाली काँग्रेसका जिल्ला सभापति राजेश राय यादव लगायतको उपस्थिति रहेको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?