राप्तीसोनारी बाख्रापालनको हब बन्दै

Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । राप्तीसोनारी गाउँपालिका–२ का महेन्द्र केसीले व्यावसायीक बाख्रापालन गर्न थालेको चार वर्ष पुग्यो । सानो पुँजीबाट उहाँले व्यवसाय सुरु गर्नु भएको थियो । मिहेनत र लगनशीलताका कारण उहाँको व्यवसाय त्यही लगानीमा सीमित छैन । अहिले व्यवसाय फस्टाउँदो छ । उहाँको फार्ममा अहिले एक सय ८६ वटा बाख्राहरु छन् ।

व्यावसायिक बाख्रापालन फार्ममा उहाँले पाँचजना स्थानीयलाई समेत रोजगारी दिनु भएको छ । उहाँले वार्षिकरुपमा करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । यहाँ तराई लोकल, जमुनापारीलगायतका जातका बाख्राहरु पाइन्छन् । राप्तीसोनारी–९ कै हिमबहादुर खड्काले परम्परागत ढंगबाट बाख्रापालन गर्दै आइरहनु भएको थियो । दुई–चारवटा बाख्रा पालेर जंगलमा गोठालो जानुभन्दा व्यावसायिकरुपमा बाख्रापालन गर्ने योजना बनाउनुभयो । लक्ष्मी बाख्रापालन फार्म स्थापना गरी उहाँ पनि व्यासायिक बाख्रापालन जोडिनुभयो ।

उहाँसँग हाल तराई लोकल, जमुनापारी, बोयर जातका सानाठूला गरी ६० वटा बाख्रा तथा बोका छन् । बाख्रापालन व्यवसायबाट उहाँले घर व्यवहार राम्रोसँग चलाउँदै आउनु भएको छ । उहाँले वार्षिक तीनदेखि चार लाखसम्म आम्दानी गर्दै आउनु भएको छ ।

त्यस्तै राप्तीसोनारी गाउँपालिका–५ बिनौनाका किसान बमबहादुर मगर परम्परागत बाख्रापालन गर्दै आएको वर्षौं भयो तर पुरानै शैलीमा बाख्रापालन व्यवसाय गर्दा सोचे जस्तो आम्दानी नहुँदा उहाँले व्यवसायलाई व्यावसायिकरुपमा लिनुभएको छ ।

यति मात्र होइन, राप्तीसोनारीमा पछिल्लो समय बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ । राप्तीसोनारीलाई बाख्रापालनको सम्भावना भएको पालिकाको रुपमा हेरिने गरिन्छ ।

राप्तीसोनारी गाउँपालिका पशुसेवा शाखा प्रमुख जयबहादुर कार्कीले पशु सेवा शाखामा ८२ वटा व्यावसायिक बाख्रापालन फार्म दर्ता भएको बताउनुभयो । पहिलेको तुलनामा व्यावसायिक बाख्रापालन गर्ने किसाहरुको संख्या वृद्धि भइरहेको कार्कीको भनाइ छ ।

राप्तीसोनारी चारैतिर वनजंगल भएको क्षेत्र हो । यसले गर्दा पनि किसानहरुलाई बाख्रापालन गर्न सहयोग पुगेको छ । यहाँका अधिकांश मानिसहरु कृषिमा जोडिएका छन् भने कृषि कर्म गर्ने प्रायः सबै किसानले बाख्रापालन गरिरहेका छन् । हालकोे अवस्थामा राप्तीसोनारी बाख्रापालनको पकेट क्षेत्रको रुपमा विकसित हुँदै गएको छ ।

बाख्रापालनका लागि पकेट क्षेत्र बन्दै गएको यहाँ पालिका तथा प्रदेश सरकारले लगानी गर्नुपर्ने स्थानीयको भनाइ छ । गोठ सुधार, घाँस, दाना तथा पशुपन्छीको उपचारका लागि कृषकलाई सहयोग गर्नुपर्ने यहाँका पशुपन्छी व्यवसायीहरुको भनाइ छ । किसानहरुले जोखिम मोलेर व्यवसाय गरेको भन्दै उहाँहरुले आफ्नो लगानी सुरक्षितका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?