कमरेड शब्द मलाई असाध्यै मनपर्छ : कमल थापा

Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले 'कमरेड' भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा मालेका पोलिटब्यूरो सदस्य रहनु भएका कुमार श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले 'कमरेड' भन्नुमा आपत्ति गर्नु नपर्ने बताउनुभएको हो ।

उहाँले आफूलाई 'कमरेड' शब्द धरै मनपर्ने कमरेडकै रुपमा नेता श्रेष्ठलाई पार्टीमा स्थान दिने बताउनु भयो । साथै उहाँले राप्रपा नेपाललाई बलियो राष्ट्रवादी पार्टी बनाउने उद्घोष गर्नुभयो ।

उहाँले देशमा भइरहेको भ्रष्टाचारबिरुद्ध लड्न खोज्ने व्यक्तिका लागि राप्रपा नेपाल सदैव साथमा रहेको र आफ्नो पार्टीमा आवद्ध हुनपनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कमरेड भन्ने शब्द मलाई पनि असाध्यै मन पर्छ । कमरेड भनेको साथी भनेको हो । मित्र भनेको हो । जोसँग भावना मिल्छ, संघर्ष गरिन्छ, त्यो कमरेड हो । कमरेड भन्नमा आपत्ति गर्नु पर्दैन । कुमार श्रेष्ठलाई कमरेड कुमार श्रेष्ठकै रुपमा सम्बोधन गर्न चाहन्छु ।’

सम्बोधनका क्रममा अध्यक्ष थापाले वर्तमान गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाउनु भयो ।

थापाले हिन्दु राष्ट्रका लागि लडिरहेका सबैलाई राप्रपा नेपालको अभियानमा जोडिन आग्रहसमेत गर्नुभयो ।

उहाँले सर्वोच्चको परामादेशबाट गठन भएको गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको बताउनु भयो । अध्यक्ष थापाले पार्टीहरुको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने अस्थिरताको सिर्जना काम भइरहेको बताउनु भयो ।

उहाँले यस किसिमका विकृति र विसंगतिलाई हटाउन नेपालमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । अध्यक्ष थापाले मन्त्री हुन सांसद हुनु अनिवार्य नहुने र दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्ने बताउनु भयो ।

थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हीत गर्न नसकेको पनि बताउनु भयो ।

उहाँले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनु भयो । अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगति हुन थालेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?