हिमपहिरो छिचोल्दै धौलागिरि बेस क्याम्पमा भेडाको बथान (तस्वीरसहित)

Read Time = 8 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । हिमपहिरो र खोलानालाहरुलाई पार गर्दै एक हुल भेडाका बथानहरु चरनका लागि शुक्रवार धौलागिरि बेस क्याम्पमा पुगेका छन् ।
बर्खाको समय । अनकन्टार भीर र जंगलको बाटो हुँदै हिमपहिरोलाई छिचोलेर ६ सय बढी भेडाका बथान चरनका लागि म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने धवलागिरि हिमालको आधारशिविरमा पुगेका हुन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले धौलागिरी क्षेत्रमा गरेको घुम्ती भेडापालन यस भेगका युवाहरुका लागि मात्रै होइन देश विदेशका विभिन्न ठाउँहरुमा रहेका म्याग्देली युवाहरुलाई समेत रोमाञ्चक व्यावसाय बनेको छ ।
करिब दुई दशकसम्म वैदेशिक रोजगारीका मलेशिया र सिंगापुर बसेर स्वदेश फर्किनुभएका छन्त्यालले विगत पाँच वर्षदेखि आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गर्नुभएको छ ।

आफ्नै पिता पुर्खाका पैतालाको डोबहरुलाई पछ्याउँदै अहिले छन्त्याल ६ सय भेडाका बथान सहित भेडाका लागि चरनको खोजी गर्दै शुक्रवार धौलागिरी आधार शिविरको लेकमा पुगेका हुन् ।

विगत पाँच वर्षदेखि घुम्ती भेडापालन गर्दै आएका छन्त्यालले जंगल,भीर,पहरो र हिमपहिरोलाई छिचोलेर धवलागिरि गाउँपालिका–५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) बाट १० दिनको कठोर यात्रा पछि शुक्रवार (हिजो) धौलागिरि आधारशिविरको खर्कमा आइपुगेको जानकारी दिनुभयो ।

‘विभिन्न समस्याहरुको सामना गर्दै धौलागिरि आधारशिविरको वेसक्याम्पमा सकुसल आइपुगेको छु,मलाई यस यात्रामा सहयोग गर्ने सम्पूर्णलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु’ छन्त्यालले भन्नुभयो ।

छन्त्यालको पारिवारिक वसाइ पोखरामा छ । सिंगापुरको रमाइलो जीन्दगी र पोखराको बसाइलाई समेत विर्साउने गरी छन्त्यालले धौलागिरि क्षेत्रमा रहरलाग्दो भेडापालन गर्नुभएको छ । भेडा विक्रि गरेर मनग्य आम्दानी समेत गर्दै आउनुभएका छन्त्याललाई पैसाको भन्दा पनि आफ्ना पिता पुर्खाको पेसालाई निरन्तरता दिने इच्छा छ । त्यसैले परिवारलाई पोखरामा राखेर आफूले पिता पुर्खाले गर्दै आएको भेडापालन व्यवसाय नै रोजेको छन्त्याल बताउनु हुन्छ ।

विगत पाँच वर्षदेखि धवलागिरि र रघुगङ्गा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्यालसंग अहिले ६०० बढी भेडा छन् । तिनै भेडाको बथान लिएर छन्त्याल धवलागिरि गाउँपालिकाको मुदी, बगर, नाउरा, चेचुङ र खिबाङ हुँदै धवलागिरि हिमालको बेसक्याम्पतिर उक्लिनुभएको हो ।

‘यो मेरा पिता पुर्खाले भेडा पालन गरेर आफ्ना सन्ततिको भविष्य उजिल्याएको ठाउँ हो, यो ठाउँमा मेरा बुवा,बाजे र अझै अघिल्ला पुस्ताहरुको पैतालका डोबहरु छन्, म मेरा पूर्वजका तिनै डोबहरुलाई पछ्याउँदै उहाँहरुले नै गर्नुभएको व्यवसायलाई निरन्तरता दिनका लागि यो जोखिम उठाएको हुँ’ छन्त्यालले भन्नुभयो ।

विदेशको चमकदमक र शहरको सुख सयललाई छोडेर भेडापालन रोज्नुभएका छन्त्यालले आफ्ना पुर्खाले जीवन बिताएको जङ्गल र भिरपाखा नै रमाइलो लाग्ने र जीवनको अन्तिम समयसम्म पनि भेडापालन नै गर्ने बताउनु भयो ।

एक वर्षको अवधिमा १०० बढी भेडा बिक्री भएका र भेडा बिक्री गरेर रु २५ लाख भन्दाबढी आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।उच्च हिमाली क्षेत्रका विभिन्न लेक, खर्क र जङ्गलमा घुम्ती गोठमार्फत भेडापालन गर्नु चुनौतिपूर्ण काम भए पनि आम्दानी र आनन्द दुवै प्राप्त हुने भएकाले आफूले यो पेसालाई रोजेको छन्त्यालको भनाइरहेको छ । बिहान उठेर भेडाको गणना गर्दै उहाँको दिन सुरु हुन्छ । त्यसपछि भेडाको दूध दुहुने, खाना पकाएर खाने र भेडाबाख्रा चराउन लैजाने छन्त्याल लेकको बुकी र पाखा पखेरामा भेडाबाख्रा चराइसकेपछि पुनःगोठमै फर्केर भेडाको स्याहारमै लाग्ने बताउनु हुन्छ ।

छन्त्यालले विदेशमा आर्जन गरेको रकम र ऋणसमेत गरेर पाँच वर्षअघि करिब रु ५० लाख लगानी गरेर भेडापालन सुरु गरेको बताउनु भयो । भेडालाई चरनका लागि एक ठाउँले मात्र नहुने हुँदा ठाउँठाउँमा घुम्ती गोठ मार्फत भेडा चराउँदै आएको उहाँको भनाइ छ । घुम्ती गोठमा अहिले झण्डै ६०० भन्दाबढी भेडाबाख्रा छन् । आफूबाहेक दुई हेरालु राख्नुभएका उहाँले आफ्नो पुर्खाले अँगालेको तर पछिल्लो पुस्ताले बिर्सदै गएको भेडापालन पेशालाई अवसर र चुनौती दुवैरुपमा लिएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?